नेपाल सम्भावनाहरूको खानी हो : मलेसियाका व्यापारी कुक्रेजा [अन्तरवार्ता]

खाडीमा बोत्तलको पानी बेचेरै धनी बन्नसक्छ नेपाल

चन्द्रशेखर अधिकारी ११ भदौ २०८२ २१:४२
8
SHARES
नेपाल सम्भावनाहरूको खानी हो : मलेसियाका व्यापारी कुक्रेजा [अन्तरवार्ता] मलेसियाका उद्यमी दातो प्रदीपकुमार कुक्रेजा

एसियाको उदाउँदो मुलुक मलेसियामा नेपाललाई प्रवर्द्धन गर्दै आएका व्यक्ति हुन् दातो प्रदीपकुमार कुक्रेजा। नेपालको पर्यटन र आर्थिक सम्भावनालाई मलेसियामा चिनाउन उनको विशेष योगदान छ। उनको नेतृत्वमा मलेसियामा सञ्चालित प्याराडाइज ग्रुपले रिटेल, हाउजिङ, फार्मेसी, कृषि र पर्यटन क्षेत्रमा बलियो उपस्थिति जनाएको छ। नेपालमा उनले के एन्ड के मार्टमार्फत रिटेल व्यवसाय सञ्चालन गरेर सयौँ नेपालीलाई रोजगारी दिलाएका छन्। ९० पटकभन्दा बढी नेपाल भ्रमण गरिसकेका कुक्रेजा नेपाललाई आफ्नो दोस्रो घर ठान्छन्। नेपालप्रति उनको गहिरो प्रेम छ, त्यसैले उनी नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक समृद्धिलाई विश्वस्तरमा प्रवर्द्धन गर्न सक्रिय छन्। नेपाललाई ‘धावनमार्गमा कुदिरहेको जहाज’ को संज्ञा दिँदै उनी यहाँको विकास सम्भावनालाई विश्वास गर्छन्, तर उडान भर्न साना सुधार आवश्यक रहेको उनको बुझाइ छ। मलेसियन व्यापारीहरूको समूहको नेतृत्व गरेर केही साताअघि काठमाडौँ भ्रमणमा रहेका बेला कुक्रेजासँग हिमालप्रेसका चन्द्रशेखर अधिकारीले नेपालको पर्यटन, लगानी, अर्थतन्त्र र नेपाली श्रमिकबारे गरेको कुराकानी :

तपाईँ नेपाल आइरहने उद्यमी हुनुहुन्छ। नेपालको विकास सम्भावनाबारे तपाईंको दृष्टिकोण के छ?

नेपालले बिस्तारै प्रगति गरिरहेको छ तर गति अपेक्षित छैन। निजी क्षेत्रको बलियो साथ लिएर सरकारी नीति सहज बनाएमा नेपालले छिट्टै प्रगतिको उडान भर्न सक्छ। राजनीतिक नेतृत्व, प्रशासन र निजी क्षेत्र एकजुट भएर काम गर्नुपर्छ। नेपाल सम्भावनाहरूको खानी हो। यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरले मलाई सधैँ लोभ्याउँछ। मेरो विचारमा,पर्यटन क्षेत्र नेपालको विकासको सबैभन्दा ठूलो कडी हो। हिमालको काख, पहाडी हरियाली र तराईका फराकिलो समथर भूमिले नेपाल पर्यटकका लागि स्वर्गजस्तै लाग्छ। पर्यटक भित्र्याउन आवश्यक समन्वय, पूर्वाधार र प्रचार अभाव छ। मैले मलेसियाबाट नेपाल र नेपालबाट मलेसिया पर्यटक आदानप्रदानका लागि नेपाल एयरलाइन्ससँग सहकार्य गरेको थिएँ, तर अपेक्षित नतिजा आएन। यो नेपालप्रति सद्भावको कमीले होइन, बरु तालमेल र प्रभावकारी मार्केटिङको अभावले हो। नेपाल एअरलाइन्सलाई मलेसियामा स्थापित गर्न पनि सहयोग गरेको थिएँ।

