‘फोहरबाट मोहर बनाउन चक्रीय अर्थतन्त्रका अवयवहरूलाई समेट्दै आवश्यक कानुन बनाउनुपर्छ’

हिमाल प्रेस ६ भदौ २०८२ २०:५८
18
SHARES
‘फोहरबाट मोहर बनाउन चक्रीय अर्थतन्त्रका अवयवहरूलाई समेट्दै आवश्यक कानुन बनाउनुपर्छ’

काठमाडौँ- फोहरबाट मोहर बनाउन चक्रीय अर्थतन्त्रका अवयवहरूलाई समेट्दै आवश्यक ऐनकानुन बनाउनुपर्ने सरोकारवालाहरूले निष्कर्ष निकालेका छन्।

शुक्रबार स्वच्छ सफा नेपालले काठमाडौँमा आयोजना गरेको ‘फोहोरमैलाबाट चक्रीय अर्थतन्त्र’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा सरोकारवालाहरूले फोहरमैलाबाट चक्रीय अर्थतन्त्र निर्माणको ठूलो सम्भावना भएकाले यसलाई तीनै तहका सरकार, निजी क्षेत्र, सार्वजनिक क्षेत्रले अवलम्बन गर्दै जाने गरी कानुन परिमार्जन गर्न पहल गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।

उनीहरूले फोहरमैलासम्बन्धी वर्तमान ऐन कानुनहरू संघीय संरचना अनुरुप बनाउन जरुरी रहेको, कानुनमै फोहरमैला उत्सर्जन र व्यवस्थापनमा समुदाय, नागरिक संघसंस्था, निजी क्षेत्रको भूमिका थप स्पष्ट गर्नुपर्नेलगायतका निष्कर्षहरू पनि निकालेका छन्।

कार्यक्रममा संघीय सांसदहरू, नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका प्रतिनिधि, सहरी विकास मन्त्रालय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, फोहोर संकलन कम्पनी, पत्रकार र सरोकारवालालगायतको उपस्थिति थियो।

कार्यक्रममा डा. ढुण्डीराज पाठकले ‘चक्रीय अर्थतन्त्र निर्माणमा फोहोरमैला व्यवस्थापनको भूमिकाः विश्व अनुभव र स्थानीय चुनौती’ विषयमा प्रस्तुति दिएका थिए। त्यस्तै सहरी विकास मन्त्रालयका वरिष्ठ प्राविधिक इन्जिनियर महेशबहादुर सिंहले ‘फोहोरमैला व्यवस्थापनमा नेपाल सरकारको नीतिगत पहल, योजना, चुनौती र समाधान’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा चक्रीय अर्थतन्त्र प्रवर्द्धनका लागि कानुन संशोधन, जैविक रुपले सजिलै गल्ने वा पुनः चक्रीय प्रयोग गर्न मिल्ने प्याकिङ सामग्रीको उत्पादन, प्रयोग र बजारीकरणलाई प्रवर्धन गर्न थप व्यवस्था गर्ने, फोहरमैला उत्पादक दायित्वलाई सुदृढ नीतिगत व्यवस्थामार्फत प्रभावकारी कार्यान्वयनमा ल्याइने, स्थानीय तहको फोहरमैला व्यवस्थापन सम्बन्धी स्थानीय नीति निर्माण, सहजीकरण, नियमन गर्ने अधिकारको सुनिश्चित गर्न नीतिगत स्पष्टता, आवश्यक ज्ञान, प्रविधि, संरचनागत व्यवस्था र श्रोतसाधन मार्फत सुदृढ गर्न पहल गरिनेलगायत ६ वटा प्रतिबद्धता गरिएको छ।

प्रकाशित: ६ भदौ २०८२ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast