रूपन्देही उपनिर्वाचन : नाउपा रिङबाट बाहिर

हिमाल प्रेस २ भदौ २०८२ २०:३३
रूपन्देही उपनिर्वाचन : नाउपा रिङबाट बाहिर

काठमाडौँ- मधेश केन्द्रित दलहरू सम्मलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका बैठकहरूमा रूपन्देही-३ उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्नो दाबेदारी प्रस्तुत गर्‍यो। उपनिर्वाचनलाई लक्षित गरेर भएका बैठकहरूमा नाउपाका संरक्षक रेशम चौधरीले अघिल्लो निर्वाचनको परिणाम प्रस्तुत गर्दै रूपन्देही-३ मा आफ्नो पार्टीलाई समर्थन गर्न प्रस्ताव गरेका थिए।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही-३ मा नाउपा चौथो स्थानमा थियो। त्यो निर्वाचनमा ३६ हजार ७१७ मत ल्याएर राप्रपाका दीपक बोहरा निर्वाचित हुँदा ३४ हजार ३६ मत ल्याएका नेपाली कांग्रेसका बालकृष्ण खाँण दोस्रो भएका थिए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जितबहादुर गुप्ता तेली ५ हजार ७९६ मत ल्याएर तेस्रो स्थानमा रहँदा नाउपाका तुल्सीप्रसाद थारू ४ हजार ७५१ मत प्राप्त गरेर चौथो भएका थिए। त्यो निर्वाचनमा मोर्चामा आबद्ध जसपा नेपाल लोसपालगायतका दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिएको दिएन।

त्यस्तै समानुपातिकतर्फ पनि रूपन्देही–३ मा मोर्चामा आबद्ध अन्य दलहरूभन्दा बढी मत नाउपाकै थियो। अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त गरेको मतको आँकडा देखाउँदै मोर्चाको बैठकहरूमा रेशमले आफ्नो दललाई समर्थन गर्न अडान राखेका थिए। उनको यो प्रस्तावमा मोर्चाआबद्ध अरू दलहरू तयार भए पनि जनमत पार्टी सहमत भएन। रूपन्देही उपनिर्वाचनमा आफ्नो दलबाट उम्मेदवारी दिने निर्णय गर्दै जनमत पार्टी मोर्चाको बैठकहरूमा भाग लिन छोडेको थियो।

रूपन्देही उपनिर्वाचनमा मोर्चासम्मलित ६ दलको समर्थन पाइसकेको नाउपा भने चुनावी ‘रिङ’ बाट ‘आउट’ भएको छ। र, यसको कारण बनेको छ- नाउपाको आन्तरिक कलह। आन्तरिक कलहमा झाँगिएको नाउपा रूपन्देही उपनिर्वाचनमा भाग लिग अयोग्य ठहर भएपछि चुनावी प्रक्रियाबाट बाहिरिएको हो।

रूपन्देही उपनिर्वाचनमा भाग लिन निवेदन दिएकामध्ये नाउपाबाहेक सबै दलहरू दर्ता भएका छन्। आगामी कात्तिक १७ गते हुन लागेको रूपन्देही उपनिर्वाचनमा भाग लिन चाहने दलहरूलाई दर्ताको निवेदन दिन साउन २१ देखि २७ गतेसम्मको म्याद दिएको थियो।

यो अवधिमा २७ वटा दलको निवेदन परेको र नाउपाबाहेक अन्य सबै दल नियमअनुसार दर्ता भएको आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले आवश्यक कागजातहरू पेस गर्न नसकेपछि रूपन्देही–३ उपनिर्वाचनका लागि नाउपा दर्ता हुन नसकेको बताए।

‘रूपन्देही उपनिर्वाचनमा भाग लिन नाउपाको तर्फबाट निवेदन परेको थियो,’ चालिसेले हिमालप्रेससँग भने, ‘छानबिनका क्रममा केही कागजातहरू अपुग रहेको देखियो। ती कागजातहरू पेस गर्न भनिए पनि उहाँहरूले ल्याउन सक्नु भएन, त्यसैले उपनिर्वाचनका लागि नाउपा दर्ता हुन सकेन।’

आयोगमा दल दर्ता कायमै रहे पनि रूपन्देही उपनिर्वाचनमा भाग लिने प्रक्रियाबाट नाउपा बाहिरिएको उनको भनाइ छ। चालिसेका अनुसार दल दर्ताका लागि रञ्जिता र लालवीर दुवै पक्षको निवेदन आयोगमा पुगेको थियो।

तर आयोगले हालसालै अध्यक्ष चुनिएका लालवीर चौधरीलाई मान्यता नदिने निर्णय यसअघि नै गरिसकेको थियो। गत १५ साउनमा बसेको राष्ट्रिय भेलाले नाउपा संरक्षक रेशम चौधरीपत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट बर्खास्त गरेर रेशमका बुबा लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको थियो।

अध्यक्ष श्रेष्ठले केन्द्रीय समिति बैठक नबोलाएको, रूपन्देही उपनिर्वाचनबारे छलफल गर्न नचाहेको आरोप लगाउँदै संरक्षक रेशमको उपस्थितिमा बसेको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष चयन गरेको थियो। तर यो निर्णयलाई निर्वाचन आयोगले अस्वीकार गरिदियो। आयोगको नजरमा नाउपाको अध्यक्ष अझै श्रेष्ठ नै छिन्। त्यसैले लालवीर पक्षले दल दर्ताका लागि दिएको निवेदन स्वतः अस्वीकृत भएको आयोगको भनाइ छ।

‘नाउपाको दुवै पक्षलाई जोड्ने हो भने दल दर्ताका लागि २८ वटा निवेदन आएको थियो,’ सहायक प्रवक्ता चालिसे भन्छन्, ‘लालवीर चौधरीलाई अध्यक्षमा मान्यता नदिने निर्णय यसअघि नै भइसकेकाले यो पक्षबाट आएको निवेदन स्वतः स्वीकृत भयो।’

लालवीर पक्षले मात्रै होइन रूपन्देही उपनिर्वाचनलाई केन्द्रित गरेर दल दर्ताका श्रेष्ठ पक्षले पनि आयोगमा निवेदन हालेको थियो। तर यो पक्षले पनि आवश्यक कागजात पेस गर्न नसकेपछि चुनावी प्रक्रियाबाट बाहिरिन पुगेको हो। नाउपाकी अध्यक्ष श्रेष्ठ संरक्षक रेशमलगायतका नेताहरूको प्रपञ्च र बदमासीका कारण रूपन्देही उपनिर्वाचनमा पार्टी भाग लिनबाट वञ्चित भएको बताउँछिन्।

‘रेशमजीको प्रपञ्चका कारण हाम्रो पार्टी उपनिर्वाचनमा भाग लिनबाट वञ्चित भएको छ,’ उनले भनिन्, ‘निर्वाचनमा भाग लिन दल दर्ताका लागि केन्द्रीय समितिको निर्णय पेस गर्नुपर्ने हुन्छ, हामीले त्यो पेस गर्न सकेनौँ। यही कारण दल दर्ता हुन नसकेको हो।’

बहुमत केन्द्रीय सदस्यहरू आफ्नो पक्षमा रहेको भन्दै रेशम पक्षले एकपछि अर्को बैठक गरी अध्यक्ष श्रेष्ठसँग स्पष्टीकरण सोध्दै अन्ततः साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्‍यो। रेशमहरूलाई लागेको थियो- बहुमत केन्द्रीय सदस्यहरू आफ्नो पक्षमा रहेकाले राष्ट्रिय भेलाबाट भएको निर्णय निर्वाचन आयोगले स्वीकार गर्छ। रेशम पक्षहरूको त्यही राष्ट्रिय भेलाले रूपन्देही उपनिर्वाचनमा भाग लिने निर्णयसमेत गरेको थियो। तर लालवीरको अध्यक्षतामा भएको त्यो निर्णयलाई निर्वाचन आयोगले अस्वीकार गरिदिएको छ।

पार्टीका अधिकांश केन्द्रीय सदस्यहरू राखेर रेशमहरू छुट्टै बैठकमा व्यस्त भएपछि अध्यक्ष श्रेष्ठले केन्द्रीय समितिको बैठक नै बसाउन सकिनन्। केन्द्रीय समितिको बैठक बोलाएर उपनिर्वाचनका सन्दर्भमा निर्णय गर्न नसकेपछि नाउपा आयोगमा दर्ता हुन नसकेको हो।

अध्यक्ष श्रेष्ठ संरक्षक रेशमका कारण दल दर्ता हुनबाट चुक्नुका साथै मोर्चालाई समेत धोका दिएको आरोप लगाइन्। ‘केन्द्रीय समितिको निर्णय चाहिने रहेछ, उहाँहरूले प्रपञ्च गरेर बैठक नै बस्न सकेन। रेशमजीले पार्टीलाई मात्रै होइन मोर्चालाई पनि धोका दिनु भएको छ, मोर्चाले नाउपालाई समर्थन गरेको हो, रेशमजीले व्यक्तिलाई ठान्नुभयो,’ श्रेष्ठले व्यङ्ग्य गर्दै भनिन्, ‘रेशमजीले लालवीरजीको अध्यक्षतामा दर्ता गर्नु भएको छ, त्यही लिएर चुनावमा गए भइहाल्यो नि।’

गल्ती रेशमले गरे पनि दोष फेरि आफूलाई लगाउने उनले बताइन्। ‘मैले केन्द्रीय समिति बैठक बोलाइनँ भन्नु हुन्छ, जनमतसँग एकता गर्ने बेला बैठक बसेको होइन र? गल्ती आफूले गर्ने अनि दोष मलाई दिने?,’ श्रेष्ठले भनिन्।

निर्वाचन आयोगमा दल दर्ता हुन नसके पनि रूपन्देही उपनिर्वाचनमा स्वतन्त्र रूपमा भए पनि उम्मेदवारी दिने तयारी श्रेष्ठले गरेकी छन्। यसका लागि मोर्चामा आबद्ध नेताहरूसँग छलफल भइरहेको उनले बताइन्।

‘हृदयेश दाइसँग कुरा भएको छ। उहाँले मोर्चाले नाउपालाई समर्थन दिए पनि रेशमजीले व्यक्तिलाई सम्झिनु भएको भनेर भन्नु भएको छ,’ उनले भनिन्, ‘दलका तर्फबाट आधिकारिक उम्मेदवार दिन नसके पनि स्वतन्त्र उम्मेदवार खडा गर्छौँ। मोर्चाका नेताहरूसँग पनि सल्लाह भइरहेको छ।’

नाउपा चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित भएपछि रूपन्देही-३ उपनिर्वाचनमा भाग लिन दर्ता भएका दलहरूको संख्या २६ पुगेको छ। आयोगले सोमबार रीत पूरा गरेका २६ दल दर्ता भएको जनाएको छ।

प्रकाशित: २ भदौ २०८२ २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast