
सिन्धुपाल्चोक- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताएका छन्।
आज (मंगलबार) यहाँ आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै उनले त्यही मान्यताका साथ राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको बताए।
महासचिव पोखरेलले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको उल्लेख गर्दै एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन नेता–कार्यकर्तालाई आह्वान गरे। उनले ७० वर्षभन्दा माथिका नेताले नेतृत्व लिन नहुने भन्ने भ्रमलाई चिर्नुपर्नेसमेत बताए।
एमाले सिन्धुपाल्चोक सचिव कृष्णगोपाल तामाङले बैठकमा जिल्लाभरका सात सय ४५ भन्दाबढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेकामा १० बुँदे मेलम्ची घोषणापत्र जारी गर्दै सम्पन्न भएको जानकारी दिए।