
सुर्खेत- वीरेन्द्रनगर-५ की सुर्खेतकुमारी (नाम परिवर्तन) १४ वर्षकी थिइन्। कक्षा ६ मा पढ्दै गरेकी उनी सहपाठी साथीसँग प्रेममा परिन्। किशोरावस्थाको प्रेम विवाहमा परिणत भयो। ८ कक्षाको परीक्षा दिएर विवाह गरेकी उनी त्यसपछि विद्यालय जान पाइनन्।
बुहारीको जिम्मेवारी सम्हाल्न थालेपछि पढाइ रोकियो। एकातिर विवाहपछि विद्यालय यात्रामा पूर्णविराम लाग्यो। अर्कोतिर विवाहको पाँच दिनमै घर झगडा सुरु भयो। श्रीमान् र घरपरिवारसँग सम्बन्ध दरिलो हुन सकेन। त्यसपछि उनी माइतीमै फर्किइन्।
‘विवाह गरेको केही दिनमै सासूससुराले नानाथरी भन्दै गाली गरे, घरबाट निस्किन बाध्य पारे, श्रीमान्ले पनि साथ नदिएपछि माइतमा बस्न थालेँ,’ उनी भन्छिन्।
केही समयपछि उनलाई श्रीमान्ले फेरि फकाउन थाले, साथमै बसौँ भनेर। मायामा परेकी उनले श्रीमान्को प्रस्ताव नकार्न सकिनन्। श्रीमान्लाई पनि माइतीमै बोलाइन्। सँगै बस्न थाले। माइतमा बस्दा केही समय सम्बन्ध राम्रै भयो। छोरी जन्माइन्। तर दाम्पत्य जीवन सुमधुर हुन सकेन।
‘कहिलेकाहीँ आउने अनि मानसिक र शारीरिक यातना दिन थाल्नुभयो,’ उनी भन्छिन्। गाडीको सहचालकका काम गर्ने उनका श्रीमान्ले छोरीलाई पनि राम्रो व्यवहार गरेनन्। अहिले उनी छोरीसहित माइतमा बस्छिन्। कलिलै उमेरमा विवाह बन्धनमा बाँधिएकी उनीसँग न पढाइ छ न सिप छ।
‘जिन्दगीमा पछुतोको भारी मात्र छ, बाँकी जीवन कसरी धान्ने भन्ने पिरले सताउँछ। आमाको भत्ताको साहरामा बसिरहेकी छु,’ उनी भन्छिन् ‘शारीरिक र मानसिक रूपमा परिपक्व नभई विवाह गर्दाको परिणाम भोगिरहेकी छु।’
वीरेन्द्रनगर-१ आपँडालीकी कर्णालीकुमारी (नाम परिवर्तन) को कक्षा १० मा पढ्दापढ्दै विवाह भयो। त्यतिबेला उनी १४ वर्षकी थिइन्। भागेर विवाह गरेकी उनले १५ वर्षमा छोरा जन्माइन्। घरको काम, छोराको हेरचाहमै उनले दिन बिताइन्।
‘घरको आर्थिक अवस्था राम्रो थिएन। बच्चा जन्मिएपछि पढाइ छुट्यो,’ उनी भन्छिन्। पढाइमात्र होइन सानै उमेरमा गरेको विवाहले उनलाई पीडा दिन्छ। ‘कलिलै उमेरमा विवाह भयो, घरायसी समस्या झेल्नुपर्यो, मानसिक र शारीरिक रूपले कमजोर अनुभव हुन्छ,’ उनी भन्छिन्। उनका श्रीमान् मजदुरी गर्छन्। त्यसैबाट जेनतेन घरखर्च टरिरहेको छ।
कलिलै उमेरमा विवाह गरेर पछुतो मान्ने अर्का पात्र हुन् दैलेख दुल्लु नगरपालिका ११ का हेमन्त विष्ट। उनको विवाहपछि पढाइ छुट्यो। परिवारको जिम्मेवारी काँधमा आयो। त्यही जिम्मेवारीले उनलाई परदेश पुर्यायो। परिवार पाल्नकै लागि उनी भारतको गुजरातमा मजदुरी गर्छन्। ‘कलिलो उमेरमा विवाह भयो, पढाइ पनि छुट्यो, अहिले भारतको गुजरातमा मजदुरी गर्छु,’ विष्ट भन्छन्।
राष्ट्रिय बालअधिकार परिषद्का समन्वय अधिकृत डम्बरबहादुर रोकाय भन्छन्, ‘कर्णालीमा सानै उमेरमा विवाहको ग्राफ बढ्दो छ।’ यसो हुनुको एउटा कारण सामाजिक सञ्जालको दुरुपयोग रहेको उनको बुझाइ छ।
विद्यालय छोड्ने दर बढ्नुमा बालविवाह पनि एक कारक भएको रोकाय बताउँछन्। ‘कानुनले बालविवाहलाई बन्देज लगाए पनि यो क्रम रोकिएको छैन। कर्णाली सरकारले बालबालिकाको संरक्षणका लागि बनाएका नीति कार्यान्वयनमा ढिलाइ भएको छ’, रोकाय भन्छन्।
कर्णालीका चार जिल्लाका ४३ वटा वडामा बालविवाह मुक्त वडा घोषणा भएका छन्। ‘दैलेख, कालीकोट, जुम्ला र जाजरकोटका ४३ वडा बालविवाह मुक्त वडा घोषणा भएका छन्, तर ती वडा पूर्ण रूपमा बालबिवाह मुक्त हुन सकेको अवस्था देखिँदैन’, अधिकृत रोकाय भन्छन्।
शिक्षाविद् आत्मराम भट्टराई बालविवाहका कारण धेरै विद्यार्थीले पढाइ छोड्ने गरेको बताउँछन्। ‘उनीहरूले विद्यालय छोड्नुको मुख्य कारण भनेको सानै उमेर विवाह अनि बच्चा जन्माउनु हो। छोरीबाट बुहारी भएपछि घरसँगै पढाइ पूरा गर्न समस्या भएको देखिन्छ, विवाहपछि छोरा र छोरी दुवै आर्थिक भारमा पर्ने भएकाले पढाइमा समेत असर पर्ने गर्दछ,’ भट्टराई भन्छन्।
कानुनलाई नै चुनौती
कानुनले बन्देज लगाएको बालविवाहले कलिलो हातबाट कापीकलम छुट्छ। पढ्नुपर्ने उमेरमा परिवारमा जिम्मेवारीको भारी बोक्नुपर्छ। कानुनले उमेर नपुगी गरिने विवाहलाई अपराध मान्दछ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा उल्लेख छ, ‘विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन।’ त्यसबमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना हुने समेत ऐनमा छ।
कानुनले बालविवाहलाई निषेध गरे तापनि बालविवाह रोकिएका छैनन्। त्यसको पुष्टि प्रहरीमा परेको उजुरीले गर्छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आव २०८०/०८१ मा बालविवाह सम्बन्धी ४८ निवेदन परेका थिए। प्रहरीले ती निवेदनमा ४६ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाएको थियो।
बालविवाहसम्बन्धी दुईजनाविरुद्ध जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी निमित्त प्रमुख संगीता रसाइली बताउँछिन्।
लामो समयदेखि बालविवाह न्यूनीकरणको मुद्दामा वकालत गर्दै आएकी अधिवक्ता गीता कोइरालाका अनुसार राजनीतिक संरक्षणकै कारण बालविवाह न्यूनीकरण हुन सकेको छैन्।
‘प्रायः बालविवाहका घटना गाउँमै हुन्छन् तर कहीँकतै उजुरी पर्दैन’, उनी भन्छिन्, ‘बालविवाहविरुद्ध उजुरी गर्नुको सट्टा राजनीतिक दलहरूले गुपचुपमै यस्ता घटनाहरू मिलाउँछन्।’
बालिविवाहविरुद्धका चर्का भाषण गर्ने नेता कार्यकर्ताहरू नै घटना मिलाउन र कानुनी उपचार खोज्नबाट पन्छिने गरेको उनको अनुभव छ। ‘कसैले बालविवाहविरुद्ध उजुरी दिन खोज्यो भने नेताहरूले प्रहरीदेखि वकिलसम्मलाई धम्काउने गर्छन्’, उनी भन्छिन्, ‘बालविवाहका ९० प्रतिशत घटनालाई राजनीतिक संरक्षण दिइने गरिन्छ।’
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कर्णालीमा १८ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ३७ दशमलव ९ प्रतिशत छ। कर्णालीका १० जिल्लामध्ये सल्यानमा बालविवाहको दर (४३ प्रतिशत) सबैभन्दा उच्च छ।
सल्यानपछि धेरै बालविवाह हुने जिल्ला रुकुमपश्चिम हो। रुकुमपश्चिममा ४२ दशमलव ३ प्रतिशतले बालविवाह गर्ने गरेको जनगणनाको तथ्यांकले देखाएको छ। त्यसपछि क्रमशः जाजरकोटमा ४० दशमलव ८, सुर्खेतमा ३८ दशमलव ७, मुगुमा ३५ दशमलव ९, डोल्पामा ३२ दशमलव १, हुम्लामा ३३ दशमलव ७, जुम्लामा ३४ दशमलव ७, दैलेखमा ३५ दशमलव २ र कालीकोटमा २८ दशमलव १ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेका छन्।
किन बढिरहेको छ बालविवाह?
बालविवाहविरुद्ध कानुन छ। बालविवाह गर्नु हुँदैन भन्ने जानकारी पनि छ। यद्यपि बालविवाह गर्नेको संख्यामा कमी आउने सकेको छैन। अधिकारकर्मी शर्मिला बीसीको बुझाइमा बालबालिकाको मनोविज्ञान तथा सामाजिक सञ्जालको प्रयोगले यौनसम्पर्कको चाहना हुँदा पनि बालविवाह हुने गरेको छ। ‘बालबालिकाका कुरालाई नाइँनास्ती गर्ने, पढ् मात्र भन्ने जस्ता कारणले बालबालिका खुलेर बाँच्नका लागि बालविवाह गरेको देखिन्छ,’ बीसी भन्छिन्। उनका अनुसार बालविवाह बिरुद्धको अभियान सफल नहुनुमा राजनीतिक संरक्षण हो। ‘अहिले पनि १६/१७ वर्षकै विवाह गर्नेहरूको संख्या धेरै छ, तर बालविवाह गर्नु हुँदैन भनेर सम्झाउन खोज्दा राजनीतिक दलबाटै असहयोग हुन्छ,’ उनले भनिन्।
बालअधिकारका लागि साझा अभियान कर्णालीका टेकराज आचार्यका अनुसार कर्णालीमा बालविवाह बढी हुनुमा गरिबी, अशिक्षा, जनचेतनाको कमी र देखासिखी हो। अन्य प्रदेशको तुलनामा कर्णालीमा बालविवाह धेरै हुने गरेको आचार्य बताउँछन्। कर्णालीमा बढ्दै गएको बालविवाहको ग्राफ घटाउन जनचेतनाको अभियानलाई तीनै तहका सरकारले घरपरिवार, विद्यालय तथा समुदाय तहमा व्यापक बनाएर लैजानु पर्ने उनको तर्क छ।
‘पहिला बुवाआमाले बालविवाह गरिदिन्थे अहिले बाल बालबालिकाले आफैँ विवाह गर्ने प्रवृत्ति बढेको छ,’ आचार्य भन्छन्। बालविवाह रोक्न अभिभावकभन्दा पनि बालबालिकालाई नै सचेत बनाउनुपर्ने उनको भनाइ छ।
७ प्रतिशत बालबालिका विद्यालयबाहिर
कर्णाली प्रदेशमा ७ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन्। यसको एक प्रमुख कारणका रुपमा देखिएको छ, बालविवाह पनि। कलिलो उमेरमै विवाहको बन्धनमा परेका बालबालिकाले शिक्षालाई निरन्तरता दिन सकेका छैनन्।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीका ७ दशमलव १ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेका छन्। डोल्पा र जुम्लामा सबैभन्दा बढी १३.६ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन्।
सुर्खेतमा सबैभन्दा कम ६.१ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन्। यसैगरी हुम्लामा ११.६ प्रतिशत, मुगुमा ९.३ प्रतिशत, दैलेखमा ६.९ प्रतिशत, सल्यानमा ६.८ प्रतिशत, जाजरकोटमा ६.७ प्रतिशत, कालिकोट र रुकुमपश्चिममा ६.२ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन्।
सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथ्यांक तथा अनुसन्धान शाखाका अधिकृत बलवीर सुनारका अनुसार विद्यार्थीले विद्यालय छोड्नुको मुख्य कारणमा बसाइँ सराइ, चेतनास्तरको कमी, बालविवाह, अभिभावकमा शिक्षाको कमी र दीर्घरोग हुन्। ‘आमाबाबाको साथमा नहुने बालबालिकाले पनि विद्यालय छोड्ने तथा विवाह गर्ने गरेका छन्’, उनले भने।
दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसी बालविवाह गरेकालाई शिक्षामा प्रेरित गर्न चुनौती बन्दै गएको बताउँछन्। बालविवाह रोकथामका लागि विभिन्न संघसंस्थाहरूसँग समन्वय गरेर विद्यालय लक्षित जनचेतनामूलक गतिविधि गर्दै आएको उनको भनाइ छ।
‘बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन र बालविवाहबाट हुने असरबारे जनचेतना फैलाउने काम गरिरहेका छौँ। यद्यपि बालविवाहको दर कमी नआउँदा शिक्षा समेत प्रभावित बन्न पुगेको छ,’ बीसी भन्छन्।
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नगरपालिकामा विभिन्न परियोजनाअन्तर्गत बालबालिकालाई बालविवाहसम्बन्धी कानुनी शिक्षा प्रदान गर्ने तथा सचेत बनाउने काम गर्दै आएको बताउँछिन्।
‘नगरपालिकाले बालविवाह गर्दा हुने असरबारे बालबालिकालाई जानकारी दिनुका साथै बालविवाह र शिक्षा सम्बन्धी सचेत गराएका छौँ। हाम्रो प्रयास पूर्ण रुपमा सफल भने हुन सकेको छैन्,’ उनले भनिन्। बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि कानुनी शिक्षाको जरुरी रहेको नगरप्रमुख ढकाल बताउँछिन्।