
काठमाडौँ- इंग्लिस प्रिमियर लिगका २०२५/२६ का खेल जारी छन्। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीमाथि टोटनह्याम हट्सपर हाबी भएको छ। टोटनह्यामको सिजनमा लगातार दोस्रो जित हात हो भने सिटीको पहिलो हार हो।
शनिबार राति सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा टोटनह्यामले २–० को जित दर्ता गरेको हो। सिटीलाई हराउन टोटनह्यामले दुवै गोल पहिलो हाफमा गर्यो।
पहिलो हाफको ३५ औँ मिनेटमा रिचार्लिसनको लो क्रसमा ब्रेनन जोनसनले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा जोआओ पाल्हिन्हाको गोलमा टोटनह्यामले अग्रता दोब्बर पार्यो। गएराति नै भएको खेलमा आर्सनलले लिड्स युनाइटेडमाथि ५–० को फराकिलो जित हात पारेको छ।
लगातार दोस्रो जित निकालेसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। दुई खेलबाट समान ६ अक जोडेपनि गोलअन्तरमा अघि रहँदै आर्सनल शीर्ष र टोटनह्याम दोस्रो स्थानमा छन्। गएराति कै खेलमा बर्नमाउथले वुल्भ्सलाई १–० ले ब्रेनफोर्टले एस्टोन भिल्ललाई १–० ले नै हराएको छ। अर्को खेलमा बर्नलीले सुन्दरल्यान्डलाई २–० ले हरायो।