
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकमा विगतका सहमतिहरू पूर्णरूपमा समेटिन नसकेको भन्दै पुनःआन्दोलनमा जाने घोषणा गरेको छ। अबको आन्दोलन ‘डरलाग्दो आँधी’ मा परिणत हुने महासंघले चेतावनी दिएको छ।
महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७५, २०७८, २०८० र २०८१–८२ मा भएका आन्दोलन र त्यस क्रममा भएका सहमतिहरूको कार्यान्वयन अझै अपूर्ण रहेको दाबी गरेको छ।
२०८२ वैशाख १७ गते भएको सहमतिअनुसार मन्त्रिपरिषद्बाट पारित ९ बुँदे निर्णयसमेत कार्यान्वयन नभएको महासंघले जनाएको छ। हाल प्रतिनिधिसभामा पुगेको विधेयकका धेरै दफामा विगतका सहमतिलाई सम्बोधन नगरेको महासंघको भनाइ छ।
समितिको प्रतिवेदनमा शिक्षकको निवृत्तीभरण, प्रधानाध्यापकको व्यवस्था, विद्यालय व्यवस्थापन समिति गठनलगायत केही विषयमा प्रगति देखिए पनि अस्थायी शिक्षकको स्थायीत्व, गोल्डेनह्याण्डसेक रकम, आवधिक बढुवा, अध्यापन अनुमतिपत्र म्याद थप, विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको सेवा सुविधा, संस्थागत विद्यालयका शिक्षकको पेसा सुरक्षा, सरुवा प्रणाली, राष्ट्रिय क्याडर रूपान्तरणलगायतका विषय सम्बोधन नभएको महासंघले बताएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले उक्त विषय विधेयकमा समावेश नभएसम्म विधेयक अधुरो हुने र गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्न सम्भव नहुने बताए।
त्यसैगरी, २०८२ भदौ ११ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने महासंघले घोषणा गरेको छ। पहिलो चरणमा प्रतीकात्मक कार्यक्रम सार्वजनिक गरिएको र आवश्यक परे आन्दोलन ‘डरलाग्दो आँधी’ बन्न सक्ने चेतावनी समेत महासंघले दिएको छ।
महासंघले सबै शिक्षक कर्मचारीलाई आन्दोलनलाई सफल बनाउन आह्वान गर्दै सहमति कार्यान्वयनप्रति सरकारलाई इमान्दार बन्न आग्रह गरेको छ।