
काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाले आजका बाढीबाट जोखिममा परेका जिल्लाका विवरण उल्लेख गरेको छ। साथै आज जोखिम निम्त्याउने नदीको सूची समेत सार्वजनिक गरेको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र महाकाली नदीको बहाव सतर्कता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आइतबार सिन्धुपाल्चोक, रसुवा, धादिङ, लमजुङ र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
साथै नुवाकोट, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।