
बाँके- बाँकेको नेपालगन्ज उपमहानगरपालिका-४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले बसपार्क क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित नेपालगञ्ज–९ बस्ने १७ वर्षीय समिर ढपाली र वडा नं १३ बस्ने राजन सोनकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
ने १ ह ४५०२ नम्बरको ई–रिक्सामा पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको अवस्थामा उनीहरू पेस्तोल र गोलीसहित पक्राउ परेका हुन्।
दुवै जनामाथि थप अनुसन्धान सुरु भएको र उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। दुई दिनअघि मात्र प्रहरीले बाँकेबाट गोली चलाएर लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको थियो। तीमध्ये दुई जना भारतीय नागरिक हुन्। रासस