
काठमाडौँ– भदौमा अन्य महिनाभन्दा बढी नै फिल्म प्रदर्शन हुँदै आएका हुन्छन्। यस वर्ष पनि त्यसले निरन्तरता पाएको छ। भदौमा आठ नेपाली फिल्म हलमा लाग्दै छ। चाडपर्वका बिदा आरम्भ हुने भएकाले पनि निर्माताहरूबीच भदौमा फिल्म प्रदर्शन गर्न प्रतिस्पर्धा हुने गरेको छ।
भदौका चारैवटा शुक्रबार हलमा नयाँ फिल्म प्रदर्शनको तयारीमा छ। एक मात्र होइन कुनै साता त तीन फिल्म एकैसाथ प्रदर्शन हुँदै छन्। यसले हलमा सो वितरणमा पनि होडबाजी हुने संकेत देखिन्छ। वैशाखदेखि साउन अन्तिमसम्म हलमा १४ नेपाली फिल्म प्रदर्शन भए। ‘ऊनको स्विटर’, ‘जार’, ‘के घर के डेराः घर नं २’, ‘मोहर’ र ‘सिटामोल’ ले समीक्षात्मक रूपमा सकारात्मक प्रतिक्रिया पाए। तर नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्विटर’ बाहेक अन्य फिल्म चल्न सकेन।
चार महिनामा ‘भूठान’, ‘खेल’, झिल्को’, ‘जार’, ‘ऊनको स्विटर’, ‘के घर के डेरा : घर नं २’, ‘हेल्लो काशीराम’, ‘नरसिंहा अवतार’, ‘महाभोज’, ‘जन्ते बाख्रो’, ‘यो मन त मेरो नेपाली हो’, रियल रिङ्गेट’, ‘मोहर’ र ‘सिटामोल’ प्रदर्शन भए।
गत वर्षको तुलनामा यस वर्षको थालनीमा नेपाली फिल्म बजार सुस्ताएको समीक्षकहरूको आँकलन छ। कारण हो, अपेक्षित फिल्म पनि हलमा नचल्नु। भदौमा चल्ने आठ फिल्मबाट भने नेपाली फिल्मकर्मी केही आशावादी देखिन्छन्।
पहिलो शुक्रबार तीन फिल्म : कमेडी, पारिवारिक र सामाजिक कथा
भदौ पहिलो साता तीन फिल्मबीच प्रतिस्पर्धा हुनेछ। फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ एकै दिन हलमा लाग्दै छ। तीनवटै फिल्म फरक जनरामा बनेको छ। निर्माण पक्ष, कलाकारलगायत सबैले आआफ्नो स्थानबाट फिल्मको प्रचार गरिरहेका छन्। दर्शकसामू फिल्म पुर्याउन सक्दो प्रयास गरिरहेका छन्।
माग्ने राजा
‘माग्ने राजा’ केदार घिमिरेको मुख्य भूमिकामा बनेको फिल्म हो। सहायक भूमिकामा देखिँदै आएका कलाकार घिमिरेले यही फिल्ममा पहिलोपटक मुख्य भूमिकामा अभिनय गरेका छन्। यो दर्शकका लागि पनि प्रतीक्षाको विषय बनेको छ।
फिल्मका निर्देशक ऋषि लामिछानेले पनि आठ वर्षपछि निर्देशनमा फर्केका छन्। फिल्म एक सामान्य व्यक्तिको धनी बन्ने सपनामा आधारित छ। माग्नेको स्थितिमा रहेको व्यक्तिको राजा बन्नेसम्मको कथा फिल्मले समेटेको निर्माण टिमको दाबी छ।
हास्य जनरामा बनेको फिल्ममा घिमिरेसहित वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी, मिस पबीलगायत कलाकारको अभिनय छ। सामाजिक कथामा आधारित फिल्मको प्रचार सामग्री पोस्टर, टिजर, ट्रेलरसहित ‘सुतेर उठेको पैसामा’, ‘त्यो मिठो जोवन’ बोलको गीत दर्शकले रुचाएका छन्।
जनै हराएको मान्छे : सम्बन्धका धागाहरू
भदौ ६ मै विजय बराल मुख्य भूमिकामा रहेको फिल्म ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ प्रदर्शन हुँदै छ। सामाजिक तथा पारिवारिक कथामा बनेको फिल्म मानवीय सम्बन्धमा आउने उतारचढावको कथामा आधारित छ। शीर्षकअनुसार फिल्मले सम्बन्धको कथा प्रस्तुत गरेको टिमको दाबी छ। ‘पूर्णबहादुरको सारङ्गी’ पछि विजयको मुुख्य भूमिकामा रहेको दोस्रो फिल्म भएकाले पनि फिल्मप्रति दर्शक केही अपेक्षित छन्।
फिल्ममा मुख्य अभिनेत्रीमा मिरुना मगर र केकी अधिकारी छन्। फिल्मका निर्देशक हिमाल न्यौपाने हुन्। फिल्मको प्रचार सामग्रीमा पोस्टरदेखि टिजर, ट्रेलर र दुई गीत सार्वजनिक भइसकेको छ। ‘आमा’ र ‘मसुरीको दाना’ बोलको गीत दर्शकले निकै रुचाएका छन्। फिल्ममा अन्य कलाकारमा गौरव पहारी, भोलाराज सापकोटा, रियर राई, सुशांक मैनाली, तारा शर्मा, भावना खपांगी मगरलगायतको अभिनय छ।
ताराहरू
सामाजिक कथामै बनेको अर्को फिल्म ‘ताराहरू’ का निर्देशक आशान्त शर्मा हुन्। निर्देशक शर्माका अनुसार फिल्म मध्यमवर्गीय परिवारले सहरमा गर्नुपरेको संघर्षको कथामा आधारित छ। फिल्मको मुख्य भूमिकामा उनी स्वयं छन्।
थिएटरमा नाटक मञ्चन गरिहेका टिम मिलेर फिल्म बनाएका हुन्। निर्देशक शर्माकै कथा रहेको फिल्ममा अन्य कलाकार मेनुका खड्का, मीरा खड्का, प्रभाकर न्यौपाने, कुन्दुन शाक्य, आभास अधिकारी, राज पंगेनी शर्मा, पुस्कर गुरुङलगायत छन्।
फिल्मको प्रचार सामग्री पोस्टर, टिजर, ट्रेलरसहित ‘ऐया नि हो’ र ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीतले पनि फिल्मप्रति दर्शक आकर्षित देखिन्छन्। वेज प्रा. लि.को प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी सेडाइँ र कृष्णप्रसाद पंगेनी शर्मा हुन्। शरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादनमा बनेको छ।
कोशेढुङ्गा
सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ देखि हलमा लाग्दै छ। सरोज उनै निर्देशक हुन् जसले गत वर्ष सर्वाधिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ निर्देशन गरेका थिए। फिल्ममा समावेश ‘नत्र भने ‘जिन्दगी व्यर्थ छ’ र ‘भंगेरा र भंगेरी’ बोलको दुई गीत सार्वजनिक भइसकेको छ। ‘नत्र भने ‘जिन्दगी व्यर्थ छ’ गीत तीज लक्षित छ। गीत अहिले टिकटक र फेसबुक रिल्समा निकै चर्चित बनेको छ। ड्रामा जनरामा बनेको फिल्मको टिजर र ट्रेलर भने सार्वजनिक हुन बाँकी छ।
फिल्मका निर्माता दिनेश खड्का हुन्। फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहारी, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, दीनेश काफ्ले, लोकमणि सापकोटालगायत कलाकारको अभिनय छ। नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता प्रेबिल कँडेल र किशोर अनुराग हुन्।
‘गुन्यो चोलो : द ड्रेस’
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित फिल्म हो ‘गुन्यो चोलोः द ड्रेस’। फिल्मकी निर्देशक समुद्र भट्ट हुन्। फिल्म भदौ १३ देखि हलमा प्रदर्शन हुँदै छ। फिल्ममा मानिसको उमेर वृद्धिसँगै शारीरिक बनावटमा आउने परिवर्तनलाई परिवार र समाजले स्वीकार्न नसक्दा ती व्यक्तिहरूले भोग्नुपरेको पीडा र संघर्षको कथा प्रस्तुत गरिएको टिमको दाबी छ।
मुख्य भूमिकामा नाजिर हुसेनले अभिनय गरेका छन्। गुलाबी पात्रको कथामा अभिनेता नाजिर पारलैंगिक महिला (ट्रान्सवुमन) बनेका छन्। निर्देशक भट्टकै कथा रहेको फिल्मको पटकथा तथा संवादमा निर्देशकसँग नाजिरले सहकार्य गरेका छन्।
फिल्ममा सञ्जिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारको अभिनय छ। सार्वजनिक फिल्मको गीत ‘म फूल हुँ कि काँडा’ र ट्रेलर दर्शक रुचाएका छन्। हलमा चलिरहेको विषयवस्तु भन्दा फरक कथा उठाएकोले दर्शक फिल्मप्रति आकर्षित बनिरहेका छन्। फिल्म आकाश बुढाथोकीले निर्माण गरेका हुन्।
भदौ २० मा ‘रिमै’ र ‘चिठी’
भदौ तेस्रो साता हलमा ‘रिमै’ र ‘चिठी’ एकसाथ प्रदर्शन हुनेछ। ‘रिमै’ गुरुङ समुदायको संस्कृतिमा आधारित छ। उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मका निर्देशक खिल बहादुर गुरुङ हुन्।
फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, बद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले, माओत्से गुरुङ, पुस्कर गुरुङ, बाल कलाकारमा असिम सुब्बा, प्रस्टु गुरुङ र प्रश्ना रानामगरले अभिनय गरेका छन्।
गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मसको प्रस्तुति रहेको फिल्म टीका गुरुङ, जीत यात्री गुरुङ र दनुबहादुर घलेले निर्माण गरेका हुन्।
चिठी
कमेडी सस्पेन्स र थ्रिलर जनरामा बनेको फिल्म हो ‘चिठी’। फिल्मका लेखक तथा निर्देशक माधवराज खरेल हुन्। फिल्ममा खड्गबहादुर पुनमगर ‘खबपु’, सञ्जित भण्डारी, गोपाल ‘ढकाल छन्दे’, श्रीदेव भट्टराई, कञ्चन चालिसे, मोहन निरौला, रश्मि भट्टलगायत कलाकारको अभिनय छ। फिल्म कमला कुमारी जोशीले निर्माण गरेकी हुन्।
अन्तिम शुक्रबार ‘अभिमन्यु’
सुशान्त गौतमले निर्देशन गरेको फिल्म ‘अभिमन्युः च्याप्टर १’ भदौ अन्तिम साता प्रदर्शन हुँदैछ। क्राइम जनरामा बनेको फिल्ममा कामेश्वर चौरासिया, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, सरिता गिरी, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायत कलाकारको अभिनय छ। फिल्मको कथा मुकेश खनालले लेखेका हुन्।
कथा पैसाको प्रलोभनले चक्रव्यूहमा फसेको व्यक्तिले त्यसबाट मुक्त हुन गर्नुपरेको संघर्षमा आधारित रहेको टिमको दाबी छ। निर्माण टिमले प्रविधिको सदुपयोग गर्दै एआई भिडियोमार्फत फिल्मको प्रचार गरिरहेका छन्। समाचार तयार पार्दासम्म फिल्मको टिजर, ट्रेलर आएको छैन। पोस्टर र ‘माली’ बोलको गीत सार्वजनिक भइसकेको छ। अन्य गीत, टिजर र ट्रेलर कस्तो आउँदा त्यो प्रतीक्षामै छ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्मका निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी हुन्। विनोद पौडेल सर्वाधिक हिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता हुन्।
चाडपर्वको अवसरले निर्माताबीच प्रत्यक्ष प्रतिस्पर्धा बढाएको छ। कमेडी, पारिवारिक, सामाजिक, ड्रामा, अपराध र लैंगिक अल्पसंख्यक कथासहितका फिल्महरूले फरक–फरक शैली र अभिनयसहित दर्शकको ध्यान तान्ने अपेक्षा गर्न सकिन्छ। प्रतिस्पर्धामा ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘ताराहरू’, ‘कोशेढुङ्गा’, ‘गुन्यो चोलोः द ड्रेस’, ‘रिमै’, ‘चिठी’ र ‘अभिमन्यु’ हुनेछन् । प्रचार, गीत र ट्रेलर हेर्दा हरेक फिल्मप्रति आकर्षण बढ्ने देखिए पनि कुन फिल्मले सफलता चुम्छ र कुनले निर्मातालाई डुबाउँछ भन्ने थाहा पाउन केही समय कुर्नैपर्नेछ।