‘उपसभामुख राना हटाउने प्रक्रिया विदेशबाट फर्किएपछि मात्रै’

हिमाल प्रेस ३ भदौ २०८२ १७:१९
40
SHARES
‘उपसभामुख राना हटाउने प्रक्रिया विदेशबाट फर्किएपछि मात्रै’ सत्तारूढ दलको बैठकको निर्णयबारे जानकारी दिँदै एमालेका मुख्य सचेतक महेश बर्तौला।

काठमाडौँ- सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने भएका छन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्तागठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछि मात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेको हो। बैठकपछि नेताहरुले उपसभामुख राना देशबाहिर रहेकाले स्वदेश फर्किपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति भएको जनाएका छन्।

अमेरिका भ्रमणमा रहेकी उपसभामुख भदौ १३ गतेपछि मात्रै स्वदेश फर्कने बुझिएको छ। बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने विषयमा छलफल नै नभएको बताए।

उनले सत्तारुढ दलकाबीच संसदीय मामिलालाई प्रभावकारी बनाउने, महत्त्वपूर्ण विधेयकलाई अघि बढाउने र संसदमा देखिएको गतिरोधका बिषयमा साझा धारणा बनाउने प्रयास गरिएको बताए। त्यस्तै उनले भूमिसम्बन्धी विधेयकमा सत्तारुढ दलबीच समान धारणा बनाएर सदनबाट पारित गर्न छलफल भएको जिकिर गरे। बर्तौलाले उपसभामुखका विषयमा उठेका प्रश्नहरुलाई निष्कर्षका पुर्‍याउनका लागि खुला ढंगले छलफल गर्ने बताए।

जनता समाजवादी पार्टीका नेता वीरेन्द्र महतोले उपसभामुख नेपालमा नरहेकाले स्वदेश फर्किपछि यसबारे छलफल गरेर आवश्यक निर्णय लिइने बताए। सत्तागठबन्धको बैठकमा समयमा नै विधेयक पारित गर्न संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्ने लगाएतका विषयमा छलफल भएको उनले बताए। बैठकमा कांग्रेस एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमतलगायत दलका नेताहरु सहभागी थिए।

प्रकाशित: ३ भदौ २०८२ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast