जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई मिलेर पार लगाऔँ : राष्ट्रपति

हिमाल प्रेस २ भदौ २०८२ १३:०२
4
SHARES
जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई मिलेर पार लगाऔँ : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताएका छन्। उनले हाम्रो यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन वा कृषि योग्य भूमिको उर्वरताले यहाँका दुई अर्बभन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याइरहेपनि हाम्रो यो जीवनयापनको आधार आज संकटमा परेको पनि बताए।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा सोमबार काठमाडौँमा आयोजित हिन्दुकुश-हिमालय पार्लियामेन्टेरियन्स मिट २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्।
‘हाम्रा यस क्षेत्रको हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, वा कृषि योग्य भूमिको उर्वरताले यहाँका दुई अर्बभन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याइरहेको छ, तर यो जीवनयापनको आधार आज संकटमा छ’, उनले भने।

राष्ट्रपति पौडेलले हिमालदेखि समुद्रीतटसम्मका बसिन्दाको भविष्य एउटै नियतिमा गाँसिएको स्मरण गर्दै यो ऐतिहासिक भेटघाट हाम्रो साझा र दिगो भविष्यका लागि आशा र सम्भावनाको मार्ग बनोस् भन्ने कामना गरे।

उनले नीति निर्माण तहमा हामीले वैज्ञानिक तथ्य र जन-आवाजलाई आधार मानेर जलवायु, जैविक विविधता र वायु प्रदूषणसम्बन्धी समयसापेक्ष, जनमुखी र कार्यान्वयन योग्य नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए।
कानुनी संरचना सुदृढीकरणका लागि जलवायु-मैत्री विकास, वायु प्रदूषण नियन्त्रणका लागि मापदण्डरू तयार गर्ने र जैविक विविधताको संरक्षणका लागि आवाश्यक कानुनी प्रावधानको प्रवन्ध गर्न आवाश्यक रहेको उनको भनाइ थियो। ‘जवाफदेहिता सुनिश्चितताका लागि हाम्रा कार्यक्रम कार्यान्वयन भए-नभएको अनुगमन, स्रोतहरूको पारदर्शिता र परिणामको मूल्यांकनमा संसद्ले मूलभूत दायित्व निर्वाह गर्नुपर्दछ’, राष्ट्रपति पौडेलले भने।

जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण वैज्ञानिक प्रतिवेदनमा सीमित नभई हाम्रो दैनिक जीवनको कठोर यथार्थ बनेको उनको भनाइ थियो। ‘त्यसैले, आजको यो बैठक हाम्रो साझा र दिगो भविष्यको रोडम्याप तय गर्ने ऐतिहासिक अवसर हो’, उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast