
काठमाडौँ- हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ। कहिले सगरमाथा र हिमालमार्फत, कहिले बुद्धमार्फत, कहिले संस्कृतिका विविध रङ्गहरूमार्फत् त कहिले अनुपम प्रकृतिमार्फत्। अब भने नेपालले सामाजिक सञ्जाल ‘टिकटक’ को उपयोग गर्दै आफ्नो कथा संसारभर सुनाउने भएको छ।
नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले टिकटकसँग साझेदारी गरिएको जनाएको छ। यस साझेदारीले नेपालका प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, पर्व-उत्सव, खानपान र साहसिक अनुभवलाई विश्वका करोडौँ डिजिटल दर्शकमाझ पुर्याउने लक्ष्य लिइएको छ।
यहाँ आयोजित साझेदारीपत्र आदानप्रदान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बोर्ड र टिकटकबीचको यो सम्झौता केवल प्रचारप्रसारको काम मात्र नभई नेपाललाई नयाँ पुस्तासम्म पुर्याउने अभियान भएको बताए। आजका युवाले भ्रमणको निर्णय गर्नुअघि वास्तविक कथा र अनुभव खोज्न चाहने भन्दै उनले टिकटकमार्फत उनीहरूसम्म नेपालका अद्वितीय पर्यटकीय गन्तव्यका कथा सुनाउने र देखाउने अवसरको उपयोग हुने विश्वास व्यक्त गरे।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पुर्याउन महत्त्वपूर्ण समझदारी भएको उल्लेख गरे। उनले भने, ‘हाम्रो लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल दिनेछ। यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभई स्वदेशमा रहेका युवालाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढंगले अभिव्यक्त गर्ने अवसर दिनेछ।’
सLईओ जोशीका अनुसार बोर्डले अन्तर्राष्ट्रियस्तरका ‘ट्राभल कन्टेन्ट क्रिएटर’लाई नेपालमा आमन्त्रित गर्नेछ र उनीहरूलाई हिमाल, ताल, मठ–मन्दिरदेखि ‘होमस्टे’सम्म पुर्याएर प्रचारप्रसार गर्ने योजना छ।
साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत कथा सुनाउने विषयमा कार्यशाला गर्नेछ। जसमा नेपाली ‘कन्टेन्ट क्रिएटर’लाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ। रासस