
काठमाडौँ- निजी विद्यालय सञ्चालकहरूले आज प्रतिनिधिसभा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई विद्यालय शिक्षा विधेयक संशोधनका लागि अनुरोध पत्र बुझाएका छन्।
प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनका प्रतिनिधिहरूले संयुक्त रूपमा शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकका कतिपय प्रावधानहरू निजी विद्यालयहरूको हितविपरीत रहेको बताउँदै संशोधनका लागि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहाललाई पत्र बुझाएका हुन्।
उनीहरूका प्रमुख मागमा कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई ‘गैरनाफामूलक बनाउने’ भनिएको व्यवस्था खारेज गर्नुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, विद्यालयहरूले पोसाक, पाठ्यपुस्तक, यातायात तथा खानाखाजा उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था संशोधन गर्नुपर्ने लगायतका विषयहरू छन्।
प्रतिनिधिसभामा शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित विद्यालय शिक्षा विधेयक पेस भएको छ। समितिका सभापति अम्मरबहादुर थापाले विधेयक पेस गरेका हुन्।