नेपालले पर्यटनलाई व्यावसायीकरण गरेर विदेशी पर्यटकका लागि सहज वातावरण बनाउनुपर्छ। हिमालको प्राकृतिक सौन्दर्य जोगाउँदै पर्यटकलाई अविस्मरणीय अनुभव दिने वातावरण चाहिन्छ। मलेसियामा ३० हजार नेपाली हुँदादेखि मैले उनीहरूसँग सहकार्य गरेको छु। अहिले त्यहाँ चार लाखभन्दा बढी नेपाली छन्। प्रत्येक नेपालीले एकजना पर्यटकलाई नेपाल ल्याउन प्रेरित गरे भने यो संख्या  कति होला, कल्पना गर्नुस्! तर यस्ता विषयमा गम्भीर सोचको कमी छ। सरकारी तहबाट पनि पर्यटक भित्र्याउने ठोस पहल भएको देख्दिनँ। यहाँ सधैँ युरोप र अमेरिकाका पर्यटकको कुरा सुनिन्छ, तर एसियाली पर्यटकले विश्वको पर्यटन अर्थतन्त्र धानिरहेका छन् भन्ने कुरा नेपालका अधिकारीहरूले बुझेका छैनन्। त्यसैले नेपालले मलेसिया, भारत, सिंगापुर, चीनजस्ता एसियाली बजारमा ध्यान केन्द्रित गर्नुपर्छ। एसियालीले घुमेर युरोप-अमेरिकाको अर्थतन्त्र धानिएको अवस्थामा हामी उताका ल्याउने कुरा गरिरहेका छौँ। यसबारेमा हामीले नेपालका प्रधानमन्त्रीसँग पनि कुरा गरिसकेका छौँ।


यस्ता गम्भीर विषयमा छलफल हुँदा प्रधानमन्त्रीको धारणा के रह्यो?

प्रधानमन्त्री केपी शर्मा ओली सुन्ने र सकारात्मक सोच राख्ने नेता हुनुहुँदो रहेछ। उहाँले हामीलाई नेपालका अधिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो।  हामी तयार रहेको धारणा राख्यौँ।  हामीले साना तर महत्त्वपूर्ण कुरामा ध्यान दिन सुझायौँ पनि- जस्तै, विमानस्थलको सुधार, भिसा प्रक्रियामा सरलीकरण, जटिल कर्मचारीतन्त्रको अन्त्य र कमिसन माग्ने प्रवृत्तिको नियन्त्रण। नेपालमा कम्पनी खोल्न र सामान आयात गर्न झन्झटिलो छ। यस्ता समस्याले लगानीकर्तालाई हतोत्साहित गर्छ। सरकारले यी कुरामा ध्यान दिएर लगानीमैत्री वातावरण बनायो भने नेपालले छिट्टै प्रगति गर्नेछ।

हामी मात्र होइन जोकोही पनि नेपालमा लगानी गर्न आउनेछन्। यहाँकाे हावापानी साह्रै लोभलाग्दो छ। जसले सबैलाई तान्छ। तर राम्रो हुँदैमा सबै आउँछन् भन्ने त छैन। त्यसका लागि वातावरण बनाउन आवश्यक छ। पर्यटकले समेत कर फिर्ता लिन पाए हुन्छ जस्तो लाग्छ, त्यो सुविधा छैन वा संयन्त्र छैन। त्यस्ता कुरामा प्रणाली बनाउनुपर्छ। त्यसतर्फ ध्यान दिएमा फोहोर व्यवस्थापनदेखि पलास्टिक रिसाइकल मात्र होइन कृषि, जलस्रोत र पर्यटन क्षेत्रमा समेत थेगिनसक्नु विदेशी लगानी आउने  कुरा प्रधानमन्त्रीलाई सुनाएका थियौँ। हुन त यस्तो समस्या जता पनि हुन्छ। तर यहाँ त प्रणाली नै भत्काएर भ्रष्टाचार गरिँदो रहेछ। धन्न निजी क्षेत्रले आफ्नो प्रयासमा काम गरिरहेको छ। कसरी गरिरहेको होला मलाई त सुन्दा पनि अत्यास लाग्छ। त्यसमा प्रधानमन्त्रीले पनि समर्थन गर्दै सुधारको प्रक्रियामा आफू रहेको बताउनुभएको थियाे।

नेपालमा तपाईंको लगानी कस्तो छ?

नेपालमा मैले रिटेल क्षेत्रमा समान्य लगानी गरेको छु। के एन्ड के मार्टका १९ आउटलेटमार्फत १६० नेपालीले रोजगारी पाएका छन्। म हस्पिटालिटी क्षेत्रमा पनि केही गर्न सकिन्छ कि भनेर अध्ययनमै छु। मसँगै नेपाल आएका व्यावसायिक समूहले नेपालमा थप सम्भावना देखेको छ- जस्तै, फोहोरका रूपमा जम्मा भएका प्लास्टिक पुन:प्रयोग, खाने तेल रिफाइन सेन्टर, जलस्रोत र आईटी क्षेत्र। यी योजनाबारे हामीले प्रधानमन्त्री ओलीसँग छलफल गरेका छौँ। हाम्रो टोलीले नेपालमा विभिन्न क्षेत्रमा चासो देखाएको छ। हामी लगानीका लागि उत्साहित छौँ। तर नेपालमा लगानी वातावरण सहज हुन जरुरी छ भन्ने हाम्रो सर्त छ। ब्युरोक्रेसी, भिसा प्रक्रिया र कमिसन माग्ने प्रवृत्तिले लगानीकर्तालाई निरुत्साहित गर्छ। यी कुरामा सुधार भए नेपालले ठूलो फड्को मार्न सक्छ।

आईटी क्षेत्रमा कस्तो सहकार्य सम्भव छ?

आईटी क्षेत्रमा नेपालले विश्व बजारमा छलाङ मार्न सक्छ। काठमाडौँको रिङ रोड क्षेत्रमा ठूलो आईटी पार्क बनाएर विशेषज्ञहरूलाई एकीकृत गर्न आवश्यक देख्छु। मलेसिया र नेपालबीच आईटीमा गहिरो सहकार्य सम्भव छ। मलेसियाको आईटी क्षेत्र युरोप र अमेरिकाभन्दा अगाडि छ। यहाँको सस्तो जनशक्तिसँग जोडिएमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ। भारतले आईटीमा गरेको प्रगतिबाट पनि नेपालले सिक्न सक्छ। हामीले यस विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका छौँ। उहाँले हामीलाई लगानीका लागि प्रोत्साहन गर्नुभएको छ। मसँगै आउनुभएका साथीहरूले यहाँ सहकार्य गर्दै आईटीमा काम अघि बढाउने बताउनुभएको छ। समूहगत भेट पनि भएका छन्। यो प्रक्रिया अघि बढ्ला। मलेसियामा नेपालका आईटी क्षेत्रका विवज्ञहरू काम गरिरहेका छन्।

नेपालको निजी क्षेत्रबारे तपाईंको बुझाइ के छ?

नेपालको निजी क्षेत्रले चमत्कार गरिरहेको छ। विशेष गरी व्यापारमा यो क्षेत्र निकै अघि बढेको छ, तर उद्योगमा भने कम ध्यान गएको छ। नेपालको निजी क्षेत्रले बाहिरको उत्पादन यहाँ ल्याएर बेच्ने काम गरिरहेको छ। यो क्षेत्रले सरकारको सहयाेगमा धेरै काम गर्न सक्छ। यहाँ उद्योग खोल्न बल गर्न सक्नुपर्छ सरकारले। अनि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र सहजीकरण गर्दै अघि बढेमा यो क्षेत्रले अझ धेरै गर्न सक्छ। अन्तर्राष्ट्रिय ब्रान्डका होटलहरू नेपालमा खुल्नुले पर्यटनको सम्भावना उजागर गर्छ। तर सरकारले विमानस्थल व्यवस्थापन, पूर्वाधार विकास र २४सै घण्टा बजार खुला राख्ने व्यवस्था गर्न सक्नुपर्छ। पर्यटकलाई पूर्ण रूपमा आकर्षित गर्न नसके उनीहरू आउँदैनन्, आएकाले पनि फर्केपछि उता नकारात्मक सन्देश फैलाउँछन्। नेपाल पर्यटकको पर्खाइमा छ तर उनीहरूलाई ल्याउन ठोस योजना र कार्यान्वयन चाहिन्छ। पर्यटन बोर्डले प्रभावकारी मार्केटिङ र प्याकेज बनाउनुपर्छ। यसमा पनि निजी क्षेत्रलाई नै जोड गर्नुपर्छ। मलेसियाको अनुभव लिँदा पनि हुन्छ यसमा।

यतिबेला मलेसियामा कुन क्षेत्र फस्टाइरहेको छ, र नेपालले के सिक्न सक्छ?

