अशोक राई र राजेन्द्र महतोको पार्टीबीच कार्यगत एकता

हिमाल प्रेस २९ साउन २०८२ १९:४७
20
SHARES
अशोक राई र राजेन्द्र महतोको पार्टीबीच कार्यगत एकता

काठमाडौँ- जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकताउन्मुख कार्यगत एकता भएको छ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत दुई दलबीच एकताउन्मुख कार्यगत एकता घोषणा भएको हो। एकताउन्मुख कार्यगत एकता सम्बन्धी सहमतिपत्रमा जसपाका अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरे।

दुई दलबीच कार्यगत एकताको संरचना तीनै तहको हुने र केन्द्रीय तहमा केन्द्रीय संयोजन समिति रहने सहमतिपत्रमा उल्लेख छ। त्यस्तै २१ बुँदे उद्देश्य र प्रतिबद्धतामा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै बहुजातीय, बहुलराष्ट्रिय राज्यसुहाउँदो समाजवादको नेपाली बाटो तय गर्ने उल्लेख छ भने समाजवादी लोकतान्त्रिक राजनीतिक शक्तिको पहलमा समाजको रुपान्तरणको कार्य अघि बढाउने उल्लेख गरिएको छ।

कार्यगत एकता घोषणासँगै अब संघीयता, सुशासन, लोकतन्त्र, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको राज्य व्यवस्था स्थापना गर्न सरकार, संसद् र सडक तीनवटै क्षेत्रमा क्रियाशील हुने राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए। उनले जनताले भरोसा गरेका दलहरूले देश बनाउन नसकेकाले यसको जिम्मा पनि उनीहरूले नै लिनुपर्ने बताए।

अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र र निरंकुशतन्त्र हावी भएको उनले बताए। महतोले देशका दुई दल मिलेर शासन चलाउने कामले लोकतन्त्रको रक्षा हुन नसकेको जिकिर गरे।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले ठूला भन्ने दलहरूले नागरिकको पहिचान मास्ने काम गरेकाले पहिचानको रक्षा गर्दै थप उपलब्धि हासिल गर्नेबाटो तर्फ अघि बढ्न सहकार्य गरिएको जानकारी दिए। उनले विभाजन भएका पहिचानवादीहरू एकै ठाउँमा आएर आफ्ना माग मुद्दाहरूलाई स्थापित गर्नुपर्ने बेला आएको धारणा राखे।

सहमति पत्रमा दुई दलले न्यूनतम आचारसंहिता पालना गर्न ६ बुँदे आचारसंहिता समेत जारी गरेका छन्। जसमा दुई दलबिचको केन्द्रीय संयोजन समितिले पारित गरी जारी गरेका निर्देशनहरू तथा प्रदेश र जिल्ला संयोजन समितिहरूले गरेका निर्णय दुवै दलले पालना गर्नुपर्ने उल्लेख गरिएको छ। कार्यगत एकताको नीति, कार्यक्रम र उद्देश्यविपरीत हुने गरी आफ्नो गतिविधि नगर्ने तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न दुवै दल स्वतन्त्र हुने आचारसंहितामा उल्लेख छ।

प्रकाशित: २९ साउन २०८२ १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast