
आज कुशेऔँसी अर्थात् बुवाको मुख हेर्ने दिन! हरेक वर्ष यसपटक पनि बाको सम्मान र श्रद्धा गरेर कुशैऔँसी मनाइन्छ। औँसीको पूर्वसन्ध्यमा हिजो बजारमा निकै चहलपहल थियो बुवाका लागि मिठाई, केक, कपडा, टोपी जुत्ता, चप्पललगायतका सामग्री किन्ने छोराछोरीको। म पनि साथीहरूसँग सामान किन्न गएँ। तर मैले कपडा र खानेकुरा किन्न सकिनँ। किनकि केही वर्षदेखि कुशेऔँसीको अघिल्लो दिन यसरी नै बिताउँदै आएकी छु। सबैले आआफ्नो बुवाका लागि सामान किन्दा मैले हजुरको फोटोमा लगाउने माला किनेर घर फर्किएँ।
बुवा खै कसरी भनूँ? मैले किनेको माल हजुरको तस्बिरमा लगाउनसमेत सकिनँ। यसै हजुरको नाम लिँदै तस्बिरमा एक अम्खरा पानी चढाउँदै बुवाको मुख मैले पनि हेरेँ बुवा! थाहा छैन हामीले हजुरका नाममा गरेका कार्यमा हजुर कति खुसी र सुखी हुनुहुन्छ भन्ने? तर बुवा हजुरलाई नसम्झी त मेरो दिनको थालनी पनि हुँदैन। खै कसरी चित्त बुझौँ ?हजुरबिनाको घर, घर लाग्दैन। सँगै चिया खाएर सुरु हुने मेरो दिन रात जस्तो भएको छ।
बिहान ४ बजे कानमा सुटुक्क छोरी चिया खाने भनेर सोध्दा नाइँ नभनी चिया पिएर फेरि सुत्ने मैले त बिहानीको चिया खान छोडेकी छु बुवा।
सानो छँदा बुवाको माया के हो भनेर थाहा नपाएका हजुरका छोराछोरीलाई जब माया थाहा हुँदै गयो तब तपाईँ सदाका लागि टाढा हुनुभयो।
कामको सिलसिलामा बाहिर बस्नुको पीडा कस्तो हुन्छ भन्ने थाहा पाउन आफू कामका क्रममा बाहिर जादा थाहा हुँदै छ बुवा। सानोमा नपाएको माया ठूलो भएपछि थाहा पाएँ तर केही वर्षका लागि मात्र रहेछ त्यो माया। हजुरले देखाएको स्नेहका साथ हौसलाले अघि बढ्दै गएको छु तर हजुर भने साथमा हुनु हुन्न। निकै खल्लो लाग्छ। सफलता पनि खुसी हुन सकिँदो रहेनछ।
हजुर बिरामी हुँदा डाक्टरले नै समय तोक्दा एकान्तमा गएर रोएका हजुरको श्रीमती र छोराछोरी पनि सबैको मायाले सात वर्षसम्म बचाउन सफल भयौँ तर यो सबै केहीछिनका लागि मात्र रहेछ। त्यही सात वर्ष थियो बुवाको माया कस्तो हुन्छ भनेर थाहा पाएका हामी टुहुरा छोराछोरी।
समय छोटो थियो याद भने कति हो कति! हजुरलाई बचाउन हरेक प्रयास गर्दा पनि सकिएन। बेलाबखत कहीँकतैबाट हजुरले हेर्नुभएको छ जस्तो लाग्छ। म अफिसबाट घर आउने समय कुर्दै च्यानेल गेटमा कुर्नुभएको छ कि जस्तो लाग्छ तर त्यहाँ आफूलाई एक्लो मान्दै आफ्नो कोठामा पस्ने गर्छु बुवा। हजुरको निकै याद आउछ बुवा। हरेक वर्ष आउने बुवाको मुख हर्ने दिनले अझ भावुक बनाउँछ मलाई।
भदौ महिना २१ गते म र मेरो परविारका लागि कालो दिन हो। हामीले हाम्रो घरको मूली अर्थात् बाबा शब्द भन्न हराएको दिन थियो त्यो। हजुरले हामीलाई छोडेर गएको र को आफ्नो को बिरानो भनी चिनिएको महिनाका रूपमा पनि लिएको छु बुवा ती दिनलाई। हामीले बिर्सन नसक्ने महिना, बाबाको मायाबाट वञ्चित भएको महिना, हरेक उपाय गर्दा पनी हामीले हजुरलाई बचाउन नसकेको महिना, कसरी भुल्न सकिन्छ र यो महिना?
२१ गतेका दिन बिहान उठेर थोरै चिया पिउन उठ् छोरी भनेको अन्तिम दिन हो। छारी मलाई २ पिस बिस्कुट ले त भनी मागेको अन्तिम दिन भदौ २१ गते थियो। कुरा गर्दागर्दै छाराछोरलिाई टुहुरा बनाएर गएको महिना हो। हजुरको मायाबाट वञ्चित छौँ हामी हजुरका सन्तान। सानो छँदा डरमा बाबासँग धेरै रमाउन नपाएर हुर्किएका हामी ठूलो भएपछि बाबाको माया थाहा पाएको केही वर्ष मात्र भएको थियो तर त्यो पनि अधुरै भयो।
हजुरले देखेका सपना पूरा गर्दै छौँ। हजुरको साथ नभए पनि हजुरले डोर्याएको बाटोमा हिँडिरहेका छौँ। मनमा धेरै गुनासा छन्। तर गुनासो पोख्ने बुवा साथमा हुनुहुन्न। घरमा आउँदा हजुरले बाटो हरिरहनुभएको छ जस्तो लाग्छ। आउँदै गरेका मेरा पाइला त्यही रोकिन्छन् जहाँ बसेर मेरो बाटो हरिरहनुहुन्थो। मनका अनेकौँ कुरा लेखेर नसकिने शब्द धेरै नै छन्। बुवा हजुरलाई नसम्झेको कुनै दिन छैन। हजुरले भनेका शब्दहरु हाम्रा लागि एकदमै किम्ती भएका छन बुवा।
बुवाबिनाको संसार कुनै रमाइलो छैन। बिना कारण दोष र दुःख भोग्दाभोग्दै खुसी र सुख के हुन्छ भन्ने पनि भुल्न कुनै समय नै लाग्दो रहेनछ। हजुरले म तिमिहरूको साथमा छु हरेक दिन भन्दिएको भए पनि संसारभरिकै खुसी छोरी हुन्थेँ होला। संसारकै खुसी हुने ती व्यक्ति हुन् जसको साथमा बुवा र आमा हरेक क्षण सँगै हुनुहुन्छ। हजुरबिना आमाको एक्लोपन त्यो एकान्तमा बसी रोएको मैले देखेकी छु।
आज सबैका लागि विशेष दिन, बुवाको मुख हेर्ने दिन। हाम्रा लागि पनि विशेष हुने थियो होला। बुवा आज हजुर हामीबाट निकै टाढा हुनुहुन्छ, के कस्तो छ थाहा छैन जहाँ हुनुहुन्छ त्यहाँ सधैँ खुसी हुनुहोला। बुवाको मुख हेर्ने दिन अब फोटोमा मात्रै समिति रहने भयो। ड्याडी धेरै सम्झना अनि माया!! बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औँसीको सम्पूर्ण बुवाहरूमा धेरै धेरै शुभकामना छ।