ट्रम्प-पुटिन भेटवार्तापछि युक्रेन युद्ध अन्त्य होला त?

हिमाल प्रेस ३० साउन २०८२ १६:००
8
SHARES
ट्रम्प-पुटिन भेटवार्तापछि युक्रेन युद्ध अन्त्य होला त? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन।

अलास्का- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता गर्दै छन्। यो उच्चस्तरीय शिखर बैठकले युक्रेन युद्धको भविष्य मात्र होइन, युरोपको सुरक्षाको भाग्य पनि निर्धारण गर्न सक्ने विश्लेषकहरूले बताएका छन्।

यो भेटवार्ताले ट्रम्पलाई विश्वसामु आफ्नो हैसियत देखाउने मौका दिन्छ। त्यसैले उनका सहयोगीहरूले उनलाई ‘हेभिवेट’ वार्ताकारका रूपमा चित्रण गरेका छन्, जसले नरसंहार अन्त्य गर्ने बाटो फेला पार्न सक्छन्।

पुटिनका लागि भने ट्रम्पसँगको शिखर बैठकले लामो समयदेखि खोजी गरिएको अवसर प्रदान गर्नेछ। रुसका उपलब्धि स्थायी बनाउने, युक्रेनको नाटो सैन्य गठबन्धनमा सामेल हुने प्रयास रोक्ने, र युक्रेनलाई पुनः मस्कोको प्रभाव क्षेत्रमा फर्काउने मार्ग खोल्ने जस्ता उपलब्धि हासिल हुन सक्ने दाबी गरिएको छ।

ट्रम्पका लागि भने जोखिम पनि उत्तिकै छन्। राष्ट्रपति ट्रम्पले युक्रेन आक्रमण गरेपछि तीन वर्ष र छ महिनादेखि अन्तर्राष्ट्रिय रूपमा एक्लिएका पुटिनलाई अमेरिकी भूमिमा ल्याएर मान्यता दिएका छन्। यद्यपि शिखर बैठकबाट युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई बाहिर राख्नु पश्चिमी मुलुकहरूको ‘युक्रेनबारे युक्रेनबिनाको कुनै कुरा हुँदैन’ भन्ने नीतिमाथि गम्भीर चोट हो। यसले ट्रम्पले युक्रेनको चाहनाविपरीत सम्झौतामा सहमति जनाउने सम्भावना निम्त्याउँछ।

पुटिनले लामो समयदेखि अस्थायी युद्धविरामको विरोध गर्दै आएका छन्। उनले त्यसलाई पश्चिमी मुलुकबाट हतियार आपूर्ति रोक्ने तथा युक्रेनको सैन्य परिचालन प्रयास स्थगित गर्ने सर्तसँग जोड्दै आएका छन्।
ट्रम्पले शिखर बैठक असफल हुने सम्भावना २५ प्रतिशत रहेको बताएका छन्। तर उनले बैठक सफल भएमा जेलेन्स्कीलाई पनि अलास्का ल्याएर त्रिपक्षीय बैठक गर्ने सम्भावना रहेको उल्लेख गरे। तर यो प्रस्तावमा रूसले सहमति जनाइसकेको छैन।

क्रेमलिनका अनुसार ट्रम्प र पुटिनले पहिलो चरणमा एकान्तमा वार्ता गर्नेछन्। त्यसपछि दुवै पक्षका टोलीबीच बैठक हुनेछ। त्यसपछि उनीहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने अपेक्षा गरिएको छ।

मस्कोको आक्रमण भएको तीन वर्ष ६ महिनाभन्दा बढी समयपछि युक्रेनमा शान्ति स्थापना गर्न सघाउ पुर्‍याउन सक्छ कि सक्दैन, त्यो अझै स्पष्ट छैन। पुटिन र ट्रम्पबीच चार वर्षमा पहिलो शिखर बैठक हुन लागेको हो।

शिखर बैठक शुक्रबार एंकोरेजबाहिरको जोइन्ट बेस एल्मेन्डर–रिचर्डसनमा स्थानीय समयअनुसार बिहान ११:३० बजे सुरु हुनेछ। पुटिनका परराष्ट्र नीति सल्लाहकार युरी उसाकोभले भने, ‘पुटिन र ट्रम्पबीच प्रत्यक्ष भेटवार्ता हुनेछ र दुवै पक्षका प्रतिनिधि टोलीबीच पनि बैठक हुनेछ।’

यो पुटिनको २०१५ पछि पहिलो अमेरिकी भ्रमण हो। त्यस वर्ष उनले न्युयोर्कमा संयुक्त राष्ट्र महासभामा भाग लिएका थिए। अमेरिकी सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य नभएकाले २०२३ मा पुटिनविरुद्ध युद्ध अपराधको आरोपमा जारी वारेन्टका कारण उनलाई पक्राउ गर्न कुनै बाध्यता छैन।

जेलेन्स्की सहभागी हुनेछन्?

बैठकमा पुटिन र ट्रम्प उपस्थित हुनेछन्। क्रेमलिनले लामो समयदेखि पुटिन र जेलेन्स्कीको भेटमा रोक लगाउँदै आएको छ। पुटिनले गत हप्ता भनेका थिए, ‘जेलेन्स्कीसँग भेट नगर्ने होइन तर केही सर्तहरू निर्माण गर्न आवश्यक छन्। ती अझै टाढा छन्।’ यसले युक्रेनलाई वार्ताबाट बाहिर राख्ने त्रास छ। किभ र उसका युरोपेली सहयोगीहरूले शान्ति हासिल गर्न युक्रेनको सहभागिता अनिवार्य रहेको जोड दिएका छन्। एपी/रासस

रूसले  ७२ लाख डलरमा बेचेको थियो अलास्का

प्रकाशित: ३० साउन २०८२ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast