
काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो ३ बजे बस्दैछ ।
विवादित विषयलाई थाती राखेर समिति सचिवालयले विधेयकको प्रतिवेदन तयार पारेको थियो। तर, निजी विद्यालयको पूर्ण छात्रवृत्ति विषयमा गत २२ साउनमा बसेको समितिको बैठकले सहमति जुटाउन सकेको थिएन। आज बस्ने समितिको बैठकले पूर्ण छात्रवृत्तिको विषयमा टुंगो लगाउने बताइएको छ। त्यसपछि सचिवालयले तयार पारेको प्रतिवेदन अध्ययनको लागि सदस्यहरूलाई वितरण गरिनेछ।
निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोसाक उपलब्ध गराउन नसकिने दाबी गर्दै आएका छन्। तर समितिका सदस्यहरूले भने पूर्ण छात्रवृत्तिमा आवास र पोसाक पनि समावेश हुनुपर्ने धारणा राखिरहेका छन्।
छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोसाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा समेटिने उल्लेख छ।
गत बैठकमा यसबाट आवास र पोसाक हटाउनुपर्ने प्रस्ताव आएको थियो। तर सदस्यहरूले नमानेपछि प्रस्ताव पारित हुन सकेको थिएन। यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन्।
यस्तै, विधेयकप्रति नेपाल शिक्षक महासंघले पनि असन्तुष्टि जनाएको छ। महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरिसकेको छ।
अघिल्लो बैठकमा उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरिएको थियो। आजको बैठकमा उक्त प्रतिवेदन सदस्यहरू (सांसद) लाई अध्ययनका लागि वितरण गरिने र अर्को बैठकबाट संसद्मा लैजानेगरी पारित गरिने समितिले जनाएको छ।
यो पनि
बालविकासलाई विद्यालय संरचनामा राखेर लेखियो शिक्षा विधेयकको प्रतिवेदन