
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय-अन्तर्गतको संस्कृत केन्द्रीय विभागमा शुक्रबार ‘पुरस्कार तथा कृतज्ञताज्ञापन कार्यक्रम’ भव्यतापूर्वक सम्पन्न भएको छ। विभागका उप-प्राध्यापक रोहिणीराज तिमिल्सिनाका अनुसार कार्यक्रम विशेषतः ललितपुर महानगरप्रति कृतज्ञता अर्पण गर्नुका साथै योगविज्ञान अधिस्नातक (PGD) तहमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीको सम्मानमा केन्द्रित थियो।
समारोहको थालनी अतिथिहरूलाई रुद्राक्ष, खादा र ब्याचद्वारा सम्मान गर्दै दीपप्रज्ज्वलन र वैदिक मन्त्रपाठबाट गरिएको थियो। त्यसपछि राष्ट्रियगान, चौथो सत्रका शोधच्छात्र सुमन चालिसे-लगायतद्वारा मन्त्रवाचन, डा. क्षितिज बराकोटीको स्वागतसम्बोधन र दोस्रो सामिसत्रका अनिल थापाद्वारा प्रस्तुत स्वागतभजनले कार्यक्रमलाई थप औपचारिकता दिएको थियो। त्यस्तै टङ्कप्रसाद पन्थी, मीना राउत, कविता पाठक, विकला घिमिरे, सुमन आचार्य, सिर्जना श्रेष्ठ, आरति ढकाल र ज्ञानु घिमिरेलगायतले योग-नृत्य र योगिक आसनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए।
कार्यक्रममा PGD २०७९/८० को प्रथम र द्वितीय सामिसत्रका उत्कृष्ट एक-एक विद्यार्थीलाई जनही रु. ५०,००० को पुरस्कार ललितपुर महानगरको तर्फबाट प्रदान गरिएको थियो। प्रथम सत्रकी सर्वोत्कृष्ट अन्जु श्रेष्ठ र द्वितीय सत्रका उत्कृष्ट सनतकुमार न्यौपानेलाई प्रमुख अतिथि, प्रमुख अभिभावक तथा सभाध्यक्षले संयुक्त रूपमा सम्मान गरेका थिए। दुवै पुरस्कृतले धन्यवादज्ञापन गर्दै विभागीय अभ्यास-केन्द्रित कार्यक्रमले पाएको सामुदायिक सहकार्यबारे आफ्ना अनुभव व्यक्त गरेका थिए।
कार्यक्रममा मेयर चिरीबाबु महर्जन र ललितपुर महानगरपालिकाप्रति कृतज्ञतापत्र अर्पण गरिएको थियो भने नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्याललाई विभागकै तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो।
ललितपुर महानगरलाई अर्पण गरिएको कदरपत्र सभाध्यक्ष एवं प्रमुख अभिभावक उपकुलपति डा. नारायणप्रसाद गौतमबाट हस्तान्तरण गरिएको थियो, जसको वाचन उप-प्रा. रोहिणीराज तिमिल्सिनाले गरेका थिए। यस्तै उपकुलपति अर्याललाई कृतज्ञतापत्र प्रमुख अतिथि महर्जन र सभाध्यक्षबाट संयुक्त रूपमा अर्पण गरिएको थियो भने सम्मानपत्रको वाचन उद्घोषक आफैँले गरेका थिए।
उपकुलपति प्रा. डा. दीपक अर्यालले पूर्वीय ज्ञान-विज्ञानको अध्ययन-अध्यापनलाई सुदृढ बनाउन विभागलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विभागीय पूर्वाधार, अनुसन्धान-उन्मुख गतिविधि र कार्यक्रम गुणस्तरमा संस्थागत सहयोग विस्तार गर्ने घोषणा गरे। उनले पूर्वीय अध्ययनलाई समसामयिक आवश्यकतासँग जोड्दै अघि बढाइने पनि बताए।
मेयर महर्जनले विश्वविद्यालय, महानगर र समुदायबीचको सहकार्यलाई दीर्घकालीन बनाई योगिक विज्ञानका दक्ष जनशक्तिको उत्पादनमा निरन्तर लगानी गर्ने विचार व्यक्त गरे। उनले ललितपुर महानगरले संस्कृत विभागमा ३१ जनालाई प्रदान गरेको छात्रवृत्तिबाट उत्पादन भएको जनशक्तिले ‘योगमय ललितपुर’को निर्माणमा महत्त्वपूर्ण योगदान दिएकोमा सन्तोष व्यक्त गरे।
कार्यक्रममा स्नातकोत्तर तहका छात्राहरू डा. सरु महर्जन, ज्ञानु घिमिरे र एलिसा शाहीले नेवारी नृत्य प्रस्तुत गरे भने तेस्रो सामिसत्रबाट जीना श्रेष्ठलगायतले यौगिक प्रस्तुति दिएका थिए। विद्यार्थी प्रतिनिधि ज्ञानभक्त डङ्गोलले विभागीय अध्ययन-अध्यापन र अभ्यासमूलक कार्यक्रमप्रति विद्यार्थीको अनुभव र अपेक्षा प्रस्तुत गरेका थिए।
समारोह प्रा. डा. नारायणप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन उपप्राध्यापक गोविन्द घिमिरेले गरेका थिए। ‘पूर्णमदः पूर्णमिदम्…’ मन्त्रपाठसँगै कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरिएको थियो।