
काठमाडौँ- भारत र चीन आफ्नो सम्बन्ध सुधार गर्न खोजिरहेका छन्। दुई देशका शीर्ष कूटनीतिज्ञको भ्रमणबाट विश्वकै सबैभन्दा जनसंख्या भएका राष्ट्रबीचको तनाव घटाउन प्रयास गरेका हुन्।
आणविक हतियार सम्पन्न चीन र भारतको कूटनीतिक सम्बन्ध सन् २०२० मा सीमा क्षेत्रमा भएको झडपपछि गतिरोधमा छ।
विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले प्रतिस्पर्धी एसियाली शक्तिहरूलाई सम्बन्ध सुधार्ने अवसर सिर्जना गरेको छ।
भारतका परराष्ट्रमन्त्री एस जयशंकरले नयाँदिल्लीमा सोमबार चीनका परराष्ट्रमन्त्री वाङ यीसँग भने, ‘हामी दुई राष्ट्र अब अगाडि बढ्न चाहन्छौँ। यस्तो भ्रमण दुईपक्षीय सम्बन्ध समीक्षा गर्ने र केही साझा चासोका विषयमा विचार साटासाट गर्ने अवसर हो।’ प्रत्युत्तरमा वाङले दुई पक्षले एकले अर्कालाई आफ्ना साथीका रूपमा हेर्नुपर्ने बताए। उनले भने, ‘प्रतिद्वन्द्वीका रूपमा होइन द्विपक्षीय सम्बन्ध सुधार्ने गति कायम राख्नुपर्छ।’
जयशंकरले भ्रमणले आर्थिक र व्यापारिक मुद्दा, सीमापार व्यापार, तीर्थयात्रा र जनसम्पर्कका विषय समेटिने बताए। वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग सीमा तनाव कम गर्ने विषयमा छलफल गरेका छन्।
चीन र भारत दशकौँदेखि द्वन्द्वमा छन्। २०२० मा विवादित सीमामा २० भारतीय सैनिक र अज्ञात संख्यामा चिनियाँ सैनिक मारिएपछि सम्बन्ध निकै बिग्रिएको थियो।
बेइजिङ र नयाँदिल्लीबीचको सम्बन्ध सुधारको प्रयास भने गत वर्ष सुरु भएको हो। त्यति बेला दुई देशले ३,५०० किलोमिटर सीमा क्षेत्रमा गस्ती गर्ने सहमति गरेका थिए।
विश्लेषकहरूका अनुसार ट्रम्पले भारतमा आयात शुल्कमा कडाइ गरेपछि चीन र भारतबीच सम्बन्ध सुधारको संकेत देखिएको हो। भारत अमेरिकासँग सम्बन्ध बढाउँदै चीनविरुद्ध मोर्चा बनाउने प्रयासमा थियो।
मन्त्री जयशंकरले ट्रम्पको व्यापार युद्धप्रति पनि अप्रत्यक्ष रूपमा संकेत गरे। उनले भने, ‘जब संसारका दुई सबैभन्दा ठूला राष्ट्र भेट्छन्, अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुनु स्वाभाविक हो।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३१ अगस्टदेखि सांघाई सहयोग संगठनको बैठकमा चिनियाँ नेता सी जिनपिङसँग भेट्ने अपेक्षा गरिएको छ। सांघाई सहयोग संगठन चीन नेतृत्वको क्षेत्रीय व्यापार र सुरक्षा केन्द्र हो।
मोदी र सीबीच पछिल्लो द्विपक्षीय बैठक गत अक्टोबरमा रूसको कजानमा भएको ब्रिक्स राष्ट्रहरूको शिखर सम्मेलनमा भएको थियो। क्राइसिस ग्रुपका भारत विशेषज्ञ वरिष्ठ विश्लेषक प्रवीण डोन्ठीले भने, ‘मोदीको चीन भ्रमण रणनीतिक पुन: संलग्नताको महत्त्वपूर्ण कदम हो।’
पाँच वर्ष लामो तनावपछि आर्थिक सहकार्य पुनः सुरु गर्ने समय आएको ठोन्डीको भनाइ छ। ‘ट्रम्पको करयुद्धले कम्तीमा पनि नयाँदिल्लीलाई आवश्यक स्पष्टता प्रदान गर्न सक्छ।’
ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएका छन्। वासिंटन डीसी भारतले रुसबाट तेल किनेको रुचाउँदैन। अमेरिकी र चिनियाँ पक्षले गत साता अर्को ९० दिनका लागि शुल्क युद्ध स्थगित गरेर तीन अंकको शुल्कबाट बचाएका छन्।
नेसनल युनिभर्सिटी अफ सिंगापुरको दक्षिण एसियाली अध्ययन संस्थाका अनुसन्धाता अमित रञ्जनले भने, ‘दुवै देश ट्रम्पको शुल्कको प्रतिक्रियामा छन्। यो रणनीतिक कदम हो, ठूलो नीतिगत परिवर्तन होइन।’
भारतीय प्रधानमन्त्री मोदीले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेका छन्। मोदीले पुटिनलाई मित्रका रूपमा सम्बोधन गर्दै अलास्कामा ट्रम्पसँगको बैठकबारे छलफल गरेका थिए।
भारतको परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री जयशंकर यस हप्ता रूस भ्रमण गर्नेछन्।
दुई देशका नेताबीच चीन र भारतले सीधा उडान पुनः सुरु गर्ने विषयमा पनि छलफल भएको छ। साथै व्यापारमा रहेको अवरोध हटाउने र तीन हिमालयी नाकामा सीमा व्यापार पुनः खोल्ने विषयमा वार्ता भइरहेको छ।
भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले नयाँदिल्लीले ‘विशेष व्यापार बिन्दुमार्फत सीमा व्यापार पुनः सुरु गर्न चिनियाँ पक्षसँग निरन्तर संलग्नता राखेको छ’, उनले भने।
भारतीय सञ्चारमाध्यमको सहयोगमा