
बागमती- हेटौँडा-काठमाडौँ जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको छ।
त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-१ बागझुरामा गिट्टी बालुवासहितको भलपानी खस्दा गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडक विभागसँग समन्वय गरी पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अझै अवरुद्ध छ। सो सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्याङडाँडामा वर्षासँगै माथिबाट ढुंगा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडक सञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक अर्यालले बताए। रासस
प्रकाशित: ७ भदौ २०८२ ८:२५
प्रतिक्रिया