
म्याग्दी- राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत आर्थिक वर्ष २०८१/८२ मा म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतमा थप २३ हेक्टरमा सिंचाइ सुविधा विस्तार भएको छ।
सिंचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रममार्फत ५९ वटा साना सिंचाइ योजना भएका परियोजना कार्यान्वयन एकाइले जनाएको छ। परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले पानी संकलन गर्ने पोखरी, नहर निर्माण र पाइपलाइन जडानका लागि कूल लागतको ८५ प्रतिशतका दरले ९३ लाख ८१ हजार अनुदान वितरण गरिएको जानकारी दिए।
बेनी, बागलुङ नगरपालिका, काठेखोला, मंगला, रघुगंगा, अन्नपूर्ण र जलजला गाउँपालिकामा सुन्तला, थासाङको ३, ४ र ५ बाहेक मुस्ताङको २२ वटा वडामा स्याउ, म्याग्दीको छ वटै पालिकामा बंगुर, मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्यांग्रा ‘जोन’ लागू भएको छ।
म्याग्दीको अन्नपूर्णको सबै वडा, रघुगंगाको ५, ६, ७, ८ र बेनी नगरपालिकाको १० नम्बर वडा मुस्ताङको सबै क्षेत्रमा आलु जोन लागू भएको छ।
सुन्तला, स्याउ, आलु, च्यांग्रा र बंगुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका स्थानका किसानलाई चिस्यान गृह, फलफूल प्रशोधन, कृषि उपकरण, साना सिंचाइ, नर्सरी स्थापना, गोठ सुधारका लागि गत आर्थिक वर्षमा दुई करोड ९२ लाख १६ हजार अनुदान वितरण गरिएको थियो।