संगीतकार तथा कवि प्रेम विनोद नन्दनको निधन

हिमाल प्रेस २ भदौ २०८२ १५:२९
6
SHARES
संगीतकार तथा कवि प्रेम विनोद नन्दनको निधन

चितवन- कवि तथा संगीतकार प्रेम विनोद नन्दनको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको हो।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उनी लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित थिए। उनको पार्थिव शरीरको आज धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिनेछ। नन्दन नारायणी कलामन्दिरको पूर्वअध्यक्ष र सल्लाहकार थिए। उनकी श्रीमती, तीन छोरा र तीन छोरी छन्।

२०११ सालमा ‘झटारो’ गीतिसंग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दन गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका थिए। उनका धेरै गीत फिल्म क्षेत्रमा चर्चित छ। उनका गीति संग्रह अञ्जली २०२३, सपनीबाट ब्यूँझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐनाभित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघुकाव्य २०७४ र पत्रम पुष्पम कवितासंग्रह २०७७ प्रकाशित छ।

यस्तै, राष्ट्रिय गान छनोटका क्रममा उनको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो। प्रधानकाअनुसार उनले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पदान गरेका थिए। अनौपचारिक शिक्षा आर्जन गरेर गीतसंगीत र साहित्यमा लागेका नन्दन गायक, संगीतकार तथा कलाकार पनि थिए।

१९९२ साल जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मेका नन्दन पछि बसाइँ सरेर चितवनको नारायणगढ आए। उनी छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार पािएका थिए। साथै उनलाई रथारोहण तथा सम्मानसमेत गरिएको थियो।

प्रकाशित: २ भदौ २०८२ १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast