
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा शिखर बैठक भएको छ। बैठकलाई युक्रेन युद्धमा शान्तितर्फको एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको थियो। यद्यपि युद्धविराम हुन सकेन।
ट्रम्पले मस्को भ्रमणको निम्ता पाएका छन्। दुई नेताबीच लगभग तीन घण्टा चलेको यो बैठकले धेरै प्रश्न उठायो तर जवाफ कम दियो। प्रस्तुत छ अलास्कामा भएको शिखर बैठकसम्बन्धी पाँच महत्त्वपूर्ण बुँदा :
रेड कार्पेटबाट विश्वमञ्चमा पुटिनको फर्किने यात्रा
शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन अलास्कामा पुगेका बेला आकाश बादलले ढाकिएको थियो। अमेरिकी सैन्य आधार शिविरमा रेड कार्पेट बिच्छाइएका थिए र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनको स्वागत गर्दै थिए।
जसरी पुटिन अघि बढे, ट्रम्पले ताली बजाए। दुवै नेताले न्यानोपनका साथ हात मिलाए र मुस्कुराए। यो क्षण पुटिनका लागि अत्यन्त महत्त्वपूर्ण थियो। पश्चिमी देशहरूले २०२२ मा युक्रेनमाथि रूसी आक्रमणपछि उनलाई अलग्याएका थिए। त्यसपछि उनका अन्तर्राष्ट्रिय भ्रमणहरू उत्तर कोरिया र बेलारूसजस्ता रूस समर्थक देशमा सीमित थिए।
अलास्का बैठक पुटिनका लागि एउटा ठूलो जितजस्तै थियो। तर यो स्वागत सायद रूसको कल्पनाभन्दा पनि पर थियो। छ महिनाभित्र पुटिनलाई पश्चिमी देशहरूले ‘पराया’ भनी हेर्ने देखि लिएर अमेरिका भूमिमा अतिथिका स्वागत गर्नुसम्मको यात्रा भयो। एउटा अप्रत्यासित क्षण पनि आयो। पुटिनले आफ्नो मस्को-प्लेटेड राष्ट्रपति कार छोडेर ट्रम्पको बख्तरबन्द लिमोजिनमा एयरबेस जाने निर्णय गरे।
गाडी जाँदा क्यामेराले पछाडिको सिटमा बसेका हाँसिरहेका पुटिनको क्लोज-अप सट लिन सफल भएको थियो।
पुटिनसँग कहिल्यै नसोधिने प्रश्न सोधिए
रूसमा २५ वर्षदेखि सत्ता सम्हालेका पुटिनले मिडियामा पूर्ण नियन्त्रण कायम गरेका छन्। पत्रकारिताको स्वतन्त्रतालाई दबाएर सूचनाको सट्टा प्रचार सामग्री थोपरेको आरोप उनीमाथि छ। त्यसैले त रूसमा उनीसँग कहिल्यै असहज प्रश्न सोधिँदैन।
तर अलास्कामा एक पत्रकारले उनलाई सोधे, ‘के तपाईँ साधारण जनताको हत्या रोक्नुहुनेछ?’ पुटिनले कुनै प्रतिक्रिया नदिई अन्यत्र फर्किए।
केही समयपछि फोटो सेसनमा फेरि प्रश्न सोधिएको थियो। एउटा रूसी पत्रकारले भ्लोदिमिर जेलेन्स्कीसँग त्रिपक्षीय बैठक हुन्छ कि हुँदैन? जवाफमा पुटिन हल्का मुस्कानसहित मौन रहे।
वार्ता सकिएपछि के भनियो?
संसारभरको मिडिया प्रेस कन्फरेन्सको अपेक्षा गर्दै थियो। तर दुवै नेताले वक्तव्य मात्र दिए। कुनै प्रश्नको जवाफ दिएनन्। सबैभन्दा पहिले पुटिनले बोले। उनले वार्तालाई ‘सम्मानजनक’ भने र अलास्काको रूसी इतिहासको चर्चा गर्न थाले।
केही मिनेटपछि मात्र उनले युक्रेनको स्थितिबारे आफ्नो दृष्टिकोण राखे। उनले एउटा सम्झौता भएको बताए। तर वास्तविक कारण समाप्त नगरी शान्ति सम्भव नभएको उनको भनाइ थियो।
यस वक्तव्यले युक्रेन र अन्य देशका लागि खतरा संकेत गरेको हुन सक्छ। २०२२ देखि युद्ध सुरु भएयता पुटिनले बारम्बार यही माग राख्दै आएका छन्- क्राइमिया, डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसोनमा रूसी प्रभुत्वको मान्यता, युक्रेनलाई हतियार उपलब्ध नगराउने, विदेशी सेनाको अनुपस्थिति र युक्रेनमा नयाँ चुनाव गराउने।
यी युक्रेनको हार र समर्पणका सर्त हुन्। जुन युक्रेनका लागि अस्वीकार्य छन्। यसबाट स्पष्ट भयो- कुनै ठोस सम्झौता भएको छैन।
ट्रम्पले न त युक्रेनको नाम लिए र न त युद्धविरामको
बैठकको वास्तविक कारण र सन्दर्भ हेर्दा आश्चर्यलाग्दो अर्को प्रसंग हो ट्रम्पले न त युक्रेनको नाम लिए र न त युद्धविरामको। उनले यति मात्रै भने, ‘हरेक हप्ता पाँच–छ हजारदेखि सात हजार मानिस मारिन्छन् र पुटिन पनि रक्तपात समाप्त गर्न चाहन्छन्।’
साधारणतया धेरै बोल्ने ट्रम्प यसपटक पुटिनभन्दा पनि कम बोले। उनको वक्तव्य छोटो थियो, जुन असामान्य थियो। सबैभन्दा बढी वक्तव्यको अस्पष्टताले ध्यान खिच्यो। उनले भने, ‘धेरै विषयमा हाम्रो सहमति बनेको छ। अत्यन्त प्रभावकारी बैठकमा ठूलो प्रगति भएको छ।’
उनले कुनै विवरण दिएनन्। न त कुनै ठूलो सम्झौता भयो न त राष्ट्रपति जेलेन्स्कीसँग त्रिपक्षीय बैठकको घोषणा भयो।
ट्रम्पले ती रुसमाथिको ‘गम्भीर परिणामहरू’ को उल्लेख पनि गरेनन्, जसको धम्की उनले युद्धविराम नभएमा लागू हुने बताएका थिए। ट्रम्पले स्वीकारे, ‘हामी त्यहाँसम्म (युद्धविराम) पुगेनौँ।’ उनले आशाचाहिँ व्यक्त गरे, ‘तर हामीसँग त्यहाँ पुग्ने राम्रो अवसर छ।’
अर्को पालि मस्कोमा?
युक्रेन युद्धमा कुनै स्थायी समाधान निस्किएको छैन तर शिखर बैठकले रूस र अमेरिकाबीचको सम्बन्ध फेरि नजिक ल्याएको छ।
दुवै नेताका बारम्बार हात मिलाउँदै र मुस्कुराउँदै गरेका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भए। अमेरिकी सैनिकहरूले पुटिनको विमानबाट ओर्लँदै रेड कार्पेट बिच्छाइरहेका तस्बिर पनि चर्चाको विषय बने।
पुटिनले आफ्नो वक्तव्यमा ट्रम्पको पुरानो दाबीको समेत उल्लेख गरे। ट्रम्प सत्तामा रहेका भए युक्रेन युद्ध कहिल्यै सुरु नहुने उनको भनाइ थियो।
अलास्का शिखर बैठकबाट कुनै ठोस नतिजा भने आएको छैन। दुवै नेताले रूसमा अर्को भेटको सम्भावना भने खुला छोडेका छन्। ट्रम्पले भने, ‘म सायद चाँडै तपाईंलाई फेरि भेट्नेछु।’ पुटिनले पनि सहज भएर भने, ‘नेक्स्ट टाइम इन मोस्को। (अर्को पालि मस्कोमा)’
ट्रम्पले हाँस्दै भने, ‘ओहो! यो रोचक छ। यसका लागि मैले आलोचना सहनुपर्छ। तर म यसलाई सम्भव ठान्न सक्छु।’ बीबीसीबाट