
काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघमा तीब्र विवाद छ। संस्थापन मानिने माधवकुमार नेपाल पक्षले आफूहरूलाई बाइपास गरेको भन्दै सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षधर युवा नेताहरू तीब्र असन्तुष्ट छन्। यसअघि नेपाल पक्षले रोशन थापाको नेतृत्वमा युवा संघको नयाँ नेतृत्व चयन गरेको थियो। नेपाल पक्षले मनोमानी ढंगबाट नेतृत्व चयन गरेको भन्दै इतरपक्ष मानिने सन्जीव राई पक्षधर नेता असन्तुष्ट थिए।
उनीहरूले काठमाडौँ शाखाको भेला बोलाएर आक्रामक हुने संकेत देखाएका थिए। तर नेपाल पक्षले थापाकै नेतृत्वमा राष्ट्रिय सम्मेलनमा जानेगरी समितिलाई पूर्णता दिएपछि राईपक्ष आक्रोशित बनेको हो। राईपक्षले हिजो मात्रै नेपालपक्षलाई ज्ञापनपत्र बुझाउँदै २४ घण्टे अल्टिमेटम दिएको छ।
युवा संघका ७ पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।उपमहासचिवद्वय सन्जीप राई र निर्भीक खनाल, सचिवहरू बाबुराजा श्रेष्ठ, अनिल बोगटी, जित बहादुर हमाल (कुमार), खड्क आचार्य र भेषराज शाहले असन्तुष्टि जनाएका हुन्।
पार्टीको निर्णय र संघको विधानलाई लत्त्याउँदै गरिएका अराजनीतिक निर्णयहरुले युवा संघ नेपालको मर्ममा गम्भीर चोट पुर्याएको आरोप उनीहरूको छ।
पार्टीले ०८१ माघ १४ गते जारी गरेको अपानि ४ को बुँदा न। ६ बमोजिम संघको तत्कालीन नेतृत्व र पदाधिकारीहरू केन्द्रीय सदस्य भई सकेकाले युवा संघबाट बिदा गर्ने र इन्चार्ज लक्ष्मण केसीलाई संगठनको सम्मेलन लगायतको कामको योजना बनाइ अगाडि बढाउन निर्देशन गरेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘तर इन्चार्ज कमरेडले मनोमानी ढंगबाट नेतृत्व तोक्ने, कार्यदल बनाउने र कथित कार्यदलको नाममा राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गर्ने काम गरेका छन् । जसको कारण विगत ४ वर्ष अगाडी दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोहको नेतृत्व गरेका युवा संघ नेपालका पदाधिकारी, स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीका सदस्य कमरेडहरू, जो पार्टी संगठन र युवा संघको काममा निरन्तर अविचलित भई खडा भइरहेको छ ।’
राजनीतिक इतिहास र आत्मसम्मानमा चोट पुर्याउँदै संघको विधानको विरुद्ध ९ औँ राष्ट्रिय महाधिवेशनको नाममा जारी भएको कथित सर्कुलर र इन्चार्जको अकर्मण्यताप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘साथै पटकौ पटक खबरदारी गर्दा समेत संघको विधानको बलमिचाइ गरी रहेकोले २४ घण्टा भित्र निर्णय नसचाए, सङ्घलाई गलत दिशाबाट जान रोक्न युवा सङ्घ नेपालको विधान, पद्धति र प्रक्रियाको पालना गर्दै, नसच्चाए समाजवादी आन्दोलनलाई क्रान्तिकारी रूपान्तरणका लागि संगठनलाई व्यवस्थित गर्दै अगाडी बढाउने कुरा जानकारी गराउँदछौँ।’ माग पूरा नगरेमा संस्थापन इतरको नयाँ समिति बनाउने राईपक्षले दाबी गरेको छ। उनीहरूका अनुसार आज नै उनीहरूले नयाँ कमिटी बनाउने तयारी गरेका छन्। निकट स्रोतका अनुसार संयोजकमा सन्जीवलाई राखेर महासचिवमा भेषराज शाह बनाउने गरेको छ। नयाँ कमिटीको संरचना अहिले बन्दै गरेको बताइएको छ।