मलेसिया मध्यम-उच्च आय भएको देश हो, जसको अर्थतन्त्र पर्यटन, इलेक्ट्रोनिक्स, तेल र ग्यास, पाम तेल र रबरमा आधारित छ। २०२३ मा मलेसियाको जीडीपी १.८२ ट्रिलियन रिंगिट थियो, जसमा सेवा र उत्पादन क्षेत्रको ठूलो योगदान छ। देशले २०३० सम्म उच्च आय भएको देश बन्ने लक्ष्य राखेको छ। मलेसियाले विश्व व्यापारको २५ प्रतिशत नियन्त्रण गर्छ र यो एसियाको रणनीतिक आर्थिक केन्द्र हो। मलेसिया पर्यटन, इलेक्ट्रोनिक्स, काठको व्यापार, कृषि र रिटायरमेन्ट लाइफका लागि विदेशी आकर्षणको केन्द्र बनेको छ।


अहिले मलेसिया आईटीमा अग्रसर भएको छ। यसका लागि विभिन्न मुलुकसँग सहकार्यको प्रयासमा छ। मलेसियाले पर्यटनलाई व्यावसायीकरण गरेर विश्व बजारमा आफूलाई स्थापित गरेको हो। साँच्चै एसिया (मलेसिया : ट्रुली एसिया ) भनेको मलेसिया हो भन्ने मार्केटिङ गर्‍यो। जुन आफैँमा निकै महत्त्वपूर्ण थियो।

मलेसिया आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आधुनिक पूर्वाधारका लागि प्रसिद्ध छ। पेट्रोनास ट्विन टावर, माउन्ट किनाबालु, तामान नेगारा (१३० मिलियन वर्ष पुरानो वर्षावन) र राफ्लेसिया फूल (विश्वको सबैभन्दा ठूलो फूल) प्रमुख आकर्षण हुन्। २०२३ मा मलेसियाले २८.९ मिलियन पर्यटक भित्र्यायो, जसले अर्थतन्त्रमा २७५.८ बिलियन रिंगिट (१५.१ प्रतिशत ) योगदान गर्‍यो। सिंगापुर, इन्डोनेसिया र चीनबाट सबैभन्दा बढी पर्यटक आए। तर मलेसियाबाट एक करोड १० लाख पर्यटक विदेश जाँदा नेपालमा १८ हजार मात्र आउँछन्, जुन दु:खद् छ। नेपालले सामाजिक सञ्जाल, विश्वभर छरिएका नेपाली डायस्पोरा र प्रभावकारी मार्केटिङमार्फत पर्यटक भित्र्याउन सक्छ। हिमाल, पहाड र तराईलाई समेटेर आकर्षक प्याकेज बनाउनुपर्छ। नेपालको मौसम र सांस्कृतिक समृद्धिलाई विश्वमाझ पुर्‍याउन आवश्यक छ। 

यहाँकाे अनुभव र भोगाइअनुरुप नेपालको विकास तत्काल कसरी सम्भव छ?

नागरिकलाई सुविधा दिनुपर्छ, न कि प्रताडित गर्ने। अनि नेपाल आफैँ बन्नेछ। नेपाल ‘धावनमार्गमा कुदिरहेको’ जहाज हो, अब उडान भर्ने बेला आएको छ। सरकारले साना सुधार—जस्तै, विमानस्थल व्यवस्थापन, भिसा सहजता र ब्युरोक्रेसी न्यूनीकरणमा ध्यान दिनुपर्छ। नेपालको पर्यटन बोर्डले नेपालको क्षेत्र पहिचान गरी प्रदर्शनी (मार्केटिङ) गर्न सक्नुपर्छ। नेपालबारे जानकारी दिन सक्नुपर्छ। विदेशीले ऊ नेपाल आएपछि जुन क्षेत्रमा जति दिन बिताउन चाहन्छ त्यो क्षेत्रमा उसका लागि पर्याप्त समय बिताउने गरी व्यवस्थापन गर्न आवश्यक छ। मलेसियालीलाई समेत तान्न नसकेको नेपालले पश्चिमा पर्यटकलाई कसरी भित्र्याउन सक्छ? नेपालका बारेमा सामाजिक सञ्जाल  र सञ्चारमाध्यमबाट प्रचारप्रसारमा पनि ध्यान दिनुपर्छ। मलेसियामा चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत छन्, विशेषगरी निर्माण, रिटेल र सुरक्षा क्षेत्रमा।

