म्याग्दीका पकेट क्षेत्रमा आलु उत्पादन घट्दा माग धान्न गाह्रो

हिमाल प्रेस ३० साउन २०८२ १२:१३
8
SHARES
म्याग्दीका पकेट क्षेत्रमा आलु उत्पादन घट्दा माग धान्न गाह्रो

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ नाँगी, राम्चे र काफलडाँडामा आलु उत्पादन घटेको छ। चिसो मौसममा स्वादिलो र पौष्टिक आलुका लागि परिचित यी पकेट क्षेत्रका किसानहरूले यस वर्ष माग धान्नै नसक्ने अवस्था आएको बताएका छन्।

नाँगीकी किसान तथा गाउँपालिका सदस्य राममाया पुनका अनुसार वर्षा नपर्ने र खडेरीका कारण उत्पादन घटेको हो। वैकल्पिक सिँचाइ व्यवस्था नहुँदा आकासे पानीमा भर पर्नु परेको र त्यसैले मेहनतअनुसारको उत्पादन प्राप्त हुन नसकेको उनको भनाइ छ।

गत वर्ष एक लाख रुपैयाँसम्म आम्दानी गर्ने किसानहरू पनि यस वर्षको उत्पादन घटेपछि बिक्रीभन्दा घरायसी उपभोगमै सीमित हुने देखिएको छ। स्थानीय बजारमै माग बढे पनि गाउँमा प्रतिकिलो रु ४५ मा बिक्री हुने आलु सहरी बजारमा रु ८०–१०० सम्म पुग्छ। यहाँ रातो, जनकदेव र रैथाने जातको आलु खेती हुने गर्छ।

राम्चाका कृषक ओमबहादुर पुर्जाले बीउको प्रशोधन नगर्ने, खडेरी र बाहिरबाट ल्याइएका बीउमार्फत रोगकीरा भित्रनु पनि उत्पादन घट्ने प्रमुख कारण भएको बताए।

म्याग्दीबाट वार्षिक करिब रु १० करोड मूल्य बराबरको आलु कुश्मा, बागलुङ, पोखरा र काठमाडौँसहितका बजारमा पठाइन्छ।

म्याग्दीमा हाल १,८२० हेक्टर क्षेत्रमा आलु खेती हुने गरेको छ।

प्रकाशित: ३० साउन २०८२ १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast