
काठमाडौँ- गीत, कविता र व्यंग्यमार्फत कर्णालीको व्यथा उजागर गरिएको छ। सिस्नुपानी नेपालले ‘जुरुक्क कर्णाली’ नाम दिएर बिहीबार राजधानीमा कार्यक्रम आयोजना गरेको हो। कर्णालीको यथार्थ पक्षलाई उजागर गर्न ‘यता हेर्यो यतै स्वर्ग, उतै स्वर्ग जस्तो । कहिले लाग्ला कर्णालीलाई देशमै छु म जस्तो ’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्।
कार्यक्रममा कर्णालीको व्यथामा टंक आचार्य र धीरेन्द्र प्रेमर्षिले गीत गाए। बबिता बिस्टले गजल सुनाइन्। लक्ष्मण गाम्नागेले कविता सुनाए। ‘जदौ हजुर’ ब्यान्डले मयूरनाच देखाए। हास्य कलाकार सुवोध गौतमले कर्णालीको विषयमा हुने राजनीतिक खेलबाडबारे मित्रबहादुर जैसी बनेर व्यंग्य गरे।
कवि अर्जुन पराजुलीले कर्णालीकै समस्या र अभाव समेटेर कविता प्रस्तुत गरे। कवितामा उनले देशमा नेताहरूबिच देश बनाउने भन्दा पनि देश कसले डुबाउने भनेर प्रतिस्पर्धा चलिरहेको, कर्णालीमा जडीबुटी भए पनि सिटामोल अभाव, सुनखानी-फलामखानी भेटिए पनि त्याहाँका बासिन्दाको मुखमा लगाउने माड नभएकोजस्ता समस्या शब्दमार्फत प्रस्तुत गरे।
‘काम न काजको प्रस्तुति’ मा एआई चक्रप्रसाद दवाडीको अडियो कुरानीलाई आगन्तुकले भरपूर मनोरञ्जन लिए। एआई बनेका थिए हास्यकलाकार मनोज गजुरेल। काम नभएपछि एआईसँग जिस्किन चक्रसँग रघु त्रिपाठी पनि जोडिए। उनीहरूले राजनीतिसँगै कर्णालीका विषयमा पनि व्यंग्य गरे। एआईसँग धेरै नै जिस्किएपछि मनोज गजुरेल पर्दामै झुल्किए।
कार्यक्रममा कर्णालीको कथा समेटिएको ‘जुरुक्क उठ्छ कर्नाली’, ‘मान्ठ हुँ म मान्ठ हुँ म मान्ठ जुर्मुराउँछ’ ‘कर्नाली पारी, छैन खेतबारी,’ बोलको गीतले सबैलाई ध्यानाकर्षित गरको थियो। जसरी कर्णालीलाई गीत, समाचार, पुस्तक र फिल्ममा देखाइन्छ, वास्तवमा कर्णाली त्यस्तो नरहेको र भोको र गरिबी नभई समृद्ध रहेको भन्दै कार्यक्रम प्रस्तोता सरोज घिमिरेले कार्यक्रमलाई बिट मारे।
मन्त्री, सांसद, नेता, उच्चपदस्थ कर्मचारी, कलाकार र पत्रकारहरूले भरिएको हलमा कर्णाली के हो र के होइन भन्नेबारे हास्यव्यंग्य र यथार्थ समेटिएको गीत, गजल, कविता, प्रस्तुति सुनेर सहभागी गम्भीर देखिन्थे।
प्रमुख अतिथि प्रधानमन्त्री ओलीले कार्यक्रमको शीर्षक जसरी कर्णाली पनि अब जुरुक्क उठ्दै गरेको बताए। उनले कर्णालीमा विगतझैँ अभाव नरहेको र सुधार भइरहेको उल्लेख गरे। ‘कर्णालीमा हामीले विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रंगशाला आदि बनाइसकेका छौँ,’ उनले भने, ‘कर्णालीको स्याउले अब बजार पाउँछ। अब सबै सदरमुकामसहित हुम्लामा कालोपत्र बाटो पनि जान्छ। हामी सबै सकारात्मक हुनुपर्छ। ‘मोटरबाटो चढी जाउँला रारा घुम्न’ जस्ता गीत अब यथार्थ भइसकेका छन्।’
कर्णालीकै अध्येता माधव चौँलागाईंले कार्यक्रममा कर्णालीको उत्पत्तिदेखि अहिलेसम्मको अवस्थालाई तथ्यसहित प्रस्तुत गरेका थिए। अझै पनि १८/१९ शताब्दीका शिला कर्णालीमा भेटिने भन्दै उनले नेपाली भाषाको उत्पत्ति, खस भाषा, बाइसी राज्य, त्यसपछिको प्रजातन्त्रसम्मको वृतान्त प्रस्तुत गरे। कर्णालीमा सामाजिक र सांस्कृतिक भूमि र संस्कृतिले भरिपूर्ण भए पनि सुविधाको पँहुच अझै कमी रहेको उनले औँल्याए।
उनले न्यून बजेटदेखि छाउपडी प्रथा, स्वास्थ्य, शिक्षा, रोजगारी, उपादकत्वमा भएको कमी कमजोरीलाई देखाउँदै कर्णाली अझै गरिबी र अभावकै घेरामा रुमलिरहेको आशय व्यक्त गरे। ‘ठूलो कर्णाली अहिले लुलो कर्णाली भएको छ। समस्यासँगै भूगोल र भाग्यले पनि कर्णालीलाई ठगेको भन्ने भनाइ छ। अब त्याे भन्ने युग सकिएको छ’, उनले अन्तिममा भनेका थिए।