
विश्वका शीर्ष केन्द्रीय बैंकका अधिकारीहरूले विश्वका ठूला अर्थतन्त्र भएका मुलुकलाई आगामी दशकमा कामदार अभाव हुने चेतावनी दिएका छन्। ठूला अर्थतन्त्र भएका मुलुकहरूले अझ बढी विदेशीलाई आकर्षित गर्नुपर्ने सुझाव उनीहरूको छ।
वायोमिङको ज्याक्सन होलमा भेला भएका अग्रणी नीतिनिर्माताको वार्षिक भेलाका क्रममा जापानको बैंक, युरोपेली केन्द्रीय बैंक र बेलायतको बैंकका प्रमुखहरूले वृद्ध हुँदै गएको जनसंख्याले आर्थिक विकासमा ल्याएको चुनौतीलाई उजागर गर्न खोजेका हुन्। बैंक अफ जापानका गभर्नर कामो उएदाले कान्सास सिटी फेडेरल रिजर्भको वार्षिक संगोष्ठीमा सम्बोधन गर्दै श्रम अभावलाई देशका सबैभन्दा गम्भीर आर्थिक समस्यामध्ये एक बनाइदिएको बताए।
उनले भने, ‘जापानको श्रमशक्तिमा विदेशी कामदारको हिस्सा तीन प्रतिशत भए पनि हालै श्रमशक्ति वृद्धिमा भएको बढ्दो योगदानको आधा हिस्सा उनीहरूकै रह्यो। आगामी दिनमा अझ वृद्धि गर्नका लागि व्यापक छलफल आवश्यक छ।’
उनका अनुसार धनी अर्थतन्त्रहरूमा जन्मदर अत्यन्तै न्यून स्तरमा पुगेको छ। मानिसको आयु निकै लामो भएको छ। यसले निर्भरता अनुपात बढाएको छ, जसको अर्थ अब जनसंख्याको ठूलो हिस्सा काम गर्ने उमेरको दायराबाट बाहिर गएको छ।
युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्दले विदेशी जनसांख्यिकीय प्रवृत्तिले आर्थिक वृद्धिमा पार्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न निर्णायक भूमिका खेल्ने बताइन्। उनले भनिन्, ‘विदेशी कामदार आगमन नभएमा सन् २०४० सम्ममा युरो क्षेत्रका काम गर्ने उमेरका मानिस ३.४ मिलियनले कम हुनेछन्।’ उनका अनुसार युरोजोनको श्रम बजार कोरोना महामारीपछि अनपेक्षित रूपमा सुधार आएको छ।
यद्यपि युरोपेली मुलुकमा वृद्ध कामदारको संख्या धेरै छ। ‘अझ बढी महत्त्वपूर्ण कारण भने विदेशी कामदारहरूको संख्यामा भएको वृद्धिले हो’, उनले भनिन्।
युरोपेली मुलुकमा सन् २०२२ मा विदेशी कामदारले कुल श्रमशक्तिको करिब ९ प्रतिशत मात्र प्रतिनिधित्व गरेका थिए। ‘विगत तीन वर्षमा भएको श्रमशक्ति वृद्धिको आधा योगदान उनीहरूको छ। यो योगदान नभएको भए उत्पादन कम हुने थियो’, उनले भनेकी छन्।
बैंक अफ इंगल्यान्डका गभर्नर एन्ड्र्यु बेलीले जनसांख्यिकीय परिवर्तन र उत्पादनशीलताको घट्दो दरले बेलायतको अर्थतन्त्रमा तीव्र चुनौती निम्तिएको बताए। अर्थशास्त्रीहरूका अनुसार आगामी दशकमा आर्थिक वृद्धिलाई निरन्तरता दिन र श्रम अभाव पूरा गर्न कामदारहरूलाई आकर्षित गर्नु अनिवार्य हुनेछ।
उनीहरूले जनसंख्या वृद्धिले मात्र उत्पादन नघटाउने बरु मुद्रास्फिति बढाउने जोखिम पनि उत्तिकै रहने बताए। किनभने व्यापक श्रम अभाव भएमा कामदारहरूले सेवासुविधा पनि बढी माग गर्न सक्नेछन्। बेलीका अनुसार बेलायतमा श्रमशक्तिमा सहभागी हुने दरमा कमी आएको छ।