
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको भूमि विधेयकविरूद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ। भूमि विधेयक मुलुक र जनताको हितमा नरहेको भन्दै जसपा नेपालले देशव्यापी आन्दोलनको घोषणा गरेको हो।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक, २०८२ सम्बन्धी प्रतिवेदन बहुमतले पारित भएको थियो। नेपाली कांग्रेस, नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टीका सांसदहरू प्रतिवेदन पारित गर्ने पक्षमा उभिएका थिए।
राष्ट्रहितविपरित रहेको भन्दै जसपा नेपालको सचिवालय बैठकले विधेयकका विरूद्ध देशव्यापी प्रदर्शन गर्न निर्णय गरेको महासचिव लालबाबु राउतले जानकारी दिए। ‘भूमि र वन बचाउँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ अभियानअन्तर्गत भुमि विधेयकविरूद्ध कडा प्रतिकार र विरोध गर्ने निर्णय भएको राउतले बताए।
उनका अनुसार विधेयकको विरोधमा जसपा नेपालले भदौ ९देखि १५ गतेसम्म देशका विभिन्न सहरहरूमा प्रदर्शन गर्नेछ। जसपा नेपालले सुरूवातदेखि भूमिसम्बन्धी विधेयकको विरोध गर्दै आइरहेको छ। जसपा नेपालकै विरोधका कारण भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सरकार बाध्य भएको थियो।
यो विधेयक मुलुक र जनतको हितमा नरहेको भन्दै जसपा नेपालले भू–माफिया, जग्गा दलाललाई लाभ पुर्याउने गरी सरकारले विधेयक ल्याएको दाबी गरेको छ।
वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरर्णको संरक्षण गर्न, तराई/मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न विधेयक फिर्ता हुनुपर्ने जसपा नेपालको भनाइ छ।