
एउटा मान्छे, जो उमेरमा हाम्रा बाभन्दा केही वर्ष जेठो हुनुहुन्थ्यो र जसलाई सम्बोधनमा हाम्रो बाले समेत ‘ठूला बाउ’ भन्नुहुन्थ्यो; मैले तिनै बाको ठूला बाउलाई नाम काडेर त्यसमा ‘जी’ थपेर ‘तेजकुमारजी’ भन्नुपर्थ्यो। कति रमाइलो कुरा!
कति कष्टकर कुरा!!
कति विरोधाभासपूर्ण कुरा!!!
यो उहाँको रोजाइ हो।
यो उहाँको लहड हो।
यो उहाँको प्यार हो।
यसमा यताउता गर्न खोज्नुको परिणाम दारी दली माग्नुहुन्थ्यो। केटाकेटीलाई आफ्नो कुरा मनाउने एउटा उपायका रूपमा थियो- कलिला गालामा दारी दलिदिनु। उहाँका गालाभरि दारी थिए। मैले उहाँलाई कालो दारीमै देखेको हुँ।
ती दिन नियमित दारी कसैले काट्दैनथ्यो। दारीका सन्दर्भमा काट्नु होइन; ‘खौरिनु’ शब्द बढी प्रयोगमा थियो। र, त्यसका लागि चाहिन्थ्यो- छुरा। दारी कपाल काट्ने/मिलाउने सवालमा रेजर र ब्लेडको प्रयोग जमिनसकेको समय थियो त्यो। छुरा चलाउने भन्ने कुरा पनि सबैको काबुमा थिएन। तर तेजकुमारजी चलाउनुहुन्थ्यो। अरूलाई दारी खौरिदिने अर्को मान्छे चाहिने। तेजकुमारजी आफ्नो दारी पनि आफैँ खौरिने। अरूको पनि खौरिदिने। छुरा चलाउनुभन्दा पहिले त्यसलाई कडा उद्याउनु पर्थ्यो। छुरा उद्याउन कडा ढुंगा चाहिने। कडा ढुंगामा पानी हाल्दै घोट्दै गरेपछि छुरा लाग्ने हुन्थ्यो। दारीकपाल काट्ने सवालमा छुरा लाग्ने भएर मात्र पुग्दैनथ्यो; बिछट्टै लाग्ने हुनुपर्थ्यो। तेजकुमारजी छुरा उद्याउनुहुन्थ्यो र त्यसको धार छाम्नुहुन्थ्यो। धार छामेरै थाहा हुन्थ्यो- छुरा दारीकपाल खौरिनका लागि उचित स्तरको भयो कि भएन भन्ने कुरा।
तेजकुमारजीको घर तीनपाटन (सिन्धुली) को कदमे/फेदीखोलामा हाम्रो घरको ठ्याक्कै अगाडि। गाउँमा भौगोलिक दुरीमा हाम्रो सबैभन्दा नजिकको छिमेकी नै तेजकुमारजी। हाम्रो आगो माग्न जाने घर नै तेजकुमारजीको घर। ती दिन हाम्रा जस्ता घरमा चुलामा खाना पकाइन्थ्यो र भान्सा उठेपछि गोबरले जुठो लोटाइन्थ्यो। चुलाचौका भने लोटाएर मात्र नपुग्ने; पोत्नैपर्ने। आगाको जोहो अँगेनामा गर्नुपर्ने। अँगेनामा खोले पकाउने, मकै पोल्ने जस्ता काम हुन्थे। खाना पाकिसकेपछि चुलाका अगुल्टा पनि ल्याएर अँगेनामै हालिन्थ्यो र अगुल्टा र कोइलालाई खरानीले पुरपार पारिन्थ्यो। यति गरिसकेपछि सामान्यतया अँगेनामा आगो रहन्थ्यो। यदाकदा आगो नरहेको अवस्था पनि हुन्थ्यो। यस्तो अवस्थामा नजिकको छिमेकीको घरमा आगो माग्न जानुर्थ्यो। आगाको स्रोतका रूपमा लाइटर/सलाई प्रचलनमा आउनुभन्दा अघि अँगेनामा आगो रहेनछ भने हामी तेजकुमारजीको घरतिर दौडिन्थ्यौँ।
दुईजनाको थियो- उहाँको परिवार: उहाँ र उहाँकी श्रीमती। श्रीमती तेजकुमारलाई हामी ‘कान्छी दिदी’ भन्ने गर्दथ्यौँ। कान्छी दिदी पोखरेलकी छोरी। हामी केटाकेटीको हकमा अत्यन्त स्नेहशील। र, तेजकुमारजीको पछिल्लो विवाहपछि उहाँ हाम्रा लागि ‘ठूलीकान्छी दिदी’ हुनुभयो। तेजकुमारजीको घरमा एउटा सहयोगीका रूपमा थिए- गोर्खाली। मगर हुन् यी। यिनलाई गोर्खाली भन्नुका पृष्ठभूमिमा पक्कै केही कारण हुँदा हुन्। तेजकुमारजी यिनलाई भाइसरह स्नेह गर्नुहुन्थ्यो। तेजकुमारजीको घर छाडेपछि गोर्खाली धेरै परिवारमा सहयोगीका रूपमा रहे।
विवाह भएको लामो समयसम्म तेजकुमारजी दम्पतीका सन्तान थिएनन्। तेजकुमारजीले दोस्रो विवाहका लागि सामाजिक दबाब अस्वीकार गर्दै पनि आउनुभएको थियो। तर एक यस्तो समय पनि आयो, तेजकुमारजीले सम्झौता गर्नैपर्यो। तर उहाँ डोली चढ्न मान्नु भएन। रित्तो डोली पनि लैजानु नहुने। अनि डोली चढ्ने पात्रको खोजी हुन थाल्यो। त्यो पात्रका रुपमा तेजकुमारजीले मेरो नाम उच्चारण गर्नुभयो। डोली चढेपछि साथीहरूले ‘बेहुला’ भनेर जिस्क्याउँछन् भन्ठानेर म घरतिर दौडिएँ। तर घरभित्र म कहाँ लुक्न सक्थेँ र! जहाँ लुकेको थिएँ, तेजकुमारजीले नै गुँडबाट परेवाको बच्चा निकालेको जस्तै गरी मलाई बिहे घरमा पुर्याउनुभयो। म उम्किनै सकिनँ।
मैले उहाँको सम्बोधनमा तेजकुमारजी नै भन्नुपर्छ भनेर उहाँले मलाई सानै उमेरमा गम्भीर विरोधाभासमा पुर्याइदिनुभएको थियो। यो सम्बोधन मेरा लागि धेरै गह्रौँ थियो। र, म तर्किन खोज्थेँ। विशेषतः उहाँ हाम्रो घरमा आउँदै हुनुहुन्छ भन्ने सुइँको पाएपछि म बुइँगलमा धानको भकारीको चेपमा लुक्न पुग्थेँ। तर मैले धर पाउँदिनथेँ। उहाँ कसैगरी मलाई फेला पार्नुहुन्थ्यो र बोकेर आँगनमै पुर्याउनुहुन्थ्यो। पूर्व फर्किएको हाम्रो घर। आँगनको डिलमा तुलसाको ठूलो मठ। यही मठको घरतिरको आडमा थियो- एउटा ठूलो ढुंगा। यही ढुंगा थियो- तेजकुमारजीको प्रिय आसन। यही बसेर दलानमा/खाटमा बसेका मान्छेहरूसँग आमनेसामने भएर गफगाफ गर्नुहुन्थ्यो- तेजकुमारजी। हाम्रा हजुरबा र हजुरआमाका लागि उहाँ छोरासरह हुनुहुन्थ्यो।
उहाँहरू पनि एकदुई वर्षको अघिपछि पारेर हामी जस्तै ओखलढुंगाबाटै बसाइँ आउनुभएको रहेछ- तीनपाटनमा। हामी जस्तै उहाँ पनि तीनपाटन फाँटमा नआई पहिले कोटगाउँमै बस्नुभएको रे। कोटगाउँमा पनि हाम्रो घर नजिकनजिकै थियो रे। ओखलढुंगामा रहुन्जेल यी दुई परिवारका बीचमा उस्तो चिनजान थिएन रे। कोटगाउँमा आएपछि जमेछ- हाम्रो बा र उहाँका बीचमा दोस्ती। हजुरआमाबाट मैले प्राप्त गरेको जानकारीका आधारमा भन्दा पं. ज्वालाप्रसाद कोइरालाको जेठी श्रीमतीतर्फको एक मात्र सन्तान उहाँ।
हामी बेंसी झरेपछि उहाँहरू पनि बेंसीमै झर्नु भएको रे।
गाउँघरमा उहाँको अर्को प्रचलित नाम थियो- ‘पण्डितका छोरा।’ पण्डितका छोरा त उहाँ हो नै। घरव्यवहारमा अलिकति प्राविधिक प्रकारका काम परे भने हजुरबा पण्डितका छोरालाई सम्झिनुहुन्थ्यो। बा/काकाबाले काम सुल्झाउने प्रयास गरेको हजुरबालाई पटक्कै चित्त नबुझ्ने । बा/काकाबाबाट त्यो काम कुशलताका साथ सम्पन्न हुन सक्छ भन्ने बारेमा हजुरबा विश्वस्त हुनै नसक्ने। पण्डितका छोराले चै जस्तै काम पनि गर्न जानेका छन् र सक्छन् भन्ने विश्वास हजुरबाको। उहाँ जान्नु पनि हुन्थ्यो: हलो, जुवा, दाम्लो, नाम्लो, घुम, छत्री, धुरी, बलो सबैजसो घरायसी विषयमा सिद्धहस्त उहाँ।
हजुरआमाको दाँतमा समस्या थियो। पण्डितका छोराले झारको पहेँलो पर्पर गर्ने फूल ल्याएर दिएपछि हजुरआमाको दाँत दुख्न विशेक भयो। हाम्रो घर वरिपरि अग्लाहोचा आँपका धेरै बोटहरू थिए। बा/काकाबा पोथ्रा किसिमका बोटमा चढेर हाँगा हल्लाएर आँप झार्नुहुन्थ्यो। अग्लो रूखबाट निखारेर आँप झार्न भने हजुरबालाई पण्डितका छोरा नै चाहिने।
रूख चढ्न त तेजकुमारजी यति चढ्नुहुन्थ्यो; लाग्थ्यो, बाँदरसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। कहालीलाग्ने पहराका तेर्सा रुखमा तेजकुमारजी हातले कतै नसमाईकन उभिएरै चढ्ने। सामान्यतया अरूले चढ्न नसकेका रूखमा चढेर घाँस झार्न तेजकुमारजी नै चाहिने। पहराका तेर्सा रूखका मझौला हाँगामा खुट्टाले अठ्याएर दुवै हात छाडिदिएर तुर्लुंग झुन्डिने तेजकुमारजी।
रउसे प्रवृत्ति तेजकुमारजीको। चाडबाडले गहिरो गरी छुने उहाँलाई। साउने संक्रान्तिमा लुतो फाल्ने कामको प्रारम्भ तेजकुमारजीकै घरबाट हुन्थ्यो। दसैँमा पिङ हाल्न सबैभन्दा पहिले तात्ने नै तेजकुमारजी। ती दिन बाबियो बाटेर लठ्ठा बनाएर हाल्ने गरिन्थ्यो- लिंगेपिङ। जंगलमा बाबियो काट्न सबैलाई हुट्हुटी लगाउने तेजकुमारजी। रातरातभर जाग्राम बसेर लठ्ठा बाट्ने कामको नेतृत्व गर्ने पनि तेजकुमारजी। वरको रूखमा चडेर लठ्ठा बाँध्न अग्रसर हुने पनि तेजकुमारजी। लठ्ठामा काम्रो राखेर हामी केटाकेटीलाई पिङ खेल्न सिकाउने पनि तेजकुमारजी।
असार मासमा फडिर झारिदिन रूखमा चढ्नु भएको तेजकुमारजी रूखबाट लड्नुभयो भन्ने सुनियो। रूखमा चढेपछि हाँगा हल्लाएर फडिर झार्ने गरिन्थ्यो। तेजकुमारजीले फडिरको सुकेको हाँगामा टेक्नु भएछ। त्यो भाँचियो। समात्न खोजेको अर्को हाँगा पनि लाछिएछ। तेजकुमारजी भुइँमा बजारिनुभयो। अग्लाअग्ला रूख चढ्न, कतिपय रूख उभिएरै चढ्न स्थानीय बासिन्दाका बीचमा ख्याति कमाएका अत्यन्त रसिक तेजकुमारजी केही दिन ओछ्यान पर्नुभयो र बित्नुभयो।
यसरी मैले मलाई अत्यन्त स्नेह गर्ने आदरणीय तेजकुमारजीलाई असमयमै/आफ्नो किशोर वयमै गुमाएँ।