नेपालले दाबी गरिरहेको लिपुलेकबाट व्यापार सञ्चालन गर्न भारत-चीन सहमत

हिमाल प्रेस ४ भदौ २०८२ १७:१५
38
SHARES
नेपालले दाबी गरिरहेको लिपुलेकबाट व्यापार सञ्चालन गर्न भारत-चीन सहमत

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका परराष्ट्रमन्त्री वाङ यीसँग भेट गरेपछि आफू सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी हुन चीन जाने जानकारी दिएका छन्। प्रधानमन्त्री मोदीले चीनका मन्त्री वाङसँग मंगलबार नयाँदिल्लीमा भेटेका हुन्।

यसअघि वाङले मंगलबारै भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालासँगको भेटमा पनि मोदीले यो महिनाको अन्त्यतिर चीन भ्रमण गर्ने पुष्टि गरेका थिए। सात वर्षपछि हुने यो मोदीको पहिलो चीन यात्रा हो। यस क्रममा उनको चीनका राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यो भेटप्रति धेरैको ध्यान केन्द्रित छ।

अन्तिमपटक मोदी र जिनफिङको भेट अक्टोबर २०२४ मा कजानमा भएको ब्रिक्स सम्मेलनमा भएको थियो। त्यतिबेला प्रधानमन्त्री मोदीले आपसी मतभेद र विवादलाई सही तरिकाले व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए। शान्ति र स्थिरता भंग नहोस् उनको भनाइ थियो। एससीओ बैठक अगस्त ३१ देखि सेप्टेम्बर १ सम्म हुनेछ जसमा कम्तीमा २० मुलुकका प्रतिनिधि सहभागी हुनेछन्।

मोदीले के भने?

वाङसँगको भेटपछि मोदीले सामाजिक सञ्जालमा ‘चीनका परराष्ट्रमन्त्री वाङ यीसँग भेट्दा खुसी लाग्यो। गत वर्ष कजानमा राष्ट्रपति सी जिनफिङसँग भएको भेटपछि भारत-चीनसम्बन्ध आपसी हित र संवेदनशीलताको सम्मान गर्दै निरन्तर प्रगतिमा छ’ उल्लेख गरेका छन्। उनले भारत र चीनबीच स्थिर, विश्वासिलो र रचनात्मक सम्बन्धले क्षेत्रीयमात्र नभई विश्व शान्ति र समृद्धिमा पनि ठूलो योगदान दिने बताएका छन्।

‘म तियान्जेनमा हुने एससीओ शिखर सम्मेलनमा हाम्रो अर्को भेटको प्रतीक्षा गरिरहेको छु। भारत र चीनबीच स्थिर, विश्वासिलो र रचनात्मक सम्बन्धले क्षेत्रीयमात्र नभई विश्व शान्ति र समृद्धिमा पनि ठूलो योगदान दिनेछ,’ मोदीले भनेका छन्।

मोदीको चीन भ्रमण किन महत्त्वपूर्ण?

गलवानमा भएको घटनापछि सीमा विवाद पूर्ण रूपले समाधान नभएकै अवस्थामा मोदीको चीन भ्रमण हुन लागेको हो। अर्कोतर्फ भारत-पाकिस्तानबीच हालैको द्वन्द्वमा चीनले पाकिस्तानलाई सहयोग गरेको आरोप छ। यता अमेरिकाले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएको छ भने चीनलाई छुट दिएको छ।

सन् २०२० मा पूर्वी लद्दाखको गलवानमा भएको हिंसात्मक झडपमा भारतका २० सैनिकसहित चीनका केही सैनिक मारिएका थिए। त्यसपछि सीमा विवाद समाधान गर्न दुवै देशबीच छलफल भएको थियो। केही प्रगति भए पनि छलफल अझै जारी छ। यही सन्दर्भमा वाङ विशेष प्रतिनिधिहरूको बैठकमा सहभागी हुने भारत पुगेका हुन्।

वाङले चाँडै पाकिस्तान भमण गर्ने कार्यक्रम रहेको र त्यहाँ उच्च तहका नेताहरूसँग भेटेर चीन-पाकिस्तान मन्त्रीस्तरीय रणनीतिक बैठकमा सहभागी हुने तय भएको छ।

अमेरिका-भारत भन्सार शुल्क विवाद

अमेरिकाले भारतीय सामानमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएको छ, जसको कार्यान्वयन अगस्त २७ बाट सुरु हुनेछ। भारतलाई कुनै छुट दिइएको छैन तर चीनलाई भने अमेरिकाले छुट दिइएको छ। अगस्त १२ मा चीनमाथि लाग्ने शुल्कको अवधि सकिनुअघि नै अमेरिका र चीनबीच पारस्परिक सहमतिमा ९० दिनका लागि स्थगित गरिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई रूसबाट तेल किनेर युक्रेन युद्धमा सहयोग गरेको आरोप लगाएका छन्। त्यसैले भारतमाथि थप शुल्क लगाइएको हो।  चीन रूसको ठूलो व्यापारिक साझेदार भए पनि उसमाथि भारतभन्दा कम भन्सार शुल्क लगाइएको छ।

बैठकमा के भयो?

