विवादास्पद सञ्चार विधेयकविरुद्ध कोशीका पत्रकारहरू आन्दोलित

हिमाल प्रेस ८ भदौ २०८२ २१:०८
12
SHARES
विवादास्पद सञ्चार विधेयकविरुद्ध कोशीका पत्रकारहरू आन्दोलित

इटहरी- कोशी प्रदेश सरकारले ल्याएको विवादास्पद आमसञ्चार विधेयकविरुद्ध पत्रकारहरूले आइतबार विराटनगरमा प्रतीकात्मक प्रदर्शन गरेका छन्। नेपाल प्रेस युनियन कोशी प्रदेशको अगुवाइमा पत्रकारहरूले मुखमा कालो टेप लगाउँदै देवकोटा चोकदेखि हाटखोलासम्म उल्टो हिँडेर विरोध जनाए। प्रदर्शनमार्फत प्रेस स्वतन्त्रता माथि प्रहार गर्ने उद्देश्यले ल्याइएको विधेयकको विरोध गरिएको युनियनका अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए।

उनका अनुसार पत्रकार महासंघको नेतृत्वमा पत्रकार संगठनहरूले दिएको सुझावलाई सरकार बेवास्ता गर्दै जबरजस्ती विधेयक अघि बढाइएको हो। ‘ुप्रेसमाथि अंकुश लगाउने प्रावधान खारेज नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाउनेछौं,’ अध्यक्ष नवोदितले चेतावनी दिए, ‘प्रदेश सरकार उल्टो बाटोमा हिँडिरहेको छ, त्यसैले हामी पनि उल्टो हिँडेर कारागार गेटसम्म पुगेर विरोध जनाएका हौं।’

कोशी प्रदेश सरकारले समाचार लेखेकै आधारमा पत्रकारलाई १ लाख ५० हजार रुपैयाँसम्म जरिबाना गर्ने प्रावधान ल्याएको र कोशी प्रादेशिक आमसञ्चार प्रतिष्ठानमा अध्यक्षलाई औपचारिक मात्र बनाएर कार्यकारी अधिकार सरकारद्वारा नियुक्त रजिष्ट्रारलाई दिने व्यवस्थाको विरोध जनाइयो।

रजिष्ट्रारलाई समाचारबारे उजुरी लिनेदेखि जरिबाना असुल गर्ने र क्षतिपूर्ति भराउनेसम्मको अधिकार दिने व्यवस्था गरिएकोमा आपत्ति जनाइएको छ। पत्रकार संगठनहरूले यसअघि नै विज्ञप्ति जारी गरी विधेयकको विरोध जनाइसकेका छन्। विवादास्पद दफा संशोधन नगरे सडक आन्दोलन चर्काउने चेतावनीसमेत उनीहरूले दिएका छन्।

यसैबीच नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। आइतबार विराटनगरमा बसेको कार्यसमिति बैठकबाट चरणबद्ध आन्दोलन गर्ने निर्णय भएको महासचिव हिमाकुमारी चेम्जोङले बताइन्। भदौ ९ गतेदेखि १३ गतेसम्मका लागि पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको उनले बताइन्।

जसअनुसार महासंघले आफ्ना सबै जिल्ला शाखा, सम्पूर्ण सदस्यहरू र आम सञ्चारकर्मीहरूलाई घोषित आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेको छ। आन्दोलनका कार्यक्रमहरूमा भदौ ९ गते प्रदेशभरिका पत्रकारहरूले आ–आफ्नो सामाजिक सञ्जालमा ‘कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’  भन्ने सन्देशसहित प्रदेश सरकार र प्रदेशसभालाई विधेयक सञ्चालनको निमित्त खबरदारी गर्दै पोष्ट गर्ने।

भदौ १० गते मुख्यमन्त्री, विभागीय मन्त्री तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई भेटेर विधेयक सच्याउन ध्यानाकर्षण गराउने, भदौ ११ गते प्रदेशभरिका पत्रकारहरूले आ–आफ्नो जिल्लाका प्रदेशसभा सदस्यहरूलाई सोही नारासहितको सन्देश एसएमएस पठाउने, भदौ १२ गते नेपाल पत्रकार महासंघ प्रदेश समितिको तर्फबाट मुख्यमन्त्री कार्यालयमा र जिल्ला शाखाहरूले जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिने तथा भदौ १३ गते दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा १ घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको महासचिव चेम्जोङले बताइन्।

माग सम्बोधन नभए थप सशक्त आन्दोलन गरिने जनाइएको छ।

प्रकाशित: ८ भदौ २०८२ २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast