छिमेकी राष्ट्रबाट भएको हस्तक्षेप स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल

हिमाल प्रेस ६ भदौ २०८२ २०:३९
12
SHARES
छिमेकी राष्ट्रबाट भएको हस्तक्षेप स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लिपुलेकबाट सीमापार व्यापार गर्नेबारे भारत र चीनबीच भएको द्विपक्षीय सम्झौतालाई अस्वीकार गर्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) एकता सभालाई सम्बोधन गर्दै उनले दुई देशबीच हालै सम्पन्न सम्झौताले नेपाली भूमिमाथिको अतिक्रमण तथा देशको स्वतन्त्रतामाथि छिमेकी राष्ट्रबाट भएको हस्तक्षेप स्वीकार्य नहुने बताए।

मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि थिचोमिचो भएकाले उक्त कार्यविरुद्ध सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले समस्या समाधानका लागि सरकारले दुवै छिमेकीहरूसँग कूटनीतिक तहमा वार्ता गर्नुपर्ने उल्लेख गरे।

मुलुकको राष्ट्रियता बलियो बनाउन वामपन्थी शक्तिबीचको ध्रुवीकरण अपरिहार्य रहेको बताउँदै उनले आफ्नो पार्टीले अङ्गीकार गरेको नीति तथा कार्यक्रमका कारण मूलधारको कम्युनिष्ट पार्टी भएको दाबी गरे।

देशमा विद्यमान सामाजिक विभेदको अन्त्यगरी जनतालाई गरिबी, पछौटेपनबाट मुक्त गराउन सकिने विचार व्यक्त गर्दै अध्यक्ष नेपालले समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन गर्नुपर्ने बताए।

उनले हिंसा, अन्याय, अत्याचार, विषमता सामाजिक रुपान्तरणका बाधक रहेकाले सामाजिक न्याय, समानता, न्यायोचित वितरण प्रणालीका आधारमा आर्थिक विकास गर्न समाजवादी व्यवस्था उपयुक्त रहेको विचार व्यक्त गरे।

अध्यक्ष नेपालले समाजवादी क्रान्तिलाई पूरा गर्न कम्युनिष्ट पार्टीका भूमिकाबारे प्रकाश पार्दै संगठन विस्तारका लागि सही कार्यदिशा निर्माण गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast