
काठमाडौँ- नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उनले राजीनामा बुझाएका हुन्।
आफूमाथि लगाइएको मुद्दाका सन्दर्भमा अदालतको निर्णय आएकाले पार्टीको जिल्ला सभापति पदबाट राजीनामा दिएको सिंहले बताएका छन्।अदालतले गरेको निर्णयले आफूलाई अन्याय गरेको भए पनि निर्णय स्वीकार गरेको उनले उल्लेख गरेका छन्।
‘पछिल्लोपटक ममाथि लगाइएको मुद्दाको सन्दर्भमा सम्मानित अदालतले निर्णय गरेको अवस्था छ। सम्मानित अदालतले गरेको निर्णय मान्ने मेरो कर्तव्य हो। तर, उक्त निर्णयले मलाई अन्याय गरेको मेरो ठहर छ,’ राजीनामापत्रमा सिंहले लेखेका छन्,‘ममाथि भएको अन्यायको म व्यक्तिगत रूपमा मेरो कानुनी लडाइँ लिडरहनेछु। साथमा मेरो राजनीतिक लडाइँ जारी नै रहनेछ।’
अदालतको निर्णय, नेपालको प्रचलित कानुन र पार्टीको विधानबमोजिम आफू सभापतिको जिम्मेवारीमा निरन्तर रहने अवस्था नरहेकाले पदबाट राजीनामा दिएको उनले जिकिर गरेका छन्।
दुई कार्यकाल सर्लाही कांग्रेसको उपभापति भएका सिंह २०७८ फागुन २९ गते जिल्ला सभापतिमा निर्वाचित भएका थिए। सिंह कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। सिंहलाई विशेष अदालतले २०७१ पुस २५ गते मनुसमरा सिँचाई आयोजना क्षेत्रको रूख कटानसम्बन्धी मामिलामा भ्रष्टाचार ठहर गरेको थियो।
त्यसपछि उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विशेषबाट मागदाबीभन्दा कम सजाय भएको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको थियो।
सिंह र अख्तियार दुवै सर्वोच्च पुगेपछि करिब १० वर्षसम्म मुद्दा अड्किएको थियो। अख्तियारको दाबीलाई खारेज गरेको सार्वोच्चले विशेषले गरेको सजाय र जरिवाना केही घटाए पनि सिंहलाई दोर्ष ठहर गरेको थियो। यो मुद्दामा सर्वोच्चले २०८० फागुन १५ गते आफ्नो फैसला सुनाएको थियो।
विशेषले अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै त्यो बेला ठेकेदार रहेका सिंह र अर्को ठेकेदार अमिरीराय यादवलाई जनही १ करोड २३ लाख ६०४ रुपैयाँ जरिवाना र ९ महिना कैद हुने फैसला गरेको थियो। सर्वोच्चले त्यही फैसलालाई केही मात्रामा सदर गरेको थियो।
सिंह र यादवले मनुसमारा सिँचाई आयोजना सञ्चालन गर्दा रूखहरूका कारण समस्या भएको भन्दै त्यस आयोजना वरपरका १८ हजारभन्दा बढी सालका रूख कटान गरेर भारततर्फ बेचेको आरोप लागेको थियो।
रूख कटान गरी बेचेपछि आम्दानी भएको रकममध्ये केही सरकारी खातामा जम्मा गरिएको थियो। तर, उक्त आम्दानीको अधिकांश रकम दुवैजनाले आफैँ लिएर भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता भएको थियो।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि कांग्रेसकै अर्को समूहले सिंहलाई राजीनामा दिन पटक–पटक दबाब दिइरहेको थियो। सिंहको राजीनामाको माग गर्दै उनीहरूले कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना समेत दिएका थिए।