
काठमाडौँ- फिल्म ‘जनै हराएको मान्छे’ मा आफूले भाइकाे जीवन सुधार्न आफूले पतिबाट दमन सहेकाे अभिनेत्री केकी अधिकारीले बताएकी छन्। फिल्ममा उनी विजय बरालको दिदी बनेकी छन्।
केकीले फिल्ममा आफू सानो उमेरमै ठूलो सपना बोकेर काठमाडौँ आएकी गाउँले युवतीको भूमिकामा रहेको बताएकी छन्। साथै, उनले भाइको जिन्दगीले लय समातोस् भनेर आफू पतिको दमन सहेर बस्ने दयालु दिदीकाे भूमिकामा रहेकाे पनि खुलाएकी छन्।
फिल्मको ट्रेलरमा पनि उनी भाइका लागि आफ्ना सपना बिर्सिने पात्रकाे रूपमा देखिएकी छन्। ‘मेराे पात्रले आफ्नो दुःख लुकाएर अरूको खुसीका लागि जिउँछ। उनी आफू अँध्यारोमा बसेर अरुलाई उज्यालो दिने साेच भएका व्यक्ति हुन्’ उनले भनिन्।
जब भाइले उनी घरेलु हिम्सा सहेर बसिरहेको थाहा पाउँछ, तब त्यसको प्रतिकार गर्न खोज्दा उनले भाइलाई कराएकाे दृश्य ट्रेलरमा पनि समेटिएकाे छ।
‘समय र पस्थितिले उसलाई यस्तो मोडमा लिएर जान्छ, जहाँ मलाई मेरो सपना नै याद छैन। त्यस्ता धेरै महिला आज काठमाडौँमा हुनुहुन्छ,’ केकी भन्छिन्, ‘त्यस्ता महिलामध्ये एक महिलाको पात्र मैले यो फिल्ममा अभिनय गरेकी छु।’ फिल्म यही भदौ ६ देखि प्रदर्शन हुँदैछ।
फिल्ममा केकी र विजयसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ।