
काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध अन्त्य गर्न असफल भएका छन्। अमेरिकाको अलास्कामा स्थानीय समयअनुसार शुक्रबार भएको पुटिन र ट्रम्पबीचको शिखर बैठक युक्रेनमा शान्तिका लागि कुनै ठोस प्रगतिबिना नै समाप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रुसले सन् २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि पहिलोपटक अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीच बैठक भएको हो। बैठकमा दुवै नेता युक्रेन युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता लिन असफल भएका छन्। यसबाट पश्चिमी मुलुकले पुटिनलाई अलग्याउने वर्षौँको प्रयास समाप्त भएको छ।
बैठकअघि ट्रम्पले रुसी राष्ट्रपतिसमक्ष युक्रेनमा युद्धविरामको माग गर्ने बताएका थिए। पुटिनले युक्रेनलाई आत्मसमर्पण गर्नुपर्ने आफ्नो कठोर माग नछोडेपछि ट्रम्प बिनाप्रतिबद्धता अलास्काबाट वासिंटन फर्किएका छन्।
राष्ट्रपति ट्रम्पले भविष्यमा पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच वार्ताको सम्भावना रहेको बताए। उनले बैठकपछि युद्ध अन्त्य गर्ने जिम्मेवारी अब किभ र उसको युरोपेली सहयोगीहरूमै रहेको स्पष्ट पारे। ‘अब यो युद्ध अन्त्य गर्ने जिम्मेवारी राष्ट्रपति जेलेन्स्कीमाथि छ’, ट्रम्पले शिखर सम्मेलनपछि भने, ‘म भन्छु- युरोपेली राष्ट्रहरू पनि अलिकति संलग्न हुनुपर्छ। तर यो जिम्मेवारी राष्ट्रपति जेलेन्स्कीमाथि नै छ। उनीहरू चाहन्छन् भने म अर्को बैठकमा सहभागी हुनेछु।’
ट्रम्पले जेलेन्स्कीलाई सम्झौता गर्न पनि सुझाव दिए। उनले भने, ‘रुस एकदम ठूलो शक्ति हो तर उनीहरू (युक्रेनीहरू) होइनन्। उनीहरू ठूलो युद्ध मसिनसँग लडिरहेका छन्।’ ट्रम्पले युद्धविराम सहमति नगरेमा रूसको अर्थतन्त्रमा प्रहार गर्ने योजनाबाट पनि पछि हट्ने संकेत गरेका छन्। साथै उनले रुसबाट तेल आयात गर्ने चीनजस्ता देशलाई दण्डित गर्ने प्रस्ताव स्थगित गर्ने संकेत गरेका छन्।
अलास्काको अंकोरिजमा ट्रम्पले पुटिनबाट कुनै सम्झौता गर्न नसक्दा कतिपय विज्ञहरू निराश भएका छन्। युक्रेनका लागि पूर्वअमेरिकी राजदूत विलियम सन् १९४५ मा युरोप बाँडिएको बैठक र १९३८ मा नाजी जर्मनीसँगको सम्झौताप्रति संकेत गर्दै भने, ‘सकारात्मक कुरा यो हो-यहाँ कुनै याल्टा छैन, कुनै म्युनिख छैन तर नकारात्मक कुरा यो हो-कुनै युद्धविराम छैन।’
सेन्टर फर ए न्यु अमेरिकन सेक्युरिटीकी एन्ड्रिया केन्डल टेलरले यो बैठक पुटिनका लागि ठूलो जित भएको बताइन्। ट्रम्पले रुसी नेताले युद्धविराममा सहमति नगरे कडा परिणाम हुने बाचा गरेको अवस्थामा रुसलाई फाइदा पुगेको दाबी उनको छ। ‘पुटिन दबाब उल्ट्याउन निकै सिपालु छन्’, पूर्व सीआईए विश्लेषक टेलरले भनिन्।
जो बाइडेनको राष्ट्रिय सुरक्षा परिषद्मा काम गरेका एरिक ग्रिनले अलास्का शिखर सम्मेलनले अमेरिकाको युक्रेन नीति परिवर्तन भएको देखिएका बताए। ‘मलाई गत फेब्रुअरीमा ह्वाइट हाउसमा जेलेन्स्की भेटघाटको निरन्तरता जस्तो लाग्यो’, उनले भने। उनले युक्रेनमा युद्धबाट निरन्तर क्षय भइरहेकोमा चिन्ता व्यक्त गरे।
दुवै नेताहरूले करिब तीन घण्टा बैठक गरेका थिए। जसमा दुईदुईजना उच्च अधिकारी र एकजना दोभाषे पनि सहभागी थिए। उनीहरूले १२ मिनेटको पत्रकार सम्मेलनमा संक्षिप्त वक्तव्य दिए तर पत्रकारले सोधेका कुनै पनि प्रश्नको उत्तर दिन इन्कार गरिदिए।
उनीहरूले कुनै सहमति भएको वा नभएको विषयमा भिन्न धारणा प्रकट गरे। पत्रकार सम्मेलनमा पहिलो वक्ता बनेका पुटिनले भने, ‘आज भएका सम्झौता केवल युक्रेनी समस्याको समाधानका लागि मात्र नभई रूस र अमेरिकाबीच व्यावसायिक र व्यावहारिक सम्बन्ध पुनर्स्थापना गर्ने प्रारम्भिक बिन्दु बन्ने आशा गर्छु।’
राष्ट्रपति ट्रम्पले सम्झौता तहसम्म पुग्न नसके पनि सम्भावना भने राम्रो भएको बताए। उनले भने, ‘सम्झौता तबसम्म हुँदैन, जबसम्म सम्झौता हुँदैन। हामी त्यहाँ पुग्न सकेनौँ तर हामीसँग त्यहाँ पुग्ने राम्रो सम्भावना छ।’
ट्रम्पले अत्यन्तै सार्थक बैठक गरेको दाबी गरे। उनले भने, ‘हामी धेरै बुँदामा हामी सहमत भयौँ। म भन्छु, केही ठूला बुँदामा हामी अझै पुग्न सकेका छैनौँ तर प्रगति गरेका छौँ।’ उनले आफूले चाँडै नाटो र अन्य सम्बन्धित व्यक्तिहरूलाई फोन गर्ने बताए। साथै उनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई पनि बैठकबारे अवगत गराउने भएका छन्। उनले भने, ‘अन्ततः यो उनीहरूकै हातमा छ। धेरै बुँदामा सहमति भएको छ, थोरै मात्र बाँकी छन्।’
पुटिनले ट्रम्पसँग भएको ‘समझदारी’ शान्ति ल्याउन मद्दत पुर्याउने आशा गरे। साथै उनले आफ्नो अडान परिवर्तन नभएको संकेत दिए। ‘रूस साँच्चिकै युक्रेनी द्वन्द्व अन्त्य चाहन्छ तर द्वन्द्वका सबै कारण समाधान हुनैपर्छ’, उनले भने।
युक्रेनी राष्ट्रपति टोलीका एक सहयोगीले बैठकको परिणाम अत्यन्त अचम्मको भन्ने प्रतिक्रिया दिए। ट्रम्पले पटकपटक दाबी गरेका छन्- रूसको आक्रमण आफ्नो कार्यकालमा हुने थिएन। पत्रकार सम्मेलनमा पुटिनले पनि यस भावनासँग सहमति जनाउँदै ट्रम्पको अहंकारलाई साथ दिएको देखिन्थ्यो। ट्रम्पले पुटिनतर्फ फर्केर टाउको हल्लाउँदै सहमति जनाएका थिए।
ट्रम्पले चाँडै फेरि पुटिनलाई भेट्ने आशा व्यक्त गरेपछि पुटिनले अंग्रेजीमा जवाफ दिए- ‘पछिल्लो पटक मास्कोमा?’
ट्रम्पले जवाफ दिए, ‘यो रोचक छ। त्यसबारे मलाई केही आलोचना हुनेछ तर म सम्भवना देख्छु।’
शिखर सम्मेलनअघि ट्रम्पले अलास्काको एल्मेन्डोर्फ एयर फोर्स बेसमा रुसी राष्ट्रपति पुटिलाई अमेरिकी सेनाले ओछ्याएको रातो कार्पेटमा स्वागत गरेका थिए। उनले मुस्कुराइरहेका पुटिनलाई आफ्नो बुलेटप्रुफ गाडी ‘द बिस्ट’मा चढाएर बैठकस्थलसम्म लगेका थिए।
उनीहरूले वक्तव्य सक्दा युक्रेनका कम्तीमा सात प्रदेशमा हवाई आक्रमणको चेतावनी दिइएको थियो। किभका अधिकारीहरूले रुसी ड्रोन, मिसाइल र बम आक्रमण भएको बताएका छन्।
के चाहन्छन् पुटिन?
पुटिनले युक्रेन युद्ध ‘मूल कारण’ समाधान भएपछि मात्र अन्त्य हुने बताए। उनले भने, ‘दीर्घकालीन समाधानका लागि हामीले सबै प्राथमिक जरा र कारण हटाउनुपर्छ।’
पुटिन यस वाक्यांशलाई आफ्नो आक्रमणको औचित्य देखाउन बारम्बार प्रयोग गर्छन्। उनी विश्वास गर्छन् कि शीतयुद्धको अन्त्यपछि नाटो पूर्वी युरोपमा अत्यधिक फैलिएको छ। पूर्वी युरोपेली देशहरू स्वाभाविक रूपमा मास्कोको प्रभाव क्षेत्रमा पर्नुपर्छ भन्ने उनको अडान रहँदै आएको छ।
युक्रेनको सन्दर्भमा पुटिन २०१४ पछि भएको प्रजातान्त्रिक परिवर्तन उल्ट्याउन चाहन्छन् र भिक्टर यानुकोविच जस्तो क्रिमलिनका भ्रष्ट सहयोगीलाई पुनः राष्ट्रपतिमा बसाउन चाहन्छन्। उनले भने, ‘हामीले यहाँ गरेको समझदारीले युक्रेनमा शान्तिको लक्ष्यतर्फ नजिक पुर्याउनेछ, तर द्वन्द्वका सबै मूल कारण समाधान हुनुपर्छ।’
पुटिनले आफ्नो मागलाई औचित्यपूर्ण देखाउन प्रयास गरे र युरोपेली नेताहरुलाई चेतावनी दिए, ‘अलास्कामा ट्रम्पसँग वार्ता गर्दा अडचन सिर्जना नगर्नू।’
पुटिनले ट्रम्पको प्रशंसा गरेका छन्। उनले भनेका छन्, ‘ट्रम्प ओवल अफिसमा भए, युक्रेन युद्ध कहिल्यै सुरु हुने थिएन।’ उनले युरोपेली देशहरूलाई द्वन्द्व लामो बनाउने जिम्मेवार ठहराउन खोजे।
पुटिनले ट्रम्पले बैठकपछि जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग फोन गर्ने थाहा पाएपछि युरोपेली देशहरूलाई ‘उकास्ने’ काम नगर्न चेतावनी दिए। यो शब्द सामान्यतया विदेशी हस्तक्षेपविरुद्ध प्रयोग हुने सोभियत शैलीको आलोचना हो।
पुटिनले अमेरिकासँगको द्वितीय विश्वयुद्धको समयको सहयोगलाई स्मरण गर्दै अमेरिकाले रेड आर्मीलाई लडाकू विमान आपूर्ति गरेको उदाहरण प्रस्तुत गरे।
‘हाम्रो देशहरूले सधैँ साझा शत्रुलाई पराजित गर्दा भएका ऐतिहासिक उदाहरण सम्झिनेछौँ’, उनले भने। तर उनले बेलायतजस्ता देशहरूले द्वितीय विश्वयुद्धमा हतियार आपूर्ति गर्न गरेको कठिन यात्रा भने उल्लेख गरेनन्।
ट्रम्पसँग भेट गर्दै जेलन्स्की
उता जेलन्स्कीले जेलेन्स्कीले सोमबार वासिंटननमा ट्रम्पसँग भेट्ने बताएका छन्। सामाजिक सञ्जालमा शनिबार प्रकाशित एक पोस्टमा जेलेन्स्कीले आफूले ट्रम्पसँग ‘लामो र अर्थपूर्ण’ फोन वार्ता गरेको बताएका छन्। सो क्रममा अमेरिकी राष्ट्रपतिले उनलाई अलास्का शिखर सम्मेलनबारे जानकारी दिएका थिए र अमेरिकाले ‘युक्रेनको सुरक्षा सुनिश्चित गर्ने’ सम्भावित भूमिकाबारे छलफल भएको उल्लेख गरेका थिए।
जेलेन्स्कीले सोमबारको भेटमा ‘हत्या र युद्ध अन्त्य गर्न आवश्यक सबै विवरण’ बारे छलफल गर्ने लक्ष्य रहेको बताएका छन्।
एपी/एएफपीको सहयोगमा