नेपालीको मेहनत र इमानदारीले मलेसियामा गोर्खाहरूको सम्मान कायम राखेको छ। नेपाली डायस्पोराले मलेसिया र नेपालबीचको सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। उनीहरूमार्फत पनि मार्केटिङ गर्न सकिन्छ। कृषिमा जोड दिने, खाडी मुलुकमा तरकारी र पानी बेच्ने काम मात्र अघि बढाए पनि नेपालले तत्काल विकासमा फड्को मार्नेछ। तर सबै प्रयास इमानदारीको साथ हुन आवश्यक छ। होटलमा वेटरले चम्चा मिलाउँदा भुइँमा झर्‍यो भने त्यो तत्काल टिप्ने भन्दा पनि अरू मिलाएर त्यसलाई पुन: पखालेर ल्याएर राख्नुपर्छ। भुइँ जति नै सफा भए पनि। होटलको पाहुनाप्रतिको सम्मान हो त्यो। नेपालमा पनि त्यही स्तरको चेतना आवश्यक देखछु। जलविद्युत् खानेपानी कृषि  र पर्यटनबाट नै नेपाल उकासिने छ। नेपालमा हिमाली, पहाडी र तराई क्षेत्र छ। यो सबै मिलाएर प्याकेज बेच्न सक्नुपर्छ। नेपालको मौसम निकै मन पर्छ। यही सन्देश विश्वभर पुर्‍याउन सक्नुपर्छ। नेपाली नपुगेको मुलुक नै छैन। नेपालीमार्फत नै पनि पर्यटन बोर्डले कार्यक्रमहरू गरेर जानकारी दिन सक्छ।

तत्काल विकास हुने केही देख्नुहुन्छ?

पक्कै, नेपालले आफ्नो विकास बिस्तारै गर्दै आएको छ। म  पहिले आउँदाको नेपाल र अहिले निकै फरक भइसकेको छ। तर पनि जति हुनुपर्ने त्यो भएको छैन। नेपाल माथिल्लो स्तरमा जाने तयारीमा रहेको देखिन्छ तर त्यो कसरी लैजाने भन्नेमा अन्योल छ। विकास सम्भव छ। त्यसका लागि राजनीतिक नेतृत्व, प्रशासन सबै एक भएर निजी क्षेत्रको प्रवर्द्धनमा लाग्नुपर्छ। अन्यथा गफमात्र हुनेछ। आमनागरिकलाई सुविधा दिनुपर्नेमा आमनागरिक मुलुकबाट प्रताडित हुनु दु:खद् हो।

तपाईंले कति नेपालीलाई रोजगारी दिनुभएको छ?

मेरो समूहबाट खासै धेरै नेपालीले रोजगारी पाएका त छैनन् तर नेपालमा रहेकाे  के एन्ड के मार्टका १९ आउटलेटमा १ सय ६० नेपाली कार्यरत छन् भने मलेसियामा मेरो प्याराडाइज ग्रुपमा सात सय भन्दा बढी नेपालीले रोजगारी पाएका छन्। नेपालीहरू इमानदार, मेहनती र विश्वसनीय छन्। मलेसियामा गोर्खाहरूको सम्मान छ र यो सम्मान नेपालीले आफ्नो मेहनतले कायम राखेका छन्। नेपाल मेरो दोस्रो घर हो। यहाँको सौन्दर्य, संस्कृति र नेपालीको आतिथ्यले मलाई बारम्बार तान्छ। मैले ९० पटकभन्दा बढी नेपाल भ्रमण गरिसकेको छु, र यो प्रेम सधैँ रहिरहनेछ। मलेसिया दक्षिणपूर्वी एसियाको एक जीवन्त र बहुसांस्कृतिक मुलुक हाे। मलेसिया पेनिन्सुलर मलेसिया र पूर्वी मलेसियामा विभाजित छ। १३ राज्य र तीन संघीय क्षेत्र रहेको संघीय संवैधानिक राजतन्त्रात्मक मुलुकको राजधानी क्वालालम्पुर र प्रशासनिक केन्द्र पुत्रजाया हो। मलेसियाको जनसंख्या नेपालकाे भन्दा ५० लाख बढी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast