
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी मन्त्री फर्ने भएको छ। जसपाले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई फिर्ता बोलाउन लागेको हो। यादव र सुडीलाई फिर्ता बोलाएर वीरेन्द्र महतो र रञ्जुकुमारी झालाई सरकारमा पठाउन लागिएको जसपाका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए। मन्त्री फेर्ने निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम दिइसकिएको उनको भनाइ छ।
एक वर्षपछि मन्त्री फेरबदल गर्ने पार्टीको यसअघिको निर्णयअनुसार सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउन लागिएको जसपाले जनाएको छ। यादव अहिले खानेपानी र सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन्। यादवको ठाउँमा महतो र सुडीको ठाउँमा झालाई जसपाले सरकारमा पठाउन लागेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्ष पूरा गरिसकेपछि ‘फरफर्मेन्स’ का आधारमा सत्ता साझेदार दलहरूलाई मन्त्री फेरबदलका लागि नाम पठाउन आग्रह गरेका थिए।
प्रधानमन्त्रीको आग्रहपछि सरकारमा सहभागी लोसपाले यसअघि नै नाम पठाइसकेको बताइएको छ। स्रोतका अनुसार लोसपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्ललाई सरकारमा पठाउन लागेको छ।
त्यस्तै एमालेले पनि सरकारमा सहभागी चारजना मन्त्री हेरफेर गर्ने तयारी गरेको छ। उनीहरूको नाम तय भइनसकेको एमालेका एक पदाधिकारीले बताए।
सरकारमा सहभागी तीन दलले मन्त्री हेरफेर गर्ने भए पनि कांग्रेसले आफ्ना मन्त्रीहरूलाई नचलाउने भएको छ। प्रधानमन्त्री ओलीले कांग्रेसका साथै सरकारमा सहभागी सबै दलका मन्त्रीहरू एकैपटक हेरफेर गर्न चाहेका थिए।
अन्य तीन दलले नाम पठाए पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने तयार नभएको स्रोतको भनाइ छ। गुटगत भागबन्डा मिलाउन समस्या भएको भन्दै सभापति देउवाले मन्त्री हेरफेर गर्न तयार नभएको बताइएको छ। ‘एउटालाई पठाउँदा अर्को बिच्चिकिन्छ, एउटालाई फिर्ता बोलायो अर्को रिसाउँछ,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘पार्टीभित्र सामन्ज्यस्ता मिलाउन कठिन छ। हाम्रो पार्टीका मन्त्रीहरू हेरफेर नगरौँ।’
सभापति देउवा तयार नभएपछि प्रधानमन्त्री ओलीले कांग्रेसबाहेकका अन्य सत्ता साझेदार दलका मन्त्री हेरफेर गर्न लागेको बताइएको छ।