प्रधानमन्त्रीको दाबी- केही युवाको पहलमा एसईई नतिजामा सुधार भयो

हिमाल प्रेस २ भदौ २०८२ १२:५४
138
SHARES
प्रधानमन्त्रीको दाबी- केही युवाको पहलमा एसईई नतिजामा सुधार भयो प्रधानमन्त्री केपी शर्मा ओली आइतबार राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा सम्बोधन गर्दै। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय।

काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालद्वारा आइतबार आयोजित विश्व आईटी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको प्रभावकारी प्रयोगले देशको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति सम्भव भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले गत वर्ष एसईईमा पास हुनेको संख्या ४८ प्रतिशतभन्दा कम रहेको दाबी गर्दै युवाको निजी प्रयासबाट यस वर्ष नतिजा ६२ प्रतिशत पुर्‍याउन सफल भएको जानकारी दिए।

‘युवाले अनलाइन कक्षाको अभियान सञ्चालन गरे। दुई सयभन्दा बढी मेन्टर र दर्जनौँ शिक्षकमार्फत देशभरका विद्यार्थीलाई काठमाडौँबाटै पढाइ गरियो। यसैको परिणामस्वरूप १४ प्रतिशत सुधार भएको हो,’ प्रधानमन्त्री ओलीले भने।

ओलीका अनुसार यो अभियानमा सरकारको तर्फबाट सञ्चार मन्त्रालयले इन्टरनेट उपलब्ध गराएर सहयोग पुर्‍याएको थियो। ‘सानो खर्चमा लाखौँ विद्यार्थी लाभान्वित भए,’ ओलीले भने।

शिक्षामा मात्र नभई स्वास्थ्य क्षेत्रमा पनि अनलाइन सेवा विस्तार भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘साना अस्पतालहरूले ठूला अस्पतालबाट विशेषज्ञ सेवा लिन थालेका छन्। स्वास्थ्य परीक्षणदेखि उपचारसम्म अनलाइन प्रणालीबाट सम्भव भएको छ,’ उनले भने।

यस्तो छ प्रधानमन्त्रीको भनाइ

गत वर्ष नेपालको एसईईको परीक्षाको नतिजामा पास हुनेको संख्या ४८ प्रतिशतभन्दा कम थियो र गत वर्षबाट हामीले सुरुदेखि नै यसलाई ७० प्रतिशत पुर्‍याउने भनेका थियौं। पछि हामीले केही संशोधन गर्नुपर्‍यो र ६० देखि ६५ प्रतिशतसम्म पुर्‍याउँछौँ भनेर हाम्रा केही युवा साथीहरूले अनलाइन कक्षाको सुरुवात गर्नुभयो। त्यसका निम्ति एउटा अभियान चलाउनुभयो। देशव्यापी रूपमा विभिन्न ठाउँका विद्यालय विद्यालयमा गएर त्यहाँका प्रिन्सिपलहरूलाई, त्यहाँका शिक्षकहरूलाई, विद्यार्थीहरूलाई, अभिभावकहरूलाई प्रेरित गर्नुभयो। र, देशभरि दुई सयभन्दा बढी मेन्टर र धेरै दर्जन शिक्षकहरू राखेर एकै ठाउँ काठमाडौँबाट कक्षाहरू सञ्चालन गर्नुभयो। पछि हामीले ६० देखि ६५ प्रतिशतको बीचमा नतिजा निकाल्छौं भन्यौं।

यो नित्तान्त निजी प्रयास हो, हाम्रा युवाहरूको। त्यसमा सरकारी सहयोग भनेको सञ्चार मन्त्रालयले हामीलाई त्यो उपलब्ध गरायो। हामी युवाहरूलाई जहाँ सेवा पुर्‍याउँछौं भनेको छ, त्यहाँँ इन्टरनेट सर्भिस उपलब्ध गराइदियो, त्यस हिसाबले प्रयास गर्दाखेरि ६१.८१ प्रतिशत अथवा ६२ प्रतिशत उत्तीर्ण भए।

४८ बाट ६२ प्रतिशत अथवा १४ प्रतिशतका दरले एसईईको नतिजामा उन्नति भयो। यो हामीले देखेका छौं, सानो खर्चबाट देशभरिको लाखौँ विद्यार्थीहरूको संख्यामा १४ प्रतिशतले अभिवृद्धि भयो, उत्तीर्ण संख्या बढ्यो।

प्रकाशित: २ भदौ २०८२ १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast