
काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका सांसद एनपी साउदले विद्यालय शिक्षा विधेयकमा देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गरेर अगाडि बढाउन माग गरेका छन्।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै विधेयक सबैलाई स्वीकार्य हुने गरी अगाडि बढाउन आवश्यक रहेको बताए।
‘शिक्षा क्षेत्रको समग्र सुधारबिना मुलुकको समृद्धि सम्भव हुँदैन। त्यस कारण यो विषयमा सरकार गम्भीर हुन जरुरी छ। शिक्षा विधेयकले संघीय संरचनाअनुसार विद्यालय शिक्षालाई कानुनी रूपमा व्यवस्थित गर्दै आधारभूत शिक्षा सुनिश्चित र निजी विद्यालय नियमन गर्ने लगायतका प्रावधानहरू सकारात्मक छ,’ उनले भने।
विगतमा सरकारले गरेका सम्झौताहरूको बेवास्ता गरी अगाडि बढाउँदा व्यापक असन्तुष्टि देखिएको उनको भनाइ छ। २० औँ वर्षदेखि कार्यरत अस्थायी प्रकृतिका राहत, साविक उच्च मावि, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर्ने दायित्वबाट सरकार पन्छिन खोजेको बताए।