दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

हिमाल प्रेस ९ भदौ २०८२ १०:२३
2
SHARE
दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा- गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ। भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रति लिटर ५ अनुदान उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अनन्त कोइरालाले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि दूधमा अनुदान उपलब्ध गराउन १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘जिल्लालाई दूधमा आत्मानिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्दै जाने उद्देश्यसहित नगद अनुदान कार्यक्रम सञ्चालन गरिएको हो, प्रमुख कोइरालाले भने,‘यसले किसानलाई थप सहयोग पुग्नेछ।’

कार्यक्रमले किसानलाई पशुपालनतर्फ आर्कषित गर्न मद्दत पुग्ने उनको भनाइ छ। ‘केन्द्रमा सहकारी संस्थालाई सूचीकृत गरेर सूचीकृत भएका सहकारी संस्थामार्फत उत्पादित दूध बिक्री गर्ने कार्यविधि छ, प्रमुख कोइरालाले भने, ‘थोरै दूध उत्पादन गर्ने किसानले पनि संगठित रूपमा काम गर्न सकोस् भन्ने उद्देश्यसहित सहकारीमार्फत काम गराउने व्यवस्था गरिएको हो।’

सहकारीमार्फत संकलन र बिक्रीको व्यवस्था गर्दा साना किसानले पनि घरघरमा उत्पादित दूध बजारसम्म पुर्‍याउन सक्ने र अनुदान कार्यक्रमबाट लाभ लिनसक्ने उनले बताए।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँँपालिकामा दूध उत्पादन राम्रो हुने गरेको पाइन्छ। केन्द्रले पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत दूध उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रम अन्तर्गत यसवर्ष जिल्लामा तीन लाख लिटर दूधलाई अनुदान दिन सकिने केन्द्रले जनाएको छ। त्यस्तै सूचीकृत भएका सहकारी संस्थाले न्यूनतम दुई सय लिटर दूध संकलन तथा बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ। ‘केन्द्रले सहकारीमार्फत किसानलाई नगद अनुदान उपलब्ध गराउने हो।’ उनले भने। रासस

प्रकाशित: ९ भदौ २०८२ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast