‘व्याकुल माइला’को नाममा रकम असुल गर्ने एक जना पक्राउ

हिमाल प्रेस २९ साउन २०८२ २०:५६
14
SHARES
‘व्याकुल माइला’को नाममा रकम असुल गर्ने एक जना पक्राउ

इटहरी- राष्ट्रिय गानका वास्तविक लेखक प्रदीपकुमार राई (व्याकुल माइला) को नाममा ठगी गर्दै हिँडेका उदयपुरका एक व्यक्ति इटहरीमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्ने चौदण्डीगढी नगरपालिका-६ का मिलन राई हुन्। उनी आफैँलाई ‘व्याकुल माइला’ दाबी गर्दै विभिन्न सरकारी कार्यालयमा किताब बिक्री र पैसा असुल गर्दै आएका थिए।

व्याकुल माइलाको नाममा  विभिन्न सरकारी कार्यालयमा किताब बेच्ने र पैसा असुल गर्ने गर्दै आएका मिलनलाई बिहीबार बिहान ११ः३० बजेतिर इटहरी उपमहानगरपालिका परिसरबाट नियन्त्रणमा लिइएको हो।

संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीका अनुसार दुई महिनादेखि खोजी भइरहेका मिलन यसअघि पनि इटहरी, धरानसहित विभिन्न ठाउँमा किताब बिक्री र भत्ता माग्दै ठगी गर्दै आएका थिए। उनी आफूलाई ‘राष्ट्रिय गानको लेखक’ भन्दै प्रधानमन्त्री र राष्ट्रपतिबाट सम्मान पाएको दाबी गर्थे।

यसअघि पनि मिलनले चौदण्डीगढी र राष्ट्रपति कार्यालयसम्म पुगेर भत्ता माग्दै उजुरी दिएका थिए। केही वर्षअघि कपीराइट कार्यालयमा समेत उनलाई चेतावनी दिएर छाडिएको थियो। वास्तविक लेखक व्याकुल माइला प्रदीपकुमार राईले यो कार्यले आफ्नो मात्र होइन, राष्ट्रकै मानमर्दन भएको बताए। उनले ठगी घटनाबाट बच्न सरकारको आधिकारिक वेबसाइटमा राष्ट्रगानका रचयिताको परिचय राख्न माग गरे। उनले भने, ‘मानमर्दन धान्न कति कुरा त्याग गरेको छु। यसरी हुर्मत लिनु समाजकै अपराध हो। मेरो अपमान हुनु सिँगो राष्ट्रको अपमान हो।’

प्रहरीका अनुसार पक्राउ परेका मिलन राईविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित: २९ साउन २०८२ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast