
इजरायल र हमासबीच युद्धविराम भए पनि सीमा क्षेत्रमा विस्फोटका घटना भइरहेका छन्। युद्धरत भूमिभन्दा ठिक आठ सय मिटर वरबाट नियाल्दा धुवाँ र धुलोले आकाश ढाकेको छ। सीधा ‘फाइरिङ’ को आवाज सुन्न सकिन्छ। इजरायली सुरक्षा निकायका गाडी ओहोरदोहोर गरिरहेका छन्। दुई साताअघि त्यही क्षेत्रको अवलोकन गर्न हामी किबुज (कम्युन) नजिकै बनाइएको टावरमा पुगेका थियौँ। बन्दुक र बमको आवाजले हाम्रो आङ सिरिंग हुन्थे। तर पनि लामो समयदेखि रेडियो र टिभीमा समाचार सुनेको विषय सीधै नियाल्न पाउँदा डर पनि भागेको थियो।
स्थानीयलाई भने त्यति चासो हुँदो रहेनछ। बम खस्छ भन्ने विषयमा डरै लाग्दैन। तर झण्डै २२ महिनाअघि हतियारधारी नै पसेर आक्रमण गरेकाले अलि सचेत रहेको उनीहरू बताउँछन्। उनीहरू भन्थे- हामीलाई बानी परिसकेको छ। २०२३ अक्टोबर ७ मा नेपालीसमेत रहेका निर ओज र अलयामी किबुजमा आएर हमासका आतंककारी समूहले बिहानै आक्रमण गरेको थियो। जबकि हमास आक्रमणमा १२ सय मानिस इजरायलभित्र मारिएका थिए भने विपिन जोशीसहित २५१ जना बन्धक बनाइएकोमा अझै ७० जना छुटेका छैनन्। नछुट्नेमा विपिन पनि एक हुन्।
किबुजमा यहुदी होइनौँ भन्दाभन्दै पनि १० जना नेपालीले ज्यान गुमाए भने एक जना अपहरणमा परेका छन्। अपहरणमा परेका विपिन जोशीको अवस्था अज्ञात छ। धेरैको के अनुमान छ भने उनी हमासको बन्धकमा रहेकाले चाँडै मुक्त हुनेछन्। त्यही आसमा उनका आमा र बहिनी इजरायल पुगेका छन्। त्यसलगत्तै इजरायली सेनाले जवाफी आक्रमण गाजाँपट्टी गर्दा अधिक हामासका लडाकूहरू मारिए पनि त्यसमा सर्वसाधारण पनि परेका कारण इजरायलकाे विरोध पनि भइरहेकाे छ।
लामो समय जान सक्ने भनिए पनि युद्धविराम भयाे। तर पनि द्वन्द्व चलिरहेको हुँदा इजरायल-प्यालेस्टाइन सीमाक्षेत्रको जीवन सहज छैन। इजरायलले गाजा क्षेत्र कब्जामा लिने घोषणासहित आफ्नो उपस्थिति बढाउँदै लगेको छ। गाजातर्फका प्यालेस्टाइन समुदाय बरु इजरायलले नै यो क्षेत्र लिएर शान्ति हुन्छ भने होस् भन्नेमा पुगेका छन्। हमास आतंककारीहरूले गर्दा प्यालेस्टायीनीहरू पनि आरामले बस्न सकेका छैनन्। प्यालेस्टाइनहरुलाई एक तर्फ सारेर भए पनि हमास मुक्त गाजा इजरायलको चाहना छ।
हमासले गाजाका समुदायको भरपूर उपयोग गरेको देखिन्छ। साथै मानवअधिकारवादी संस्थाहरूका लागि कोष जम्मा गर्ने थलो पनि बनेको छ। सन् २००५ मा इजरायलले स्वतन्त्र छोडेको त्यो भेग दुई दशकपछि फेरि आफूले नै लिने तयारीमा लागेको हो। मानव हत्या जघन्य अपराध हुँदाहुँदै पनि त्यस्ता घटना किन भइरहेका छन्? त्यसको जड के हो भन्नेमा पुग्न मानवअधिकारीवादी पनि सकिरहेका छैनन्। उनीहरू परियोजना बनाएर लाखौँ डलरको पर्खाइमा हुन्छन्। त्यहाँको वास्तविक समुदायको हितमा त्यो उपयोग नभएको निष्कर्ष इजरायली अधिकारीहरूको छ।
अन्तर्राष्ट्रिय समुदायले दिएको रकमबाट त्यो भेग बन्ने भए इजरायलले बनाएर छोडेको गाजा दुई दशकमा खै त पैरवी गरेको? आतंककारीलाई सुरुङ बनाउन अन्तर्राष्ट्रिय रूपमा किन पैसा लगानी भइरहेको भन्ने धारणा इजरायली पक्षको छ। द्रुज समुदाय बसेको गोलन हाइट भ्यालीमा इरानले प्रहार गरेको क्षेप्यास्त्रले १२ जना नाबालकको मृत्यु भएको थियो। चौरमा खेलिरहेका बालबालिकालाई लक्ष्य गरेर उक्त क्षेप्यास्त्र प्रहार गरेको देखिन्छ। त्यो दृश्य देखेपछि इजरायली नागिरकमा देखिएको आक्रोश स्वाभाविक लाग्छ। इजरायल र इरान आमनेसामने भएपछि विश्व समुदायले युद्धविरामको पहल नगरेको होइन।
गाजाबाट इजरायलमाथि प्रहार हुन छाडेको छैन भने इजरायलले त्यस क्षेत्रमा रहेका हमासको बिउसमेत नराख्ने भन्दै प्रत्याक्रमण जारी राखेको छ। यसले सर्वसाधारण प्यालेस्टाइन मर्कामा परेका छन्। त्यही कारण जेरुसेलममा जसरी मानिस मिलेर बसेका छन् त्यसै गरी वेस्ट ब्यांक (पश्चिम किनारा) र गाजामा मिलेर बसे हुने धारणा इजरायलको छ। त्यहीअनुरूप इजरायलले यो क्षेत्रको नक्सा परिवर्तन गरेर आफू अलिक तन्किने दाउमा रहेको बुझ्न कठिन हुन्न।
इजरायलले राष्ट्रसंघका विभिन्न निकायले युद्धविरामका लागि पटक-पटक प्रस्ताव पारित गराए पनि वास्ता गरेको थिएन। २०२४ भरि नै युद्ध चल्ने जस्तो देखिन्थ्यो तर साम्य भएर भयंकर युद्ध भने रोकियो। हमासले बन्दी बनाएका नेपालीसहित अन्य नागरिक अझै फिर्ता हुन नसक्दा कुनै पनि समय युद्ध हुन सक्ने भनिएको छ। इजरायल र हमासबाट सुरु भएको युद्ध विस्तार भएर लेबनान, यमन मात्र होइन इरानसम्म पुग्यो।
गाजापट्टीबाट प्यालेस्टाइनमाथि शासन गरिरहेको हमास आतंककारीहरूले किबुजमा आएर सुतिरहेका कैयन् विदेशी र जुजहरूको हत्या गरेपछि इजरायलले पनि जवाफी कारबाही थालेको थियो। गाजामा आक्रमण भएको ६८० औँ दिनसम्म पुग्दा गाजापट्टीका ६२ हजारभन्दा बढी मानिस मारिएका छन् भने हजारौँ घाइते भएका छन्। लाखौँ विस्थापित भएका छन्। भोकमरी बढेको छ। हमासको आक्रमणमा इजरायलभित्र १२ सय मानिस मारिएका थिए। विपिनसहित २५१ जना बन्धक बनाइएकोमा अझै ७० जना मुक्त हुन सकेका छैनन्। जसमा २० जना सकुशल रहेको र अन्यको अवस्था अज्ञात रहेकाे उनीहरु बताउँछन्।

यो पहिलो पटक भने होइन
इजरायल र प्यालेस्टाइनबीचको लडाइँ विश्वकै सबभन्दा लामो मात्र होइन निकै हिंस्रक र ध्वंसात्मकमध्येको एक मानिन्छ। यसको इतिहास कोट्याउने हो भने धेरै अगाडि पुग्नुपर्ने हुन्छ। दुई पक्षबीच लडाइँको बिउ हो सीमा विवाद र अधिकार। पहिलो विश्वयुद्धपछिका घटना समेट्दा पनि इजरायल प्यालेस्टाइनका विषयमा स्पष्ट हुन सकिन्छ।
पश्चिम एसियाका केही भागमा शासन गरिरहेको अटोमान साम्राज्य बेलायतसित पराजित भयो। जसले गर्दा प्यालेस्टाइन क्षेत्र बेलायतको नियन्त्रणमा आयो। जुन समयमा बहुसंख्यक अरब, अल्पसंख्यक यहुदी र केही अन्य आदिवासी थिए त्यहाँ। विश्वभर छरिएर रहेका यहुदीको त आफ्नो राज्य थिएन। यद्यपि उनीहरू दुई हजार वर्षअघि नै इजरायलमा रहेको दाबी गर्दै आएका छन्।
बेलायतले यहुदीहरूका लागि प्यालेस्टाइनमा ‘आश्रय’ स्थापनामा सहमति जनाएपछि अरबले यहुदीमाथि आक्रमण गर्न थालेको हो। बेलायतले सन् १९४८ ताका प्यालेस्टाइन छोड्दा त्यस्तो आश्रय स्थल तय गरिदिएको थियो। यहुदीको ऐतिहासिक साइनो रहेका कारण त्यही भेगमा उसले आश्रय मागेको थियो। जहाँ प्यालेस्टिनी समुदायले आफ्नो पुरानो अधिकार रहेको जिकिर गरिरहन्थ्यो, जुन अहिले पनि गरिरहेकै छ।
पूर्वी र पश्चिम जेरुसेलम दुवैको संरक्षण हुने गरी बेलायतले व्यवस्थापन गरिदिएको पनि हो। यहुदीसँगै प्यालेस्टाइनको अधिकार पनि उत्तिकै हो भन्ने विषय बेलायतीले बुझेर दुई भाग लगाइदिएको थियो। अरब मुलुकहरूले प्यालेस्टाइनका पक्षमा लागेर यहुदीलाई त्यहाँबाट हटाउनैपर्ने अड्डी मात्र लिएनन् घोषणा गरेको भोलिपल्टबाट आक्रमण सुरु गरे। त्यसले भयंकार रूप लियो। अहिलेसम्म पनि अरब र यहुदीबीच लडाइँ चलिरहेकै छ।
अरबहरू आफ्नो क्षेत्रमा जमेर बसेका थिए। भर्खर आश्रय लिएका इजरायलीले कसरी सामना गरे भन्ने सोच्दा अहिले पनि अत्यास लाग्छ। तर पनि अस्तित्वका लागि इजरायली अर्थात् यहुदीहरू जवाफी कारबाही गर्न बाध्य भए। जबकि इजरायलीसँग न सत्ता न कुन अन्य प्रकारको तयारी थियो। थियो त केवल दिमाग। त्यही दिमागले अहिलेसम्म अरबको बीचमा एक्लो यहुदी जमेर बसेको छ। जति उसलाई आक्रमण गर्न खोज्छन् अरबले त्यति पटक भूभाग गुमाउँदै गएको विगत छ। इजरायलले बढाउँदै गएको देखिन्छ। तर पनि आफ्नै भूभागमा प्यालेस्टाइनहरूलाई सहज रूपमा राख्दै पनि आएको छ। यस क्रममा कैयौँ प्यालेस्टाइनहरू इजरायली नागरिक भइसकेका छन्।
इजरायलमा सन् १९२० को दशकदेखि १९४० सम्ममा यहुदीको संख्या बढ्दै गएको थियो। युरोपभर छरिएर रहेका यहुदी त्यहाँ एकगठ हुँदै गएको तथ्य बुझ्न सकिन्छ। हिटलरले होलोकास्टका समयमा ६० लाख बढी यहुदीको हत्या गरेपछि बाँचेकाहरू इजरायल पुगे। अनि त्यही इजरायललाई सुरक्षित स्थान बनाउन तल्लीन भए। र, ७५/७६ वर्षमा आफ्नो मुलुकलाई विकसित बनाउन सफल भए। सन् १९४८ मा इजरायल भन्ने नाम राखेर आश्रयस्थल बदले। एक वर्षमा राष्ट्रसंघले स्वतन्त्र राज्यको मान्यता पनि दियो। मान्यता पाउनुअघि अर्थात् आश्रय हुँदैदेखि युद्ध सुरु भएको थियो। सन् १९४९ मेमा युद्ध रोकिए पनि शृृंखलाबद्ध युद्ध भइरहेकै छ। युद्ध इजरायल आफैँले सुरु गरेको भने पाइँदैन।

राष्ट्रसंघमा सधैँ माथापच्ची
इजरायलले मान्यता पाउनुअघिदेखि युद्ध चलिरहेका कारण राष्ट्रसंघ पनि यो समस्या समाधानमा सचेत भएर लागेको देखिन्छ। तर यस्ता लडाइँ समाधानमा राष्ट्रसंघ खासै प्रभावकारी हुन सकेको छैन। समाधान निकाल्न नसकेकै कारण अमेरिकी रिपब्लिकनहरू राष्ट्रसंघलाई सफल निकायका रूपमा लिँदैनन्।
लामो बहसपछि राष्ट्रसंघमा प्यालेस्टाइन क्षेत्रलाई यहुदी र अरबका लागि भिन्नाभिन्नै राज्यमा विभाजन गर्ने पक्षमा मतदान भयो। जेरुसेलमलाई अन्तर्राष्ट्रिय सहरका रूपमा घोषणा गर्ने भनियो। तर अरब मुलुकले सहमति जनाएनन्। जसका कारण समस्या बढ्दै गयो। अरब मुलुकले पटक–पटक इजरायललाई नक्साबाटै हटाउने भन्दै युद्ध गर्न थाले। अहिले आएर त्यो युद्ध उनीहरूका लागि भारी परिरहेको छ।
थालनीमा यहुदीहरूको संख्या करिब साढे ६ लाख मात्र थियो। अरब मुलुकले कम समुदाय बसोबास गर्न किन ठूलो भूभाग चाहियो भन्दै किचलो गरेका थिए। तर अहिले इजरायलमा बसोबास गर्नेको संख्या ९२ लाखभन्दा बढी छ। तीमध्ये ७५ लाखभन्दा बढी प्रतिशत अर्थात् ७० लाख यहुदी इजरायलमा बसोबास गर्छन्।
राष्ट्रसंघमा अरब र यहुदीबीचको मतदानमा सहभागी नभएको बेलायतले समस्या समाधानको जिम्मा राष्ट्रसंघलाई लगाउँदै आफू फर्किएको थियो। राष्ट्रसंघले अहिलेसम्म समस्या समाधान गर्न सकेको छैन। ७६ वर्षसम्म पनि टुंगोमा पुर्याउन नसक्ने अवस्था किन आयो? यसको उत्तर स्पष्ट छ, ‘यहुदीको दिमाग’। बलियो बन्न सफल इजरायल नै हो। अनि अरब मुलुक पनि तेल बेचेर धनी बनिसकेको अवस्थामा पछिल्लो पटक शक्ति संघर्ष भइरहेको छ। इजरायलले एउटा कित्ता र अरबले अर्को कित्ताको विश्वको लबिङ गरिरहेका छन्। यसले गर्दा समस्या समाधान हुनेमा अन्योल छ।
इजरायललाई छुट्टै मुलुकको घोषणा गरेको भोलिपल्टै छिमेकका पाँच अरब मुलुकका सेनाले घेरा हालेका थिए। जुन संघर्षलाई इजरायलीहरू आफ्नो स्वतन्त्रताको युद्धका रूपमा लिन्छन्। सात महिनासम्म संघर्ष चल्यो र युद्धविराम भयो। युद्धका क्रममा इजरायलले आफ्नो भूभाग बढाइसकेको थियो। पूर्वीपश्चिम दुवै जेरुसेलम इजरायलको कब्जामा आयो भने इजिप्टको कब्जामा गाजा क्षेत्र र जोर्डनको कब्जामा वेस्ट ब्यांक रह्यो। युद्धका कारण करिब साढे सात लाख प्यालेस्टाइनहरू शरणार्थी बन्न पुगेका थिए।
त्यसपछि पनि सानातिना लडाइँ भइरहे। सन् १९६७ को ६ दिने युद्धलाई चाहिँ हामी पनि भुल्न सक्दैनौँ। यो युद्ध अरबका लागि निकै भारी पर्यो। जसले पश्चिम एसियाली राष्ट्रहरू अर्थात् अरबको सिमाना परिवर्तन गरिदियो। अनि प्यालेस्टाइनहरू गम्भीर संकटमा परे। त्यतिबेला इजरायलले अरबका हस्ती मुलुक इजिप्ट, सिरिया र जोर्डनसँग युद्ध गर्यो। इजिप्ट र सिरियाले आक्रमण गर्दै गर्दा इजरायलले इजिप्टको हवाई सेनाविरुद्ध प्रत्याक्रमण थालेको थियो। युद्ध समाप्त हुँदासम्म इजरायलले इजिप्टको कब्जाबाट साइनाई टापु र गाजा क्षेत्र नियन्त्रणमा लियो भने गोलन हाइट्सको अधिकांश भूभाग सिरियाबाट खोस्यो। अनि पूर्वी जेरुसेलम तथा वेस्ट ब्यांक जोर्डनबाट आफ्नो पक्षमा ल्यायो।
इजिप्टले भने यहुदीसँग शान्ति सन्धि गरेर साइनाई फिर्ता लियो। अन्य क्षेत्र आफैँसँग राख्यो। वेस्ट ब्यांकबाट करिब ८० प्रतिशत इजरायल देखिन्छ। जसले गर्दा त्यो अग्लो भूभाग इजरायलको सुरक्षाको लागि महत्त्वपूर्ण भएकाले पनि इजरायलले छोड्ने देखिन्न। यद्यपि त्यहाँ इजरायलका एक सय पचासभन्दा बढी भिन्नभिन्न बस्ती छन्। यहुदीहरू मिलेर बसेका पनि छन्। त्यसलाई अधीनस्थ प्यालेस्टाइन क्षेत्र भनिन्छ। जहाँ सात लाख यहुदी छन्। इजरायलले अन्तर्राष्ट्रिय समुदायसमक्ष उनीहरू स्थायी बासिन्दा रहेको जिकिर गर्दै आएको छ। बस्ती कुनै न कुनै ऐतिहासिक अधिकारसँग जोडिएकाले इजरायलले भूभाग नछोड्ने सन्देश पटकपटक दिएको छ। इजरायलीहरू प्यालेस्टाइन राज्य स्थापनाका पक्षमा छैनन्। त्यसो भयो भने इजरायलको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने चिन्ता इजरायली अधिकारीहरूको छ।
सबैको आँखा जेरुसेलममा
बेलायतीले सुरुमा इजरायललाई पश्चिम र प्यालेस्टाइनलाई पूर्वी जेरुसेलम उपलब्ध गराएको हो। प्यालेस्टाइनहरूले पश्चिम जेरुसेलम नदिने र इजरायलीलाई त्यहाँबाट भगाउने भन्दै अरब मुलुकसँग मिलेर युद्ध गरेपछि धेरै भूभाग गुमाए। अहिले इजरायल जेरुसेलम विभाजन गर्न चाहँदैन। इजरायलले जेरुसेलम एउटै रहेको भनेर त्यसलाई राजधानी बनाइसकेको छ।
प्यालेस्टाइनहरूले युद्धमा गुमाएको भूभाग पाउनुपर्ने भन्दै जेरुसेलममाथि दाबी गरिरहेको छ। सन् १९६७ को युद्धपछि पूर्वी जेरुसेलममा इजरायलले कब्जा जमाएको हो। इजरायलले अहिले राजधानी विभाजन गर्न नसक्ने जनाउँदै आएको छ। मृत सागर र भूमध्य सागरको बीचमा जुडियन पर्वतको पठारमा रहेको यो भूभाग साँच्चै अरब मुलुकका लागि लोभलाग्दो छ। त्यही कारण पनि यस क्षेत्रका लागि लडाइँ भइरहेको हो। पूर्वी जेरुसलेमका अधिकांश बासिन्दा प्यालेस्टिनी छन्। त्यसमा पनि धेरैजसोले इजरायली नागरिकता लिइसकेका छन्।
गाजामा भन्दा यहाँ रहँदा सुरक्षित हुने भएकाले उनीहरूले इजरायली भूमि रोजेका हुन सक्छन्। जेरुसेलम धार्मिक रूपले पवित्र र ऐतिहासिक सहर हो। मुस्लिमहरूको अल अक्सा मस्जिद वा हरम अल-सरिफ त्यहीँ छ। यहुदीहरूको टेम्पल माउन्ट त्यहीँ छ। राष्ट्रसंघ तथा अधिकांश अन्तर्राष्ट्रिय जनमतले पूर्वी जेरुसेलमलाई इजरायलले अधीनमा राखिरहेको भन्दै आएका छन्। अब त्यो भूभाग माग्नु भनेको नेपालले भारतसँग सिक्किम माग्न मिल्ला नि भने जस्तै हो। इजरायललाई खेद्न खोज्दा आफ्नै भूभाग गुमाएको प्यालेस्टिनीहरूले अब त्यो क्षेत्र इजरायलको अभिन्न अंग भइसकेको स्वीकार गर्नुको विकल्प छैन। यद्यपि बाँकी भूभागमा प्यालेस्टिनलाई राख्नुपर्ने भने देखिन्छ। तर प्यालेस्टिन रहेको क्षेत्रमा अरब मुलुकबाट संरक्षित आतंककारीहरू रहन नहुने इजरायली पक्षको अडान रहँदै आएको छ।
अहिले जेरुसेलममा यहुदी, इस्लाम र इसाई मिलेर बसेको देख्न सकिन्छ। मिल्नै नसक्ने हो भने त जेरुसेलममा हरेक दिन केही न केही मानिसको हत्या हुन्थ्यो होला नि! यस विषयलाई अन्तर्राष्ट्रिय राजनीतिमा बढी चर्चाको विषय बनाइएको मात्र हो। हमासको आतंककारी समूहलाई निस्तेज गरेर अरब मुुलुकले प्यालेस्टिनलाई कि इजरायलभित्र वा बाहिर राखेर स्वतन्त्र रूपमा रहन दिनुपर्छ। यसमा इजरायलले पहिल्यै सहमति जनाएको छ। अरब मुलुकले प्यालेस्टिनलाई देखाएर जेरुसेलमका नाममा ‘प्रोक्सिवार’ पनि गर्न सुहाउँदैन।

खण्डर बन्दै गाजा
हामीले करिब ८ सय मिटर वरबाट गाजा क्षेत्र नियाल्दा त्यो घना सहर खण्डहरझैँ देखियो। यद्यपि त्यति टाढाबाट मानवीय गतिविधि देख्न सम्भव भएन। गाजामा अग्ला भवन थिएनन्। सिमाना नजिक धुलो उडेको थियो। भत्केका घरहरू प्रशस्तै देखिएका थिए। गाजा क्षेत्र इजरायल, इजिप्ट तथा भूमध्य सागरले घेरेको भूभाग हो। जहाँ हमास विद्रोहीको शासन चलिरहेको छ। यो क्षेत्र चार सय १० वर्ग किलोमिटरमा छ। यति सानो सहरमा करिब २३ लाख मानिस रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पढ्न पाइन्छ। यसलाई विश्वकै घना बसोबास भएको क्षेत्रमध्ये एक मानिन्छ।
इजरायल घोषणा भएपछिको युद्धमा गाजा इजिप्टको कब्जामा थियो। सन् १९६७ को ६ दिने युद्धमा त्यो भाग इजरायलको कब्जामा रह्यो। त्यहाँ इजरायलले बस्ती विकास गर्दै प्यालेस्टिनी जनतालाई सैनिक शासनअन्तर्गत राखेको थियो। इजरायलले २० वर्षअघि गाजाबाट आफ्नो सेना हटाएको थियो। साझा सिमाना, हवाई क्षेत्र तथा समुद्री तटमा आफ्नो नियन्त्रण कायम राख्दै आएको इजरायलले अहिले फेरि आफैँले लिने बताइसकेको छ। २००६ को निर्वाचनमा हमास निर्वाचित भएपछि प्यालेस्टाइनी प्रतिद्वन्द्वीहरू गाजाबाट लखेटिए। त्यसको विरोधमा इजरायल र इजिप्टले नाकाबन्दी गरिदिएका थिए। त्यसयता इजरायल र हमासबीच द्वन्द्व चल्दै आएको हो। सन् २००८, २००९, २०१२, २०१४, २०२१ र २०२३ सम्म पनि युद्ध जारी छ। हरेक युद्धमा दुवै पक्षका धेरै मानिस मारिएका छन्। अधिकांशचाहिँ गाजापट्टीकै मानिसको ज्यान जाने गरेको छ।
विश्वको केही तप्का प्यालेस्टाइनलाई छुट्टै राज्य दिनुपर्ने माग गरिरहेका छन्। इजरायललाई नै लखेट्नुपर्ने सोच राख्ने अरबकै कारण प्यालेस्टाइनले राज्य नपाएको कुरा अझै कैयन् मानिसले बुझ्न सकेका छैनन्। १४३ मुलुकले प्यालेस्टाइनलाई राष्ट्रसंघको पूर्ण सदस्य बनाउँदै छुट्टै राज्य उपलब्ध गराउनुपर्नेमा हस्ताक्षर त गरे तर राज्य कहाँ दिने? इजरायलले लडेर लिएको भूमि फिर्ता गर्दैन अनि अरबले मिलाएर राखे त हो। यस विषयमा सुरुमै सोच नपुग्दा समस्या भएको हो। इजरायलको नक्सा हटाउने भन्दा यतिबेला अरब मुलुकको नक्सा फेरिएको छ। अहिले विश्वभर ५९ लाख प्यालेस्टिनीहरू शरणार्थीका रूपमा छन्। उनीहरू इजरायलभित्रै पनि रहन सक्ने अवस्था छ।

इजरायलले पुन: गाजा नियन्त्रण लिएपछि पुनर्संरचना
इजरायलले गाजा सहरलाई आफ्नो नियन्त्रणमा लिएर पुनर्संरचना गर्ने जानकारी दिएको छ। पहिले पनि गाजा इजरायलले नियन्त्रणमा राखेर पुनर्संरचना गरेको हो। त्यहाँ पानीसमेत इजरायलले उपलब्ध गराउँदै आएको छ। अहिले पनि सहरका अधिकांश भाग इजरायली सैन्य नियन्त्रणमा छ। पूर्ण रूपमा नियनत्रण्मा लिएपछि इजरायलले पुनर्संरचना गर्ने त्यहाँको सरकारी सञ्चार संस्था ‘कान टीभी न्युज’ ले दिएको छ।
इजरायली सुरक्षा परिषद्ले पनि त्यस प्रकारको निर्णय लिने अधिकारीहरूले बताएका छन्। गाजाका करिब आठ लाख प्यालेस्टाइनलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गरेर त्यहाँँ पुनर्संरचना गर्ने भनिएको छ। ६ महिनामा सबै आश्रय क्षेत्र तय गरेर इजरायल अघि बढ्ने भएको हो। इजरायलले यसको जानकारी अमेरिकी सरकार र राष्ट्रसंघलाई दिइसकेको छ। त्यसैले यस विषयमा विश्वभर बहस सुरु भएको छ।
इजरायलले गाजामा सैन्य आक्रमणको घोषणा गरेयता इजरायलभित्र र अन्तर्राष्ट्रिय समुदायबीच समर्थन र विरोधका समाचारहरू आइरहेका छन् । नेपालका लागि दुई कार्यकाल इजरायली राजदूत भइसकेका हानन गोदारले इजरायली जनताले हमासको आतंकबाट मुक्ति चाहेको बताए। विश्वले आफूहरूलाई सर्पसँग बस मरे मर भन्ने गुनासो उनको छ। गोदारले भने, ‘के हाम्रा सेनाले आँखा झिमिक्क गर्नेबित्तिकै हाम्रो तर्फ आक्रमण हुने पनि कुनै तरिका हुन्छ? योचाहिँ कुन न्याय हो? यसमा बहस हुनु पर्दैन? अनि इजरायलीहरू आफ्ना सन्तान परिवार गुमाएर चुप रहनुपर्ने?’
‘इजरायल अरू सबै कुरामा लचिलो हुन तयार छ तर आतंकवाद र इजरायली भूमि तथा जनताको सुरक्षामा कुनै सम्झौता गर्ने छैन,’ लामो समयदेखि भइरहेको द्वन्द्वबारे प्रस्ट पार्दै उनले इजरायल भ्रमणमा रहेका नेपाली पत्रकार टोलीलाई भने, ‘आँखा झिमिक्क गर्यो कि हामीमाथि आतंकवादी आइलाग्न सक्छन्, त्यसैले आँखासमेत नझिम्क्याईकन इजरायली सुरक्षा फौज चौबिसै घण्टा अलर्ट छ ।’ सधैँ यसरी रहन गाह्रो हुन्छ? अनि मानवअधिकार आतंककारीको मात्र हुने हाम्रो नहुने?’ टोली इजरायली विदेश मन्त्रालयको निमन्त्रणामा गएको हो।
हमासको अन्त्य गर्न र उनीहरूको बन्धकमा रहेका इजरायली जनता, नेपालका विपिन जोशी तथा अन्य देशका नागरिकलाई मुक्त गरेर ल्याउन इजरायली जनताबाटै व्यापक दबाब रहेको हानन बताउँछन्। काठमाडौँस्थित इजरायली दूतावासकी नियोग उपप्रमुख जानन बिबरले पनि नेपाली पत्रकार टोलीलाई इजरायल सरकारको द्वन्द्व नीतिबारे प्रस्ट पार्दै भनिन्, ‘मुख्य कुरा आतंककारीको अन्त्य हुनुपर्छ र इजरायली जनताले शान्तिपूर्वक बाँच्न पाउनुपर्छ। यसमा हामी अडिग छौँ।’

त्यहाँको दृश्य देख्दा…
इजरायली परराष्ट्र मन्त्रालयको निमन्त्रणामा हामी त्यहाँ पुग्दा लागेको थियो– घटनास्थलमा लैजाँदैनन्। यस्तै आफू अनुकूल ब्रिफिङ मात्र गर्ने होलान् भन्ने हाम्रो सोचाइ थियो। किनभने हामीलाई पर्यटकीय स्थलमा मात्रै भ्रमणमा लैजाने भनिएको थियो। अन्तिम दिनसम्म हामीलाई कार्यक्रम विवरण उपलब्ध गराएको थिएन। भोलिपल्टको कार्यक्रम अघिल्लो दिन राति १० बजे मात्र उपलब्ध गराइन्थ्यो।
हाम्रो टोली एक दिन हमासले आक्रमण गरेको दक्षिण इजरायलको दुई किबुजसँगै त्यसका आसपास क्षेत्र र अर्को दिन इरानले मिसाइल आक्रमण गरेको उत्तरपूर्वी इजरायलको लेबनान तथा सिरियासँगको त्रिदेशीय सीमा क्षेत्र गोलेन हाइट्स भ्याली पुगेको थियो।
दुवै स्थानको अवलोकन गर्दा आतंककारी समूहले निहत्था नागरिक र बालबालिकालाई समेत ख्याल नराखी आक्रमण गरेको देखिन्छ। कुनै पनि खालको मानवीयता त्यहाँ देखाइएको थिएन। खेलिरहेका बालबालिकामाथि क्षेप्यास्त्र प्रहार भएको रहेछ। भत्किएको स्थान हेर्दा आतंक फैलाउनेलाई जहाँ पुगेर पनि नियन्त्रणमा ल्याउन सक्नुपर्ने देखिन्छ।
अरब मुुलुकले समेत इजरायललाई साथ दिएर आतंकवादको अन्त्य गर्नुपर्छ। अन्यथा अहिले त अरब मुलुकले संरक्षण गरेको भनिएको आतंककारीहरू पछि अरब मुलुककै लागि भारी पर्न सक्छ। जुन पाकिस्तान र अफगानिस्तानमा प्रस्टै देखिएको छ। क्षति अवलोकन तथा पीडितसँग भेट्ने क्रममा उनीहरूले भने, ‘हेर्नुहोस्, आतंककारीले बालबालिका, गर्भवती, महिला, वृद्धवृद्धा सबैलाई कसरी निर्मम हत्या गरेका छन् ? तर पनि इजरायली सेना संयमित भएर बसेका हुन्। लामो समयदेखि जनताले आतंककारीमाथि सैन्य कारबाही गर्न दबाब दिए पनि उनीहरू चुप थिए।’ आक्रमणमा निर्दोष कोही नपरून् भनेर इजरायली सरकार र सेना चुप रहेको बुझाइ उनीहरूको छ।

‘इजरायल अरू सबै कुरामा लचिलो हुन तयार छ तर आतंकवाद र इजरायली भूमि तथा जनताको सुरक्षामा कुनै सम्झौता गर्दैन’, नेपालका लागि इजरायली दूतवासका उपप्रमुख जाननले भनिन् । इजरायलको सैन्य कारबाही आतंककारीविरुद्ध लक्षित छ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा नियन्त्रणमा लिने जानकारी गराएपछि सर्वसाधारण उनको विरोधमा उत्रिएका थिए। कैयन् इजरायलीको धारणा गाजा नियन्त्रणमा लिन नहुने र त्यसलाई ‘बफर’ कै रूपमा राख्नुपर्ने भन्ने छ। विश्व समुदायले पनि प्यालेस्टाइन छुट्टै राज्यको परिकल्पना गर्नुपर्ने बताउँदै आएको छ।
गाजा नियन्त्रणमा लिने सरकारी घोषणाकै दिन इजरायलमा प्रदर्शन भएका थिए। राति अबेरसम्म जेरुसेलम र तेल अविव सहरमा सवारी जामले जनजीवन अस्तव्यस्त बनेको थियो । बिदाको दिन त्यहाँ आफ्ना नागरिकलाई हमासबाट फिर्ता ल्याउन प्रदर्शन हुने गरेको छ। पूर्वसैनिकको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन भए पनि सरकार पछि हटेको छैन।
इजरायलका पूर्वसैनिक म्याक्स क्रेसले प्रधानमन्त्री नेतान्याहुको राजनीतिक युद्धलाई तीन सय ५० भन्दा बढी पूर्व सैन्यहरूले अस्वीकार गरेको धारणा राखेका थिए। इजरायलले सहायता वितरणसँगै आक्रमण पनि उत्तिकै महत्त्व दिएको छ। मानवीय सहायता उपलब्ध गराउने, गाजा विलय गराउन आवश्यक तयारी, हमासको निःशस्त्रीकरण, बन्धक फिर्ता र त्यहाँको सुरक्षा जिम्मा इजरायलले लिने उल्लेख छ। यसमा सहमत भए गाजाँ साँच्चै घना र लोभलाग्दो सहर बन्नेछ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले विदेशी सञ्चारमाध्यमलाई विशेष सम्बोधन गर्दै भनेका छन्, ‘इजरायलको लक्ष्य गाजालाई कब्जा गर्नु होइन, गाजालाई स्वतन्त्र बनाउनु हो। हामीसामु अरू विकल्प छैन। हामीले यो काम पूरा गर्नैपर्छ र हमासलाई पूर्ण रूपमा पराजित गर्नैपर्छ।’
समाधान के त?
इजरायल र प्यालेस्टाइनबीच शान्ति कायम गर्ने अन्तर्राष्ट्रिय समर्थन प्राप्त सूत्र नै दुई राज्य समाधान हो। यसले वेस्ट ब्यांक र गाजामा एक स्वतन्त्र प्यालेस्टिनी राज्यको अवधारणा अघि बढाएमा यो समस्याको दिगो समाधान निस्कनेछ। बेलायतले सुरुमा पूर्वी र पश्चिमी जेरुसेलम छुट्याएझैँ अहिले त्यो गर्न सम्भव छैन तर अन्य भेगमा राखेर भए पनि समाधान खोज्न आवश्यक छ।
इजरायलले ‘दुई राज्य समाधान’ को राष्ट्रसंघीय सूत्रलाई अस्वीकार गर्दै भनेको छ, ‘सर्तसहितको समाधान अस्वीकार्य छ। वार्ताबाट समाधान निकाल्ने हो। सर्तसहित समाधानमा त वार्ता नै आवश्यक पर्दैन।’ प्यालेस्टाइनले भने दुई राज्यलाई स्वीकार गरेको छ। प्यालेस्टाइनमाथि गाजा क्षेत्रमा नेतृत्व गरिरहेको हमास लडाकुले भने त्यसलाई अस्वीकार गरेको छ। हमासले इजरायलको अस्तित्व नै अस्वीकार गरेकाले पनि यस्तो धारणा राखेको हो।

इजरायलको चर्चित मिडिया ‘आई-ट्वान्टीफोर न्युज’ प्रमुख अली वाक्डले नेपाली पत्रकारसँगको अन्तरक्रियामा भने, ‘गाजामा मेरा केही आफन्त द्वन्द्वमा मारिएका छन्, केही आफन्त र साथी सेनामा रहेकाले दुई खालको सम्बन्ध र अनुभवले मलाई दुई–राष्ट्र नै समाधान हो भन्ने विश्वास दिलाएको छ।’ कतिपयले एक राष्ट्रको एक राज्य तर दुई प्रशासनको विषय पनि उठाएका छन्। त्यो पनि नराम्रो भने होइन। इजरायल आफूले पनि हमासबाट मुक्त गाजा खोजेको देखिन्छ भने प्यालेस्टाइन पनि हमास बीनाको राज्य खोजेकाे देखिन्छ।
‘यो भूमिमा इजरायलीका रूपमा बाँच्ने मेरो अधिकार जति वैध छ, त्यति नै वैध अधिकार हरेक प्यालेस्टिनीलाई आफ्नो मुलुक पाउँछु भन्नेमा छ’, अलिले भने, ‘म यसमा विश्वास पनि गर्छु, सुरक्षित र लोकतान्त्रिक इजरायल त्यतिबेला सम्भव हुन्छ जब त्यसका प्यालेस्टिनीहरू उसका छिमेकीहरूसँग पनि सुरक्षित हुन्छन्।’
एक राष्ट्र दुई प्रशासन भने हुन सक्छ। त्यस्तो व्यवस्था हङकङमा छ। अलि जस्तै इजरायली धेरै नागरिकका नातेदार गाजामा छन्। उनीहरू कोही इजरायल आउन चाहन्छन् भने कतिपय दबाबका कारण त्यहाँ आउन पनि सकेका छैनन्। सबै नागरिकका लागि पूर्ण लोकतन्त्र भएको इजरायल हुनुपर्छ भन्नेमा अलिजस्ता प्यालेस्टाइनी पत्रकार स्पष्ट छन्।
(इजरायलको स्थलगत भ्रमणपछि त्यहाँका अधिकारीहरूको धारणाका आधारमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका आँकडाको आधारमा तयार पारिएको सामग्री।)