अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि भएका दुई ‘रियालिटी शो’को ‘फिनाले’ आज, प्रधानमन्त्रीले पुरस्कार वितरण गर्ने

हिमाल प्रेस ७ भदौ २०८२ ९:१६
14
SHARES
अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि भएका दुई ‘रियालिटी शो’को ‘फिनाले’ आज, प्रधानमन्त्रीले पुरस्कार वितरण गर्ने

काठमाडौँ- नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा आज हुने भएको छ।

यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न शनिबार प्रतिस्पर्धा गर्नेछन्। विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।

इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले ३० लाख र दोस्रोले २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्नेछन्।

गोदावरीको सनराइज कन्फ्रेन्स हलमा हुने अन्तिम पाँचमा रहेका ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’को नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछ।

गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्कमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा नेपालको संखुवासभाका परेश राई र काभ्रेका शरद् हुमागाईँ अन्तिम पाँचमा छन्।

यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की (थाइल्यान्ड), देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा छन्।

दुवै प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका प्रतिभाहरूले यही प्रतिस्पर्धाका लागि आफ्नो मातृ तथा पितृभूमि नेपाल आउन पाएकामा खुसी व्यक्त गर्दै अन्तिम प्रतिस्पर्धामा रहेको भए पनि आफूहरूले एकले अर्कालाई सफल भएको देख्न चाहेको बताउँछन्।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउँदै आएका छन्।

गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा छन् भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शङ्कर बिसी, दिलीप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई निर्णायक छन् ।

यी प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो। ती देशबाट गायनमा एक सय २० र नृत्यमा एक सय २० जना कलाकार छानी उनीहरूलाई तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast