
काठमाडौँ- नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५ आयोजना गर्ने भएका छन्।
आइतबार काठमाडौँमा संयुक्त रुपमा बोर्ड र काउन्सिलले पत्रकार सम्मेलन गर्दै नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल आगामी २० भदौदेखि असोज १० गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर र कीर्तिपुरमा आयोजना हुने जानकारी गराइएको हो।
इन्द्रजात्राको अवसरसँगै सुरु हुने महोत्सवलाई उपत्यकाका सम्पदा, कला, संस्कृतिको समग्र उत्सवका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ। नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले नेपालमा मात्रै नभई विदेशमा समेत यस्ता सांस्कृतिक पर्वहरूले ठूलो महत्व राख्ने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन फेस्टिवल आयोजना गर्न लागिएको जानकारी दिए।
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रायः साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिए पनि यो फेस्टिवलमार्फत नेपाललाई सांस्कृतिक वैभव र धरोहरहरूको भण्डारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको बताए।
‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ भन्ने नारासहित सुरु हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित संघ–संस्था र सरोकारवालालाई समेटेर महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार, तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने पर्यटन बोर्डले जनाएको छ।