अस्थिरताका रोगीहरूले अहिले पनि सरकार ढल्ने हल्ला चलाइरहेका छन् : शंकर पोखरेल

हिमाल प्रेस २ भदौ २०८२ ११:४२
10
SHARES
अस्थिरताका रोगीहरूले अहिले पनि सरकार ढल्ने हल्ला चलाइरहेका छन् : शंकर पोखरेल नेकपा (एमाले) महासचिव शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको रोग लागेकाहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको बताएका छन्।

उनले नेकपा एमाले र नेपाली कांग्रेसबीच उच्चस्तरको सहमतिसहित गठबन्धन बनेकाले अस्थिरताका रोगीहरू छट्पटिएको बताए।

सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाच्नसम्म नै यो सरकार निरन्तर रहने बताए। उनले यसका लागि संसद् र राजनीतिक दलहरूप्रति विश्वास गर्नसमेत आग्रह गरे।सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाउनेहरूमा अस्थिरताका लागि विचित्रको रोग लागेको उनको भनाइ थियो।

‘दुई ठुला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ,’ उनले भने, ‘तर अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाइरहेका छन्। उनीहरू अस्थिरताका रोगी हुन्।’

कांग्रेस र एमालेबीचको गठबन्धन आगामी निर्वाचनसम्म नै जाने उनले ठोकुवा गरे। कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै महासचिव पोखरलले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्ने अनैतिक भनेर टिप्पणी पनि गरे।

सरकारले सूचनाको हक कुण्ठित हुने कुनै पनि खालको कानुन नल्याउने महासचिव पोखरेल स्पष्ट पारेका छन्। उनले सञ्चार क्षेत्रलाई व्यवस्थित र सुरक्षित गर्न मिडिया काउन्सिल विधेयक ल्याउन लागेको दाबी पनि गरे।

‘संसद्ले सूचनाको हक कुण्ठित हुने कुनै कानुन बनाउँदैन, हामीले यही विश्वास गर्नुपर्छ,’ पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘अहिले स्वतन्त्रताका नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न खोजिएको हो, संविधानसँग बाझिने कुनै कानुन बन्दैन।’

‘सरकारमा सहभागी भएपछि जस-अपजसको भागिदार हुनुपर्छ, तर सरकारमा हिस्सा पनि खोज्ने अनि विरोध पनि गर्दै जाने, यो नैतिकता होइन,’ उनले भने।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि पनि राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले फेरि राजनीतिमा फर्किनु उचित नहुने धारणा राखे।

‘हामीले पूर्व राष्ट्रपति सम्मानित भूमिकामा रहनुपर्छ भनेका हौँ, त्यसो भइसकेपछि सदस्यताका विषयमा कुनै विवाद नै रहेन,’ उनले भने, ‘यो लोकतन्त्रको मूल्य मान्यतासँग जोडिन्छ, व्यक्तिसँग जोडन आवश्यक छैन।’

प्रकाशित: २ भदौ २०८२ ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast