
काठमाडौँ- आजदेखि हलमा ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ गरी तीन फिल्म प्रदर्शन भइरहेको छ। भिन्न विधाका तीन फिल्मले दर्शक तान्ने फिल्मकर्मीको विश्वास छ ।
फिल्म ‘माग्ने राजा’ मा एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई देखाइएको छ। फिल्ममा ‘माग्ने बुढा’ को उपनामले चिनिएका कलाकार केदारप्रसाद घिमिरे शीर्ष भूमिकामा छन्। आफूलाई नै हेरेर लेखेकले पात्र र फिल्मको कथा तयार गरेको लागेपछि फिल्ममा काम गरेको कलाकार घिमिरेले बताए।
उनले भने, ‘यो पात्र मसँग जोडिएको छ। मलाई नै हरेर तयार गरिएको जस्तो छ। मलाई सधैँ सहायक भूमिकामा देख्ने र फिल्मभर देखिँदा कस्तो हुन्छ भन्ने दर्शकका लागि यो फिल्म खास छ। फिल्म हास्यसँग मात्र जोडिएको छैन, एउटा गहन विषय उठाइएको छ।’
फिल्ममा कलाकार घिमिरेसँगै वर्षा शिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देललगायत कलाकारको अभिनय छ। मुनाल घिमिरेले निर्माण गरेको फिल्मका निर्देशक ऋषि लामिछाने हुन्।
अर्को फिल्म ‘ताराहरू’ मा किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको छ। फिल्म दश दशकभन्दा बढी समयदेखि रंगकर्मीका रुपमा चिनिएका आशान्त शर्माले निर्देशन गरेका छन्। फिल्ममा मृत्यु कल्पेर हिँडेको युवकले एक अधवैँसे महिला भेटेपछि उहाँको आँखामा भरिने सपना र आशासँगै आउने खुसीलाई फिल्मको विषय बनाइएको छ।
रंगमञ्चमा मात्र देखाइरहँदा कथाले न्याय नपाएको महसुस गरेपछि कलाकार शर्माले फिल्ममा रुपान्तरण गरेको बताए। ‘नाटक मञ्चन गरेपछि यसलाई धेरै ठाउँमा देखाउन रंगकर्मीले सुझाव र्दिए। केहीले ‘युट्युब’मा राख्नसमेत सुझाए, तर नेपालभर नाटक लिएर यात्रा गर्न सम्भव थिएन। नाटकका कलाकार सबैको समय मिलिरहेको थिएन, युट्युबमा ल्याउँदा मलाई मर्म मर्छ भन्ने लाग्यो’, शर्माले भने, ‘साथी, साथी आइदेऊ न’ नाटकको कथा धेरैसम्म पुग्नुपर्छ भन्ने सोचेर नै मैले यसलाई फिल्मको माध्यममा ल्याएको हुँ।’
फिल्ममा कलाकार शर्मासँगै मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाल, कबिर काफ्कालगायत कलाकारको अभिनय गरेका छन्।
अर्को तेस्रो फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ अभिनेता विजय बरालको कारण चर्चामा छ । उनले यसअघि मुख्य भूमिका रहेको ‘पूर्णबहादुरको सारङ्गी’ ले पाएको सफलतासँगै दर्शकसँगै फिल्मकर्मीका लागि प्रतिक्षित छ। फिल्म अभिनेता बरालमै केन्द्रीत छ। अभिनेता बरालले आफ्नो बुबाको सपना पूरा गर्ने उद्देश्य बोकेको पात्रलाई पर्दामा बाँचेको बताए।
हिमाल न्यौपानेको निर्देशनमा बनेको फिल्ममा अभिनेता बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनाली, भोलाराज सापकोटा, रेयर राईलगायतका कलाकारले अभिनय छ। फिलमको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।