सीमा मामिला विशेष प्रतिनिधिहरूबीचको २४ औँ बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमामा शान्ति र सुधार भएको बताए। ‘शान्ति र सौहार्द कायम भएको छ, हाम्रो द्विपक्षीय सम्बन्ध अझ मजबुत भएको छ। गत वर्ष अक्टोबरमा कजानमा भएको सहमति लाभकारी भएको छ। यसले विभिन्न क्षेत्रमा अघि बढ्न सहयोग गरेको छ,’ उनले भने।

बैठकमा चिनियाँ परराष्टमन्त्री वाङले पनि अघिल्ला वर्षहरूमा दुवै देशले धक्का व्यहोरेको र त्यो दुवैका हितमा नभएको बताए। उनले भने,‘अब सीमामा स्थिरता फर्किएको छ। भारत-चीनबीचको राम्रो सम्बन्ध दुवै देशका दीघकालीन हितमा छ।’

यसअघि अगस्त १८ मा भारतीय परराष्ट्रमन्त्री एस जयशंकर र वाङबीच भेट भएको थियो। त्यतिबेला जयशंकरले सम्बन्धमा समस्या देखिए पनि अब दुवै देश अगाडि बढ्न चाहेको र त्यसका लागि स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताएका थिए।

व्यापार पुनः सुरु गर्ने तयारी

सन् २०२० को गलवान झडप र कोरोना महामारीपछि रोकिएका व्यापार दुवै देशले पुनः सुरु गर्ने भएका छन्। यसमा विशेषगरी लिपुलेक, हिमाचल प्रदेशको सिप्की ला र सिक्किमको नाथु ला मार्ग सामेल छन्। वाङको भारत भ्रमणका क्रममा यी तीनवटै मार्गबाट पुनः व्यापार सञ्चालन गर्ने सहमति भएको हो। ‘दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथु ला गरी तीन व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः सञ्चालन गर्न सहमत भएका छन्’, सहमतिमा उल्लेख छ।

भारत र चीन व्यापार गर्न सहमत भएको लिपुलेक मार्ग भने आफ्नो भूभाग रहेको नेपालको दाबी छ। झन्डै पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा परिवर्तन गर्दै लिपुलेकलाई नेपाली भूभागमा समावेश गरेका थिए। उनले नक्सा परिवर्तन गर्ने सरकारको प्रस्तावलाई सबै दलले समर्थन जनाएका थिए।

नक्सामा लिपुलेक नेपाली भूभागमा राखिए पनि वास्तविक रूपमा यसमाथि अझै भारतको नियन्त्रण छ। नेपाल सरकारको यो निर्णयप्रति भारतले आपत्तिसमेत जनाएको थियो। भारतले गत वैशाखमा कैलाश मानसरोवर यात्राको घोषणा गरेको थियो। अगस्तसम्म चल्ने कैलाश मानसरोवर यात्राका लागि भारतले लिपुलेक र सिक्किमको नाथुला पास मार्ग तय गरेको थियो। लिपुलेकलगायतका मार्गबाट कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सहमति दुवै देशबीच गत वर्ष माघमा भएको थियो।

लिपुलेकमार्फत व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनबीच सहमति जुटेकै बेला प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै छन्। भारतीय विदेश सचिव विक्रम मिसरीले हालसालै गरेको दुई दिने नेपाल भ्रमणका क्रममा ओलीलाई भारत भ्रमणको निम्तो दिएका हुन्।

औपचारिक निम्तो आएसँगै दुवै पक्ष भ्रमणको मिति र एजेन्डा तय गर्न जुटेका छन्। नेपालका तर्फबाट यसअघि पनि भएका भ्रमणहरूमा सीमा विवादको विषय उठे पनि ठोस हल निस्कन सकेको छैन। लिपुलेक मार्गमार्फत भारत र चीन व्यापार गर्न सहमत भएको बेला हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमणमा यो छलफलको विषय बन्ने वा नबन्ने चासोको साथ हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast