
काठमाडौँ- वैदेशिक सहायता समीक्षापछि नयाँ ऊर्जा र प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए-नेपाल) ले आज दुई प्रमुख विद्युत् प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ। प्रसारण लाइन निर्माणको संयुक्त लागत १५ करोड ४५ लाख अमेरिकी डलर छ।
प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे-नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक-स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली-नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा-सलासर संयुक्त उपक्रमसँग भएको हो। सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन गरिनेछ।
हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, अमेरिकी दूतावास, एमसीसीका कार्यवाहक उपाध्यक्ष, आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरू र सरोकारवालाहरूको उपस्थिति थियो।
एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयता सुधार गर्न तथा क्षेत्रीय विद्युत् व्यापार अभिवृद्धि गर्न सहकार्य गर्न पाउँदा गर्व लागेको बताए। नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मीक्सले यस सम्झौताले नेपाल-अमेरिका सहकार्यलाई मजबुत बनाउने र नेपालको दीर्घकालीन विकासलाई गति दिने बताए।
अर्थ मन्त्रालयका सचिव तथा एमसिए नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले अमेरिकी सहयोगको सराहना गर्दै सरकारी सहयोग निरन्तर रहने बताए। एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले यसलाई राष्ट्रिय गौरव आयोजना भन्दै दिगो सहकार्यमा केन्द्रित हुने प्रतिबद्धता जनाए।
एमसीसी नेपाल कम्प्याक्ट ६९ करोड ७० लाख अमेरिकी डलरको लगानी हो। यसबाट विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन हुँदैछ।