
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको सातौं पूर्ण बैठक काठमाडौँ लैनचौरस्थित शान्ति विद्या गृह माविको बैठक हलमा सुरु भएको छ। विद्यालय शिक्षा विधेयक, २०८० मा सरकार र महासंघबीच भएका विगतका सहमति नसमेटिएको निष्कर्ष निकाल्दै महासंघले पूर्ण बैठक बोलाएको हो। बैठक भोलिसम्म चल्नेछ।
यसअघि, सोमबार भक्तपुरको सानोठिमीस्थित महासंघको कार्यालयमा बसेको आन्दोलन परिचालन समितिको बैठकले आन्दोलनको खाका तयार पारेको थियो। सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा बसेको सो बैठकमा महासंघमा आबद्ध सम्बद्ध सबै घटकका प्रतिनिधिहरूको सहभागिता थियो।
आन्दोलनको खाका पूर्ण बैठकमा प्रस्तुत गरिने र त्यसपछि बैठकले आन्दोलनका कार्यक्रमलाई अन्तिम रूप दिने जनाइएको छ। शिक्षा विधेयकको विषयमा महासंघ गत माघ २० देखि वैशाख १७ गतेसम्म देशव्यापी धर्ना, रिले अनशन तथा काठमाडौँमा सडक आन्दोलनमा उत्रिएको थियो।
सरकारसँग भएका विगतका सहमति र सम्झौताविपरीत शिक्षा ऐन ल्याइए भदौ दोस्रो सातादेखि देशव्यापी आन्दोलन सुरु गर्ने महासंघले पहिले नै घोषणा गरिसकेको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विधेयकमाथि छलफल गरी प्रतिवेदन तयार पारिसकेको छ। सो प्रतिवेदन समितिबाट पारित गरी संसद्को चालु अधिवेशनमै प्रतिनिधिसभामा पेस गर्ने तयारी भइरहेको छ। पूर्ण बैठकमा समिति प्रतिवेदनको पनि चर्चा हुने शिक्षक नेताहरूले जनाएका छन्।