चालु खाता ४ खर्ब ९ अर्ब र शोधनान्तर ५ खर्ब ९४ अर्ब बचतमा

हिमाल प्रेस ८ भदौ २०८२ १८:०७
10
SHARES
चालु खाता ४ खर्ब ९ अर्ब र शोधनान्तर ५ खर्ब ९४ अर्ब बचतमा

काठमाडौँ– गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिकको वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकमा सुधार हुँदै गएको देखिएको हो।

प्रतिवेदनअनुसार गत आथिक वर्षमा सरकारको चालु खाता चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा चालु खाता दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो।

गत आर्थिक वर्षमा शोधनान्तर स्थिति पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ। आव २०८०/८१ मा शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा थियो। गत आर्थिक वर्षमा खुद पुँजीगत ट्रान्सफर नौ अर्ब ८४ करोड छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब दुई करोड बराबर भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

गत आर्थिक वर्षमा आर्थिक वृद्धि चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ। जसमध्ये कृषि क्षेत्रको वृद्धि तीन दशमलव २८, उद्योग क्षेत्रको चार दशमलव ५३ र सेवा क्षेत्रको वृद्धि चार दशमलव २१ प्रतिशत रहेको अनुमान छ।

गत आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५ दशमलव १६, १२ दशमलव ८३ र ६२ दशमलव शून्य एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, गत आवमा कूल गार्हस्थ्य बचत कूल गार्हस्थ्य उत्पादनको छ दशमलव ५५ प्रतिशत रहेको छ। कूल स्थिर पुँजी निर्माण र कूल राष्ट्रिय बचतको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २४ दशमलव शून्य सात र ३६ दशमलव २४ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षमा कूल विद्युतको जडित क्षमता वृद्घि भई तीन हजार ५९१ मेगावाट पुगेको छ। जडित क्षमतामध्ये जलविद्युत तीन हजार ३९० मेगावाट रहेको छ। त्यस्तै, कूल पर्यटक आगमन एक दशमलव सात प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ दुई दशमलव ६६ प्रतिशतले अवमूल्यन भएको छ।

प्रकाशित: ८ भदौ २०८२ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast