
काठमाडौँ- नेकपा माओवादी केन्द्र र अन्य वाम दलबीच तत्काल एकता नहुने भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकताका लागि सकारात्मक भएनन् भने एकता प्रक्रियाका लागि माओवादीले खटाएका नेता नारायणकाजीको प्रयास पनि निरर्थक भएको छ। प्रयास भने जारी रहेको नेताहरूको भनाइ छ।
माओवादीले नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा र समाजवादीलाई प्राथमिकतामा राख्दै एकताको प्रयास गरेको बताउँदै आएको छ। यसअघि माओवादीको स्थायी समिति बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै पार्टीसँग एकता अन्तिम चरणमा पुगेका बिफ्रिङ गरेका थिए।
माओवादीले यस्तो दाबी गरे पनि विप्लवले माओवादीले हल्ला चलाएजसरी एकता अघि नबढेको स्पष्ट पारिसकेका छन्। समाजवादी समेत माओवादीसँग तत्काल एकता नगर्ने पक्षमा उभिएको छ।
समाजवादीको साउन १९ मा बसेको सचिवालय बैठकले माओवादीसँगको एकता एजेन्डा बनाएको थियो। बैठकमा अधिकांश नेताहरूले एकता गर्न नहुने सुझाव राखेका थिए। समाजवादी स्रोतका अनुसार नेपाल निकटस्थ जगन्नाथ खतिवडा समेत एकता गर्न नहुने पक्षमा उभिएका थिए।
खतिवडाले माओवादीसँग एकता गर्दा ‘नेकपा’को अवस्था हुने बताएका थिए। यसअघि एमाले र माओवादीबीच एकता भई बनेको नेकपा आन्तरिक कलहले विभाजित बनेको थियो। ‘नेताहरूले सिद्धान्त र विधि पुर्याएर मात्र एकता गरौँ भन्नुभएपछि अध्यक्षज्यू व्याक हुनुभयो,’ समाजवादीका एक पदाधिकारी भन्छन्, ‘एकताका ढाँचाबारे हामीले सोध्याँै, केही कुरा नआएपछि हुन सक्दैन भन्यौँ।’
‘नेपालले आँटै गरेनन्’
समाजवादीमा माओवादीसँग एकता गर्ने पक्षमा जोडतोडले लागेका थिए नेपाल। समाजवादी स्रोतका अनुसार पदीय भागबन्डामा समेत छलफल भएको बताइएको छ। नेताहरूका अनुसार नेकपाकै जस्तो संरचना बनाउने गरी छलफल अघि बढेको थियो।
‘नेकपामा जस्ता दुई अध्यक्षको खाका अघि सारिएको बुझाइ छ। जसले गर्दा प्रचण्ड-नेपाल दुवै अध्यक्ष बन्ने प्रावधान थियो’, स्रोतले भन्यो। प्रचण्डले यही विषयमा सहमति गरौँ भन्दा नेपालले जबाफ दिन सकेका थिएनन्। नेपालले पार्टीमा छलफल गर्ने भनेर निस्किएको स्रोतको दाबी छ। अन्य नेताहरूले आफ्नो व्यवस्थापन समेत नहुने बुझाएकाले पनि एकता नभएको बुझाइ छ।
‘ठूलो पार्टीसँग एकता गर्दा खतरा हुने भनेर हामीले बैठकमा कुरा राख्यौँ,’ समाजवादीका एक पदाधिकारी भन्छन्, ‘यस विषयमा नेपालले जबाफ दिन सकेनन्। अहिलेलाई हुन दिऔँ भने।’ हुन त नेपाल पार्टीभित्रै संकटमा परेपछि माओवादीसँग एकता गर्ने बताएका थिए। पतञ्जति भ्रष्टाचार मुद्दामा मुछिएपछि नेपालले राजीनामा दिनुपर्ने माग उठेको छ।
‘माओवादीसँग यही अवस्था एकता हुन सक्दैन’
माओवादीसँग एकता गर्नै नहुने पक्षमा समाजवादीका दोस्रो वरीयताका नेता झलनाथ खनाल लागेका थिए। उनले कुनै हालतमा माओवादीसँग एकता गर्न नहुने अडान राखेका थिए। उनी निकट स्रोतका अनुसार माओवादीसँग एकता गर्नुभन्दा एक्लै बस्ने पक्षमा छन्। ‘एकता हुनका लागि सैद्धान्तिक, वैचारिक सबै कुरा मिल्न आवश्यक छ,’ खनाललाई उधृत गर्दै एक नेताले भने, ‘यही अवस्थामा हामीसँग एकता गर्न सकिँदैन।’ खनालले आफू निकट विद्यार्थी र युवालाई समेत एकताका पक्षमा नउभिन निर्देशन दिएको एक नेता बताउँछन्।
अहिले समाजवादीको विद्यार्थी र युवा संघमा समानान्तर बन्ने क्रम जारी छ। ‘माधव नेपालहरू माओवादीमै जाने तयारीमा छन्। हामी त्यता जाँदैनौँ। बरु एकता नै नगर्ने गरी लागेकाले समानान्तरको तयारीमा छौँ’, समाजवादी निकट युवा संघका एक नेताले भने, ‘नेपालले हामीलाई हेप्नुको कारण पनि यही हो। उहाँ एकताका नाममा पार्टीलाई माओवादीमा विलय गर्न चाहनुहुन्छ। हामी मिले एमालेमै जाने पक्षमा छौँ।’
खनालले मोर्चा वा कार्यगत एकताभन्दा पर जान नसकिने अडान राखेका थिए। ‘माओवादीसँग कार्यगत एकता गर्दा उचित हुन्छ, अरू नगरौँ’, खनाललाई उधृत गर्दै एक नेताले भने।
निरर्थक बन्यो नारायणकाजीको प्रयास
यसअघि माओवादीसँग एकताका लागि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी दलका नेतालाई भेटेका थिए। श्रेष्ठले प्रचण्डको दूत बनेर समाजवादीका नेता खनाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका नेता विप्लवलाई भेटेका थिए। तर, कुनै नेताबाट सकारात्मक सूचना पाउन सकेनन्।
समाजवादी र विप्लवबाट एकता नहुने स्पष्ट जबाफ आइसकेको छ। विप्लवले माओवादीको अहिलेकै अवस्थामा एकता नहुने बताएका थिए। ‘हामीले चाहँदा एकता भएन। अहिले प्रचण्ड समस्यामा परेपछि एकता गर्ने कुरा हुँदैन,’ नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भन्छन्।
उपेन्द्रसँग त प्रचण्डको सम्बन्ध सुमधुर छैन। प्रचण्ड प्रधानमन्त्री बनेका बेला जसपा नेपाल टुक्र्याएको आरोप उपेन्द्रले प्रचण्डमाथि लगाउने गरेका छन्। तर पनि श्रेष्ठले एकताको पहल गरेका थिए। माओवादी महासचिव देव गुरुङ भने एकताको सम्भावना नटरेको बताउँछन्।